arrow

यसरी भएको थियो गैह्रीगाउँमा चार जनाको हत्या

हत्या प्रकरण सामान्य निहुँमा भएको प्रहरीको निष्कर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
killed-in-tinkune-2080-05-30 (15).jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य समिलमा भएको चार जनाको हत्या प्रकरणमा सामान्य निहुँमा भएको प्रहरीले निष्कर्ष निकालेको छ । 

प्रहरीद्वारा गठित छानबिन समितिका अनुसार एकै परिवारका तीनसहित चार जनाका विभत्स हत्या प्रकरण रिसिइबी र प्रतिशोधले भएको पाइएको हो । विगतमा मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा उत्पन्न विवादको रिसिइबी साँध्दा उक्त घटना भएको उक्त छानबिन समितिका संयोजक काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षका सञ्जय भण्डारी एक्लैले हत्या गरेको समितिको निष्कर्ष छ । उनले सुरुमा एक जना मोरङका विशाल राईको हत्या गरेका र उक्त घटना देखेपछि घटना बाहिर जाने डरले अरुको पनि हत्या गरेको स्वीकार गरेका राठौरले बताए । 

विगतमा हाल हत्या गरिएका विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिँदा विवाद हुन गई राईले प्रतिवादी भण्डारीलाई कुटपिट गरेकामा सोही रिसइबी÷प्रतिशोधका कारण हत्या गरेको पाइएको पनि उनले बताए । 

उनको साथबाट घटनाको दिन बोकेको झोला र सोही झोलामा रहेको खुकुरी बरामद गरिएको छ । उनलाई पक्राउ गर्दा घटना घटाउँदा लगाएको कपडा नै लगाएको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ । 

भण्डारीले गत भदौ २९ गते नै विशाल राईलाई सिध्याइदिन्छु भन्दै आफू बस्ने गरेको दिदीको कोठाबाट उक्त खुकुरी झोलामा हाली पछाडिपट्टिको बन्द गेटबाट माथि चढेर समिलमा प्रवेश गरेका थिए । त्यसपछि राई बस्ने कोठामा गई हेर्दा नदेखेपछि कोठाको सोफामा बसे । केही समयपछि विशाल राई आएर विवाद भई कुटपिट गरेपछि भण्डारीले खुकुरीले हानेर हत्या गरेको बयान दिएका प्रहरीले जनाएको छ ।

उक्त घटना हुँदा सुभद्रा भुजेलले देखेपछि कराएको थाहा पाएर उनले घटना बाहिर ल्याउने डरले भण्डारीले सुभद्राको पनि हत्या गरेको र सोही समयमा पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखेपछि उनलाई र त्यही बेलै आइपुगेकी उनकी श्रीमती अम्बिकाको पनि हत्या गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार जन्मजात बोल्न नसक्ने भण्डारी सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षासम्म अध्ययन गरी १२ कक्षासम्म काठमाडौँमा अध्ययन गरेको खुल्न आएको छ । सो घटना अनुसन्धान सम्बन्धमा साङ्केतिक भाषाविज्ञ झिकाई थप सोधपुछ गरिएको सोही क्रममा निजले आफूले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि सोही घरमा रहेका दीपन्द्र राईले देखेपछि उनी प्रहरीलाई खबर गर्न जाने क्रममा ट्याक्सी चढ्न लाग्दा प्रहरी घटनास्थलमा पुगेको थियो । रगत लत्पतिएको देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानमा उनी निर्दाेष देखिएको राठौरले बताए ।
 
भदौ २९ गते राति ११ः५५ बजेको समयमा उक्त घटना भएको थियो । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँस्थित दिव्य समिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो । उक्त हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले राठौरकै नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो । सोही समितिले घटनाको सफल अनुसन्धान गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ