arrow

एकताको घनचक्करमा समाजवादी मोर्चाः विचार फरक स्वार्थ एक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
samajbadi-morcha-2080-03-04-b.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । समाजवादी मोर्चा बनाएर सरकारमा बलियो उपस्थिति देखाउन खोजेको सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि विशेष पहल गरिरहेको छ । 

समाजवादी मोर्चामा माओवादीभन्दा विपरीत धारमा पार्टी रहेका भए पनि उनीहरुले पार्टीको नाम फेरेमा एकता हुन सक्ने संकेत दिएपछि पार्टीको तर्फबाट नाम फेरेर भए पनि एकतामा जान सकिने आभाष दिएको हो ।

केही दिनअघि माओवादी केन्द्रको तर्फबाट जारी गरेको अन्तरपार्टी निर्देशनमा पार्टी एकताका लागि हदैसम्म लचक हुने उल्लेख गरेबाट कुनै न कुनै पार्टीसँग एकताको प्रयास भैरहेको छ भन्ने संकेत आएको छ ।  तर कुन पार्टीसँग एकता गर्दै छ ? भन्ने कतै खुलाइएको छैन । 

माओवादीले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी  (जसपा), विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) लगायतसँग समाजवादी मोर्चा बनाएर सहकार्य गरिरहेको छ । 

देशव्यापी रुपमा सभा गर्ने र संगठन पनि त्यही अनुसार बनाउँदै जान थालेको छ । साथै एकताका लागि पहलकदमी गर्दै आएको छ ।  तर पछिल्लो समय यी सबै पार्टीसँग एकताको सन्दर्भमा एकता गर्नेभन्दा पनि सम्बन्ध बिग्रदै गएको छ । 

नेकपा एसमा अधिकांश नेताहरुले माओवादी नामको जनयुद्धलाई काँधमा बोकेर हिँड्न नसक्ने बताएपछि माधव नेपाल पछि हटेका थिए । बाबुराम भट्टराईले यसअघि नै पार्टीको नाम फेरे मात्रै एकता संभव रहेको बताएर हिँडेका थिए । 

विप्लवले महासचिवको अपेक्षा गरेका थिए । जसपाले कम्युनिष्ट चरित्र र स्वभावबाट बाहिर आउन आग्रह गरेको थियो । जसले गर्दा यी सबै संभावनाहरु तत्कालका लागि बन्द भएका थिए । 

कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति बनाएर एकताका लागि भएका प्रयासहरूबाट सकारात्मक परिणाम निकाल्न नसकेपछि तत्काललाई रोकिएको थियो । 

तर भदौ २५ गते बसेको केन्द्रीय कार्यालयको बैठकले विचार मिल्ने पार्टीहरूसँग एकताका लागि पार्टीको नाम फेर्न तयार रहेको निर्णय गर्दै तल्लो समितिसम्म सर्कुलर गरेको छ । 

गत साउन १७–२१ मा केन्द्रीय समिति बैठक सम्पन्न गरेको माओवादीले केन्द्रीय समिति बैठकमा पार्टी एकता र नाम परिवर्तनबारे ठोस छलफल र निर्णय गरेको थिएन । 

तर केन्द्रीय समितिको बैठक लगत्तै बसेको बैठकले पार्टीको नाम नै परिवर्तन गर्न तयार रहेको निर्णय गर्नुले माओवादी तत्कालै कुनै पार्टीसँग एकता गर्न तयार रहेको बुझिएको छ ।

केन्द्रीय कार्यालयको बैठकपछि जारी सर्कुलरमा पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेका छन् । उक्त सर्कुलरमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्र हटाउन सकिने उल्लेख छ ।

 ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ,’सो सर्कुलरमा भनिएको छ । 

पार्टीको नाम परिवर्तन गर्न तयार रहेको निर्णय गरेको माओवादीले यस विषयलाई विशेष महाधिवेशनबाट टुङ्गो लगाउन सकिने भनेको छ । माओवादीले यसअघि नेकपा एकीकृत समाजवादीसँग एकताका लागि नाम परिवर्तन गर्न तयार रहेको बताएको थियो । 

त्यसपछि नेपाल समाजवादी पार्टी र नेकपासँग एकताका लागि नामको सन्दर्भमा लचक रहेको बताउँदै आएको थियो । 

लचकताका साथ पार्टी एकताका लागि तयार हुँदै आएको माओवादीले यस बिचमा कुनै पार्टीसँग पनि एकता गर्न सकेको छैन । नेकपा एसले भने जसपासँग पार्टी एकताको प्रस्ताव गरेको थियो । तर यो पनि असफल भैसकेको छ । एसका धेरैजसो नेता कार्यकर्ताहरु अहिले एमालेमै फिर्ता हुन थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ