arrow

घर पुग्ने बेलामा गाडी ठक्करबाट महराको मृत्यु, आफन्त उत्रिए राजमार्गमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
nepal-police12.jpg

बैतडी । गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । 

बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

बाजुराबाट बझाङ जाने गाडीमा घर आएका महरा खोड्पे बजारमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बताइएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन । 

यसैबीच महरालाई ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले अहिले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । 

महरालाई ठक्करदिने सवारीको पहिचान गर्ने कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 



नयाँ