arrow

सुन तस्करी प्रकरण

सुन तस्करीमा आयोग गठनसँगै खुल्यो माओवादी केन्द्रका नेताहरूमाथि छानबिन गर्न बाटो 

महरा बाबुछोराको  सुन तस्करी बिचौलियासँग साठगाँठ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
gold-galdai- (8).jpg

काठमाडौं । सरकारले उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग बनाएपछि सुन तस्करीमा जोडिएका नेकपा माओवादी केन्द्रका नेताहरूमाथि छानबिन गर्न बाटो खुलेको छ । विद्युतीय चुरोट (भेप) मा लुकाएर नेपाल ल्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्व सभामुख एवं सत्तारूढ दल माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा तथा ६० किलो सुन तस्करी बिचौलियासँग जोडिएका नेताहरूमाथि अनुसन्धान गर्ने बाटो खुलेको हो । 

उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा आयोग गठन गरेसँगै राजनीतिक वृत्तमा पनि अनुसन्धान हुने बताइएको छ । आयोगको अन्य सदस्यमा अर्थ मन्त्रालयका किशोर जङ्ग कार्की, गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेका छन् । संयोजक बनाइएका आचार्य उच्च अदालतका पूर्व न्यायाधीश हुन् । उनी मुख्य न्यायाधीशको वरियतामा रहेर पनि बढुवा नभई अवकाश भएका थिए ।

उच्च अदालतका पूर्व न्यायाधीश आचार्य सत्तारुढ माओवादी केन्द्र निकट मानिन्छन् । माओवादी नेताहरूकै सिफारिसमा उनलाई संयोजक बनाइएको हो । उनीहरूलाई तीन महिनाको कार्यादेश दिइएको छ । ‘विदेशबाट इलेक्ट्रिक सिगरेट (भेप) मा सुन राखी तस्करी गरिएको र साउन २ गते ब्रेक–सुमा राखेर तस्करी गरिएको सुनलगायत पटक पटक तस्करीको विषयलाई सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धानसमेतको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र सो कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप छानबिन अनुसन्धान गरी कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्ने’, प्रमुख कार्यादेश तोकिएको छ । 

जसले गर्दा यो आयोगलाई राजनीतिक व्यक्तिमाथि पनि अनुसन्धान गर्ने दायित्व बढेको हो ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई राहुलाई काठमाडौँबाट पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ ।  यही प्रकरणमा पूर्व सभामुख महरासमेतलाई अनुसन्धानको दायरामा ल्याइने सीआईबीले जनाए पनि उनलाई निगरानीमा मात्रै राखेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ। चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलिसकेको छ।

बाबुछोराविरुद्ध सङ्गठित अपराध कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर, स्वास्थ्य अवस्थाको कारण देखाई बाबु महरालाई भने प्रहरीले नियन्त्रणमा नलिई निगरानीमा मात्रै राखेको छ।  महराले अर्का छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क गरेको सीआईबीले जनाएको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए। त्यही बेला महराका अर्का छोरा राहुलसँग २८ पटक सम्पर्क भएको देखिन्छ। राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ। अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए।

 राहुलले नै फरार अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक सम्पर्क गरेको देखिन्छ। यो सञ्जालसँग पटक–पटक सम्पर्क भए पनि महरा बाबुछोरालाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले निकै ढिलाइ गरेको थियो। उनीहरूले दुबईबाट गत पुस १० मा सुन लुकाएर ल्याएको भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि त्यसलाई छुटाउने प्रयास गरेका थिए। सुरुमा भेपमा सुन छ भन्ने भन्सारका कर्मचारीले पत्तै पाएका थिएनन्।

 चिनियाँ नागरिक दाओजिन वाङले भेप छुटाउन महरा र उनका छोरा राहुलमार्फत भन्सारका कर्मचारीलाई दबाब दिएका थिए। बाबुछोराले त्यस क्रममा भन्सारका कर्मचारीलाई फोन र भेटेर दबाब दिए। तर, जफत सामान लिलामी प्रक्रियामा जाने भन्दै कर्मचारीले कुरा नसुनेपछि सामान गोदाममै रोकिए। सामान लिलामी प्रक्रियामा लैजान प्रक्रिया अघि बढाउनु अगावै भेप गोदामबाट चोरी भएपछि मात्रै त्यसभित्र ९ किलो सुन रहेको खुलेको थियो। भन्सारले सामान चोरी भएको विषयमा अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियो।

सुन ल्याउने गिरोह त्यसबीच फरार भइसकेको थियो भने सामान बुझ्न गएका अर्का चिनियाँ नागरिक वाङ पनि भागिसकेका थिए। सुन चोरी भएको विषयमा अनुसन्धान गरी सीआईबीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा असार २७ मा पेस गरेको थियो। त्यसपछि जिल्ला अदालत काठमाडौँमा सङ्गठित रूपमा समूह खडा गरी सुन चोरिएको कसुरमा मुद्दा दायर भयो।

तर, महरा बाबुछोरामाथि अनुसन्धान नै भएको थिएन। मुद्दा चोरीमा मात्रै गएको र सुन ल्याउने समूहमाथि अनुसन्धान भइरहेको जिकिर सीआईबीले गरिरहेको थियो। थप अनुसन्धान र प्रमाणले तस्करीमा महरा बाबुछोरा जोडिएको भेटिएपछि बुधबार राहुल पक्राउ परेका हुन् ।

करिब ८ महिनाअघिको भेप प्रकरणमा सत्तारूढ माओवादीका उपाध्यक्ष महरालाई जोगाउन स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल नै लागिपरेको भन्दै विपक्षी राजनीतिक दलदेखि जनस्तरबाटै विरोध भइरहेको थियो। सीआईबीले भने गोदाममा राखिएका भेप चोरीमा मात्रै मुद्दा चलेको र सुन ल्याउने समूहमाथि अनुसन्धान भइरहेको बताएको थियो। 

पछिल्लो पटक ६० किलो सुन तस्करीमा जोडिएका दावा छिरिङको सम्पर्क पूर्व उपराष्ट्रपति नन्दबहादुरपुन र उनको परिवारसँग देखिए पनि प्रहरीले दिपेश पुनलाई बयानका लागि बोलाएर त्यतिकै छाडेको थियो । साथै दावा छिरिङसँग सम्पर्कमा रहेका माओवादीका अन्य नेताहरूको बारेमा पनि प्रहरी मौन रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ