arrow

वर्षौँ देखिको तिर्खा मेटाए रुगावासीले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
rugal-gau.jpg

मुगु । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं १३ स्थित रुगागाउँमा एक घर एक धारा निर्माण कार्य सम्पन्न भएको छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगले उक्त गाउँमा एक घर एक धारा निर्माण गरिएका हो ।

अधिकांश दलित समुदायको बाहुल्यता भएको रुगा गाउँमा १ सय ५८ वटा खानेपानीको धाराहरू बनेका छन् । भिरालो र सुख्खा जमिन भएको गाउँ नजिक कुनै पानीका मुहान नभए पछि गाउँलेहरू वर्षौँदेखि गाउँमुनि करिब आधा घण्टा हिँडेर मुगु कर्णाली नदीको धमिलो र फोहोर पानी पिउँदै आएका थिए । 

हाल गाउँभरी घरघरमा नै शुद्ध खानेपानी उपलब्ध भएपछि स्थानीयवासी लाई धेरै सहज भएको छ । स्थानीय अगुवा बलबहादुर थापाले भने गाउँमा खानेपानी आए देखि आफूहरूलाई धेरै सहज भएको छ । पानी नभएका कारण गाउँमा विभिन्न किसिमका तरकारी खेती गर्न पाएका थिएनौँ अव सजिलो भयो । उनले भने गाउँमा खानेपानी योजना नबनेका होईनन तर सम्पन्न हुने पानी नआउने भए आए पनि प्यास नमेटिँदै सुके,गाउँलेहरूले कहिल्यै धित मरुन्जेल पानीको प्रयोग गर्न पाएनन् ।

हामीहरूलाई लुगा धुन, भाँडा सफा सुग्घर गर्न, नुहाउन र बालबच्चालाई सफा सुग्घर गर्न पानी बढी नै चाहिने भएकाले पानी बोक्न सारै समस्या हुने गरेको थियो अव धेरै सजिलो भयो गाउँकै स्थानीय महिला हरिकन्या नेपालीले भनिन् । 

पानी नभएका कारण मनमा इच्छा, जोस र जाँगर हुँदा पनि विगतमा कागती सुन्तला, केरा, लगायत अन्य फलफूल खेती गर्नबाट वञ्चित हुँदै आएको भए पनि अव गाउँमा खानेपानी आएपछि व्यावसायिक फलफूल तथा तरकारी खेतीमा लाग्ने गाउँका धेरै जना युवाहरूले योजना बनाएका छन् । 

करिब १६ किलो मिटर टाढाबाटको मुहानबाट ल्याइएको खानेपानीको कुल लागत ३८ लाख ३४ हजार ४६ रुपियाँ ४१ पैसा रहेको बताइएको छ । अति न्यून आयस्रोत भएको दलित समुदाय भएको बाहुल्यता रहेको उक्त रुगागाउँमा बनेको एक घर एक धारा अभियानले ब्यबसायिक फलफूल तथा तरकारी खेतीबाट आयआर्जनमा टेवा मिल्ने सम्भावना रहेको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भामले बताए ।

नगरपालिकाले २०३० सम्म आफ्ना १४ वडा भित्रका ८७ बस्तीहरूमा एक घर एक धारा पुर्‍याई नगरवासीहरूलाई स्वच्छ खानेपानी,स्वच्छ वातावरण र सरसफाइको पहुँचमा पुर्‍याउने लक्ष रहेको नगर उपप्रमुख ऐश्वर्या मल्लले बताइन् ।

गाउँमा सम्पन्न भएको खानेपानीको अनुगमन तथा उद्घाटन गर्न सोमवार जिल्ला समन्वय प्रमुख मन्जनबहादुर कार्की,नगर प्रमुख विष्णु कुमार भाम, नगर उपप्रमुख ऐश्वर्य मल्ल, निमित्त प्रमुख जिल्ला अधिकारी रवीन्द्र ओखेडा, पत्रकार महासङ्घका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल,नागरिक समाजका अध्यक्ष रूप बहादुर मल्ल निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाही लगायत सञ्चारकर्मी सहितको टोलीले रुगा गाउँमा पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ