arrow

इजरेलमा रहेका नेपालीको विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
parliament-2080-06-21.jpg

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले चाडबाडको समयमा भएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका विषय सम्बोधन गर्नका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । 

उपभोक्ता बजार अनुगमन, सवारी टिकटको सहज व्यवस्थापन, दैनिक उपभोग्य वस्तुको पर्याप्त आपूर्ति, शान्ति सुरक्षा कायम गर्नेलगायतका विषयमा सांसदहरुले बोलेका हुन् । 

त्यस्तै, प्यालेस्टाइनको लडाकू समूह हमासले इजरेलमा गरेको आक्रमणमा परेका नेपालीको उद्धार र स्वास्थ्योउपचारमा पनि गम्भीर हुन उनीहरुले सरकारको ध्यानाकर्षण गराए । सांसद बिजुला रायमाझीले आम उपभोक्ताले चर्को महँगी, कालोबजारी र गुणस्तरहीन वस्तुको समस्या भोग्नु परेको, यातायात सुविधा सहज हुन नसकेको, सडक छेउका होटलमा अखाद्य सामग्री बिक्री वितरण भइरहेको विषय उठाइन् । 
 
सांसद बिनिता कुमारी सिंहले खाद्यजन्य वस्तुमा प्रयोग हुने हानिकारक विषादी भइरहेको विषय उठाइन् । फलफूल, तरकारीमा र खाद्य सामग्रीमा विषादी परीक्षण बढाउनुपर्ने उनको भनाइ छ  । 

सांसद शान्ति विकले चरम मूल्यवृद्धि जनताले धान्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । आर्थिक मन्दिका कारण बजार माग घटेको तर मूल्यवृद्धि भएको उहाँको भनाइ छ । त्यस्तै, अहिले किसानले दूधको मूल्य नपाएको पनि उहाँले संसद्मा उठाउनुभयो ।

सांसद शान्ति श्रेष्ठले दसैँ, तिहारलगायत चाडबाड मान्न घर जानका लागि महँगो सवारी टिकट काट्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने माग गरिन् । त्यस्तै, धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही र सडकको अवस्था सुधार गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।

सांसद सीता मिजारले बजारमा कृत्रिम अभाव, कालोबजारी, एकाधिकार, सवारी टिकट अभावको समस्यालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराइन् । सांसद बिना लामाले देशका दुर्गम स्थानमा खाद्य आपूर्ति सहज बनाउन संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराइन् ।
 
सांसद सूर्यमान तामाङ दोङले चाडपर्वका बेला नागरिक झन् सास्तीमा परेको बताए । ठेकेदारको कमजोरीले देशका विभिन्न स्थानमा सडक अलपत्र परको र निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी पाउन नसकेको विषय पनि उनले संसद्मा उठाए । 

सांसद शिशिर खनालले इजरेलमा भएको आक्रमण र त्यहाँ रहेको नेपालीको अवस्थाको विषय उठाउँदै तत्काल अवस्थाको यकिन जानकारी लिनुपर्ने र उद्धार थाल्नुपर्ने बताए । सांसद हितराज पाण्डेलले पनि इजरेलमा भइरहेको युद्धमा परी घाइते भएका नेपालीको उद्धारमा राज्यले गम्भीरता देखाउनुपर्ने बताए ।

 सांसद ज्ञानबहादुर शाहीले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्नका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताए । सांसद ज्ञानु बस्नेत सुवेदीले पनि इजरेलमा रहेका नेपालीको उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद बिना जैसवालले मिटरब्याज पीडितको समस्या अझै समाधान नभएको विषय संसद्मा उठाए । सरकारले मिटरब्याज पीडितका समस्या समाधान सम्बन्धमा अध्यादेश ल्याएको भए पनि त्यो पीडितका पक्षमा देखिन नसकेको उनको भनाइ छ । 

सांसद शेरबहादुर कुँवरले गत मङ्गलबार बझाङ केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टरस्केलको भूकम्पबाट पीडित परिवारलाई राहत तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गरे । 
     
सांसद शोभा ज्ञवालीले संसद्को प्रभावकारिता देखिन नसकेको बताइन् । संसद्मा सांसदले प्रश्न गर्ने र मन्त्रीले जवाफ दिने तर संसद्मा उठेका विषयको प्रभावकारिता देखिन नसकेको उनको भनाइ छ । त्यस्तै, सदनमा पटक–पटक एउटै विषय दोहोर्याउनु परेको अवस्था रहेको ज्ञवालीले उल्लेख गरिन् ।
 
सांसद सराज अहमत फारुकीले नेपालको जनशक्ति विदेशिने क्रम बढेको बताउँदै स्वदेशमै रोजगारीको सिर्जना गर्न सरकारको ध्यानाकर्षण गरे । त्यस्तै, पछिल्लो समय विभिन्न धार्मिक हिंसा बढेको विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । 

सांसद शङ्कर भण्डारीले आर्थिक सुशासनको विषय उठाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी पर्ने गरेका कारण विकासको प्रक्रिया अस्तव्यस्त हुन पुगेको बताए । 

जुनसुकै विषयमा बिना तथ्य बेनामे उजुरी पर्दा समस्या देखिएको उनको भनाइ छ । सांसद सरिता भुसालले मदरसा शिक्षालाई राज्यको मूलधारमा ल्याउनुपर्ने बताइन् । सरकारले तोकेको धानको समर्थन मूल्य किसानले नपाएको विषय उठाउँदै सांसद शान्ति चौधरीले सरकारले नै तत्काल किसानको धान खरिद गर्नुपर्ने बताइन् ।
   
सांसद सुनिता बरालले नेपालमा आउने पर्यटकमध्ये धेरैजसो पोखरा घुम्न आउने गरेको र त्यहाँ जानका लागि सहज यातायात सुविधा नरहेको विषय उठाइन् । त्यस्तै, हवाई टिकटको मूल्य बढेको विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सूर्यकुमारी श्रेष्ठले नेपालको जनशक्ति विदेशिनुमा कृषि क्षेत्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको बताइन् । बङ्गलादेशले कृषि क्रान्तिमार्फत् आर्थिक समृद्धि हासिल गरिरहेको उल्लेख गर्दै उनले नेपालले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर युवाशक्ति विदेश जानबाट रोक्नुपर्ने बताइन् ।
   
सांसद सोनु मुर्मूले इञ्जिनियरिङ अध्ययन संस्थानले शूल्क बढाएको विषय संसद्मा उठाइनु् । सांसद हरि ढकालले भूमिहीन र सुकुम्बासीका समस्याका विषय संसद्मा उठाए । अहिले भ्रष्टाचार र घुसखोरीका घटना स्थानीय तहमा बढी देखिरहेको बताउँदै सांसद हेमराज राईले नागरिकले सुविधा पाउन सकस हुने गरेको उल्लेख गरे । 
     
सांसद हृदयराम थानीले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार आवश्यक रहेको विषय संसद्मा उठाए । सांसद विद्या भट्टराईले वीर अस्पतालका दुई सय ३० जना डाक्टरलाई हटाउने निर्णय फिर्ता लिन संसद्मार्फत् सरकारको ध्यानाकर्षण गरिन् । 

कोभिड १९ महामारीका समयमा नियुक्त गरिएका ५० जना डाक्टर, एक सय ६२ नर्स, ११ प्रयोगशाला प्राविधिक र सात जना रेडियोलोजिस्टलाई असोज २१ गतेबाट काममा नआउनु भनेर निर्देशन दिएको विषय उनले उठाइन् । आर्थिक अवस्थालाई देखाएर वीर अस्पतालको स्वास्थ्य सेवा नै खल्बलिने गरी सरकारले यस्तो निर्णय लिन नहुने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ