arrow

इजरेल–हमास युद्धबारे निर्णय

मन्त्रिपरिषदको विशेष बैठक बस्दै, लगत्तै सर्वदलीय बैठक आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
pm-office-singha-durbar-ktm-2078.jpg
तस्बिर – फाइल ।

काठमाडौँ। इजरेलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन् । 

सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरेलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ ।

मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्रीले साँझ ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाएका छन् । सो बैठकमा पनि इजरेलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ ।

नेपाली समयअनुसार शनिबार बिहान इजरेलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल भैरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीले इजरेल–हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्दार र नेपाल फिर्तीका लागि कुटनीतिक पहल गरिहरेको पनि सचिवालयले जारी नोटमा जनाइएको छ । 

सो सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले असोज २० गते घटनाको भर्त्सना गर्दै नेपाली नागरिकका परिवारमा सहानुभूति प्रकट गरेका थिए । प्रधानमन्त्रीले इजरेलस्थित नेपाली दूतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्दारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिएका थिए ।  

इजरेल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे यकिन गर्न र उनीहरूको उद्दार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधान तथा रक्षा मन्त्री, उपप्रधान तथा गृह मन्त्री, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए । 

सो बैठकले परराष्ट्रमन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षालगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अङ्गका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सहभागी एक र्‍यापिड एक्सन टिम गठन गरेको थियो । 

उक्त टीमको बैठकले उद्दार र नेपाली फिर्तीसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको छ। सरकारले इजरेललबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ।

युद्धबाट इजरेलमा मात्रै ११ सय बढीको मृत्यु भइसकेको छ । जसमा १० नेपाली विद्यार्थीहरु पनि मारिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ