arrow

विजयादशमीमा खुशीयाली 

पलेशाले दिलाइन् एसियाली पारा खेलकुदमा ऐतिहासिक पदक

भन्छिन् –‘विजयादशमीको दिन पदक जित्दा एकदमै खुशी छु, मैले पाएको पदक राष्ट्रका लागि समर्पण गर्न चाहन्छु’

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ७ मंगलबार
palesha-goverdhan-2023.jpg

काठमाडौँ । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई मंगलबार ऐतिहासिक पदक दिलाएकी छिन् । चीनको हाङझावमा जारी एसियाली पारा खेलकुदमा पलेशाले तेक्वान्दोको महिला के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौल समूहमा कास्य पदक जित्दै इतिहास रचेकी हुन् । 

दशैँको मुख्य दिन विजयीदशमीमा पलेशाले एसियाली पारा खेलकुदमा जितेको कास्य पदक उनको मात्र नभइ नेपालकै लागि पनि अहिलेसम्म पहिलो र एकमात्र पदक हो ।

नेपालले एसियाली पारा खेलकुदमा शुरूको संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करण चीनको ग्वाङझावमा सन् २०१० मा भएको थियो । तेक्वान्दो भने यसै (चौथो) संस्करणदेखि मात्र समावेश गरिएको हो ।

चीनको हाङझावस्थित एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको क्वाटरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई १४–१ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । 

सेमिफाइनलमा भने पलेशा काजखस्तानकी कामिल्या दास्मोलोभासँग १६–१० ले चुकिन् । सेमिफाइनलमा पराजित भए पनि पलेशाले रिपेचेज चरणमा खेल्न पाउने अवसर थियो । रिपेचेज चरणको पहिलो कास्य पदक भिडन्तमा पलेशाले बाइ पाएपछि कास्य पदक निश्चित भएको पलेशाका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

पलेशाको स्पर्धामा नेपालसहित चीन, काजखस्तान र इरान गरी ४ राष्ट्रका ५ खेलाडी सहभागी थिए । 

रिपेचेज चरणको दोश्रो कास्य पदक भिडन्त चीनका लिटिङ र युजी लस्बीच भएको थियो । त्यसमा युजी लिले ८–१ अंकले बाजी मारिन् । युजी ली तिनै खेलाडी हुन् जसले टोकियो पारा ओलम्पिक– २०२२ को कास्य पदक भिडन्तमा पलेशालाई पराजित गरेकी थिइन् । 

फाइनलमा इरानकी रोजा इब्राहिमीले काजाखस्तानकी कमिल्यालाई ३४–१५ ले पाखा लगाउदै स्वर्ण चुमिन् । 

केही महिनाअघि मात्र पलेशा अध्ययनका लागि चीनको सांघाइ गएकी थिइन् । उनी त्यतैबाट एसियाली पारा खेलकुदमा सहभागी हुन हाङझाव पुगेकी हुन् । 

पलेशाले सन् २०२१ म बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनशिपकी कास्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् । 

त्यसबेला पलेशाले रिपेचेजमा अमेरिकाकी ब्रिएना सलिनारोलाई १०–० तथा सर्बियाकी मारिजा मिसेभलाई २३–१५ ले हराउँदै चीनकी युजी लिसंग कास्य पदक भिडन्त पक्का गरेकी थिइन् । 

कास्य पदक भिडन्तमा पलेशा १२–९ ले चुकेपछि पाँचौँ भएकी थिइन् । पलेशाले सन् २०१८ मा काठमाडौं भएको दोश्रो काठमाडौं क्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

जावलाखेलस्थित डिएभी स्कुलमा अध्ययनरत रहँदा नै १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । 

राष्ट्रिय टिममा आबद्ध भएपछि पलेशाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेश्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिप हो । त्यसमा उनी पाँचौँ भएकी थिइन् ।

काठमाडौँ महानगरपालिका वडा २८, बागबजार निवासी पलेशाले २०१७ मा लण्डनमा भएको विश्व पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् । 

सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ भएकी पलेशाले साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।
  

स्कुलमा अध्ययन गरेका बेला विभिन्न ९ अवार्ड जितेकी पलेशाले तेक्वान्दोमा हासिल गरेको उपलब्धिका लागि विभिन्न संस्थाबाट विभिन्न समयमा १६ अवार्ड हात पारेकी छिन् ।

  पदक विजेता पलेशाले पदक जितेकोमा खुशी लागेपनि अझै धेरै राम्रो गर्न सकिन्थ्यो भन्ने प्रतिक्रिया दिदै ऐतिहासिक दिनमा जितेको ऐतिहासिक पदक राष्ट्रका लागि समर्पण गर्न चाहेको बताइन् ।

‘पदक जितेकोमा खुशी छु । तर, यो भन्दा अझै धेरै गर्न सक्थेँ । स्वर्ण नै जित्छु जस्तो लागेको थियो । मैले बेस्ट इफोर्ट पनि दिएकी हुँ । यहाँ (सांघाई) मा पनि आएको धेरै भाको छैन । नयाँ ठाउँ भएकाले ट्रेनिङमा पनि अलि सजिलो भएन । स्पाइरिङ पार्टनर पनि पाउन गाह्रो भयो ।’ 

दुई महिनाअघि मात्र सांघाइ आएकी पलेशाले भनिन्– ‘खेल हो । कहिलेकाहिँ यस्तै हुन्छ । ऐतिहासिक विजयादशमीको दिन पदक जित्दा एकदमै खुशी छु । मैले पाएको पदक राष्ट्रका लागि समर्पण गर्न चाहन्छु ।’
    
टिम प्रशिक्षक लामाले सँगै तयारी प्रशिक्षण गराउन पाएको भए पलेशाले अझ राम्रो गर्न सक्ने बताए ।
    
‘सँगै तयारी प्रशिक्षण गराउन पाएको भए अझ राम्रो नतिजा आउथ्यो होला । म पनि अलि अगाडि आएर पलेशालाई सांघाइ मै प्रशिक्षण दिन पाएको भए यो भन्दा राम्रो हुन्थ्यो कि भन्ने हो । अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक लामाले भने– ‘पलेशा पदकको आशा गरिएकी खेलाडी पनि हुन् । आफ्नो चेलीले राष्ट्रलाई ऐतिहासिक पदक दिलाएकोमा ज्यादै खुशी छु । अब सम्बन्धित निकायले पेरिस पारालिम्पिकको तयारीका लागि समयमा नै ध्यान दिनु पर्छ । त्यसो हुने हो भने पारा ओलम्पिकमा पनि पदक टाढाको विषय हो जस्तो लाग्दैन ।’

नेपाली पारा तेक्वान्दोमा सफल प्रशिक्षक मानिने लामा एक्लैले नै सन् २०१८ देखि पलेशालाई प्रशिक्षण दिइरहेका छन् ।

    एसियाली पारा खेलकुदमा नेपालबाट विभिन्न १० खेलमा १९ खेलाडी सहभागी छन् । तेक्वान्दोबाट सहभागी पलेशा एक्ली खेलाडी हुन् । अक्टोबर ८ तारिख हाङझावमै सम्पन्न १९ औँ एसियाली खेलकुदमा नेपालले ऐतिहासिक १ रजत र १ कास्य पदक जितेको थियो । 

एसियाड इतिहासमै पहिलो पटक नेपालका लागि एरिका गुरुङले करातेमा रजत तथा महिला कबड्डी टिमले कास्य पदक जितेको थियो ।

जुडोः
    जुडोमा नेपालबाट एक्लो सहभागी खेलाडी मनोज भट्टको पराजसँगै नेपालको चुनौती समाप्त भएको छ । 

एक्सएसएल जिम्न्याजिममा भएको मनोज पुरुष ७३ केजीमुनि जे वानको राउन्ड अफ १६ र रिपेचेजमा पराजित भएसंगै नेपालको चुनौती समाप्त भएको हो ।

एक्सएल जिम्न्याजियममा भएको राउन्ड अफ १६ मा इन्डोनेसियाका अहनाफ रफ्लीले मनोजलाई पराजित गरे । 

रिपेचेजमा इरानका महदी बोरक्लौले मनोजलाई हराए । दुवै प्रतिद्वन्द्वीसँग मनोज इप्पोनका आधारमा पराजित भए ।

ब्याडमिन्टनः
    ब्याडमिन्टनमा नेपाल पुरुष डबल्समा पराजित भएको छ । मलेसियाका हाउ लिक चेह र फरिज मोहम्मद विन अनुरको जोडीले नेपालका प्रकाश अधिकारी र हेमबहादुर गुरुङको जोडीलाई २१–६ र २१–८ को सोझो सेटमा पराजित गरे ।

टेबलटेनिसः
    टेबलटेनिसमा नेपालकी लाली तामाङ र विवेक राई मंगलबार पराजित भएका छन् । दुवै ३–० को सोझो सेटमा पराजित भए ।

जीएसपी जिम्न्याजियममा भएको महिला सिंगल्स क्लास ४ को समूह ‘डि’ मा लाली विरुद्धको प्रतिस्पर्धामा थाइल्यान्डकी वासाना श्रृगमले तीनै सेट समान ११–१ ले आफ्नो पक्षमा पारिन् ।

    पुरुष सिंगल्स क्लास ७ को समूह ‘डि’ मा हङकङका लाम हिङ चोइले विवेकलाई ११–६, ११–७ र ११–७ ले हराए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ