arrow

गाईपालनबाट मनग्य आम्दानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ११ शनिबार
cow-farm.jpg
तस्वीर फाइल

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका-१ मालुङ्गाका ४७ वर्षीय रुक्मागत न्यौपानेले मलेसिया, कतार, दुबई, भारत लगायतका मुलुकमा १२ वर्ष बिताए ।

विदेशको कमाईबाट सन्तुष्ट हुन नसकेपछि उनी स्वदेशमै स्वरोजगार बन्ने सोचका साथ गाउँ फर्किए । न्यौपानेले गाउँ फर्किएपछि चार साथीहरुको सहकार्यमा भैँसीपालन व्यवसाय सुरु गरे ।

उत्तरवाहिनी पशुुपालन फार्ममार्फत पाँच वर्षअघि १५ वटा मुर्रा जातका भैँसीबाट व्यवसाय सुरु गरेका न्यौपानेको फार्ममा अहिले भने होलिस्टेन र जर्सी जातका १५ गाई छन् ।

गोठ र आवाससहित ३० रोपनी क्षेत्रफलमा फैलिएको फार्म संयुक्त रुपमा रु ३२ लाखको लगानीबाट सुुरु गरिएको थियो ।

विविध कारणले सहकार्य गरेका साथीहरुले एक वर्ष नहुदै व्यवसायबाट हात झिकेपछि न्यौपानेले एक्लैले फार्म सञ्चालन गरे ।  

“सुरुका दुई वर्ष संयुुक्त रुपमा भैँसीपालन गरेका थियौँ, भैँसीपालनमा समस्या धेरै देखियो, फार्मको पूर्ण अधिकार मसँग आएपछि गाई पाल्न सुरु गरेको हुँ”, उनले भने, “अहिले फार्ममा छवटा दुहुना, तीनवटा ब्याउने र सात बाच्छाबाच्छी छन् । 

उनले गाईपालनका लागि नेपियर, जौघाँस, मकैघाँसलगायत उन्नत जातका घाँससमेत लगाएका छन् ।

एउटा गाईले दैनिक सात देखि १५ लिटरसम्म दूूध दिने गरेको उनले बताए । दैनिक ५० लिटर दूध उत्पादन गर्दै आएका उनले स्थानीय बजार र तुल्सीभञ्ज्याङ साना किसान दुग्ध सङ्कलन केन्द्रमा दूध बिक्री गर्दै आएका छन् । 

स्थानीय बजारमा प्रतिलिटर रु एक सयका दरले दूध बिक्री भए पनि साना किसान दुग्ध सङ्कलन केन्द्रमा भने ल्याक्टो फ्याटका आधारमा दूधको मूल्य पर्ने न्यौपानेले बताए ।

“दूध बिक्रीबाट मासिक रु एक लाखदेखि डेढ लाखसम्मको कारोबार हुुन्छ, खर्च कटाउँदा रु ४०-५० हजार जति बचत हुन्छ”, न्यौपानेले थपे, “विदेशमा जस्तो कमाई नभए पनि परिवारको साथमा स्वदेशमै स्वरोजगार बन्न पाउँदा खुसी छु ।” उनले गल्याङ नगरपालिकाले दिएको दूधमा प्रतिलिटर रु १५ अनुदान कार्यक्रमले हौसला मिलेको बताए । 

“जिल्ला भेटेरिनरीबाट र नगरपालिकाबाट चाँपकटरसहित हालसम्म छ लाखभन्दा बढीको अनुदान पाएको छु”, न्यौपानले भने, “सरकारी निकायबाट राम्रो सेवासुविधा पाएको छु ।” 

उनले गएको आर्थिक वर्षमा रु एक लाखको हाराहारीमा नगरपालिकाबाट प्रतिलिटर रु १५ अनुदान अन्तर्गतको रकम पाएका थिए ।

न्यौपानेको गाई फार्ममा हाल तीन जनाले रोजगार पाएका छन् । श्रीमती र छोरा व्यवसाय टिकाउनका लागि दरिलो सहारा बनेको उनको भनाइ छ ।

“म बजार जाँदा श्रीमतीले घाँसपानी र कुँडोको काम गरिदिँदा सहज बनेको छ”, न्यौपानेले भने, “लम्पी स्किन रोगले सताए पनि गाईपालनमा खासै समस्या देखिएको छैन, बजार राम्रो भएकाले गाईपालनलाई अझ व्यवस्थित र विस्तार गर्दै लैजाने सोच बनेको छ ।”

श्रीमती कमलाले विदेश छाडेर गाउँमै श्रीमानसँग काम गर्न पाउँदा खुसी मिलेको बताइन् । “उहाँ विदेशमा हुँदा कहिले के हुुने हो भन्ने चिन्ता हुन्थ्यो, चाडपर्वमा सबैलाई न्यास्रो लाग्थ्यो,” कमलाले भनिन्, “अहिलेसँगै हुँदा मलाई पनि धेरै सहारा मिलेको छ, सुखदुखमा सँगै हुन पाएका छौँ ।” उनले गाईपालन व्यावसायबाट आत्म सन्तुष्टि मिलेको बताइन् ।

नगरपालिकाका पशु शाखा प्रमुख सुशील अर्यालले नगरपालिकाले नगरभित्रका पशुलाई निःशुल्क बीमा, दूधमा प्रतिलिटर रु १५ अनुदान, ब्याजमा चार प्रतिशत अनुदान, साइजेलमा अनुदान, मल बनाउने तालिम, घाँसको बीउ, बेर्ना, निःशुल्क उपचार तथा प्राविधिक सेवा लगायतका सहयोग गरेको बताए ।

उनले कृषकलाई हौसला दिन गोठगोठमै पुगेर अनुगमन गर्ने, गुनासा टिपोट गर्ने र सल्लाह दिने गरिएको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ