arrow

कानूनको उपहास

रिगलको सुनुवाइ अन्तिम चरणमा, आममाफी पाएका केही व्यक्ति फेरि पक्राउ

गणतन्त्र दिवस, संविधान दिवस र प्रजातन्त्र दिवस कैदीहरूको सजाय मिनाहा गर्ने पर्वको रुपमा स्थापित हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
supreme-court-long.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गम्भीर किसिमको फौजदारी अपराधमा दोषी ठहर भएका मानिसलाई पनि सरकारको सिफारिसमा राष्ट्रप्रमुखले कैद मिनाहा गरिदिएको भन्दै आलोचना भइरहेका बेला सर्वोच्च अदालतमा रिगल ढकाल उर्फ योगराजको मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । 

राष्ट्रपतिबाट आममाफी पाएका केही व्यक्ति पुनः उस्तै प्रकृतिको अपराधको आरोपमा पक्राउ परेको विवरणहरू सार्वजनिक भइरहँदा उनी विरुद्धको मुद्धा सुनुवाइको चरणमा रहेको हो ।  

नेपालगन्ज उपमहानगरपालिका–८ का २९ वर्षीय चेतन मानन्धरमाथि २०७२ असार २८ मा धम्बोजी चोकमा रिगलको निर्देशनमा दिनदहाडै खुँडा प्रहार गरिएको थियो । त्यसपछि रिगल एकाएक फरार भएका थिए । 

घटनाको दुई महिनापछि भदौमा रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए । पुर्पक्षका लागि जेल पुगेका रिगललाई जिल्ला अदालत बाँकेले २०७६ बैशाखमा मानन्धरको हत्यामा दोषी ठहर गर्दै सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो । 

रिगलसहित हत्यामा संलग्न अन्य १२ जनालाईसमेत अदालतले दोषी ठहर गरेको थियो । झन्डै ५० प्रतिशत सजाय भुक्तानी गरेका रिगलले संविधान दिवसका अवसरमा आममाफी पाएका थिए ।

त्यसका विरुद्ध मानन्धरकी पत्नी भारती मानन्धरले असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार निर्णय सुनाउने तय गरेको हो । 

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले निर्णय सुनाउने समय तोकेको हो । 

यसका लागि बिहीबार पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ । रिगललाई आममाफी दिने सरकारको निर्णयको विरोध गर्दै भारतीले माइतीघर मण्डलमा धर्ना दिँदै आएकी छन् । न्याय नपाउँदासम्म धर्ना जारी राख्ने उनले बताएकी छिन् ।

सरकारले विशेष गरी वर्षमा तीन पटक जेठ १५ मा पर्ने गणतन्त्र दिवस, असोज ३ मा पर्ने संविधान दिवस र फागुन ७ मा पर्ने प्रजातन्त्र दिवसका दिन ठूलो संख्यामा कैदीहरूको सजाय मिनाहा गर्ने गरेको छ । 

त्यसरी सजाय मिनाहा पाएर कैदमुक्त भएका कतिपय व्यक्तिहरू फेरि अपराधमा संलग्न भएको पाइएको छ । जसले गर्दा सरकारको सिफारिसमा राष्ट्रपतिले दिने आममाफीकै बद्नाम भएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को धारा १५९ मा सजाय माफी दिन सकिने विषयमा कानूनी प्रबन्ध गरिएको छ ।

उक्त धाराको उपधारा ७ मा पूरै वा आंशिक सजाय माफ वा कैद कम गर्ने प्रयोजनका लागि कारण र आधार खुलाएर नेपाल सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने उल्लेख गरिएको छ । 

फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ कैदमा रहँदा चालचलनमा सुधार आएमा र निजले ५० प्रतिशत कैद सजाय भुक्तान गरेमा कैद कट्टा गर्न सकिने उल्लेख छ । 

सर्वोच्च अदालतको एउटा फैसलालाई देखाउँदै यसपालिको संविधान दिवसका बेला ४० प्रतिशत कैद भुक्तान गरेका बन्दीहरूको अलग्गै लागत कैद मिनाहाका लागि सिफारिस गरिएको थियो । 

जन्मकैद अर्थात् २५ वर्ष सजाय तोकिएका व्यक्ति, तेजाब वा अन्य ज्वलनशील पदार्थ वा अन्य घातक रसायन प्रयोग गरी हत्या वा अङ्ग भङ्ग गरेको वा क्षति पुर्याएको कसुरमा, जबरजस्ती करणी र भ्रष्टाचारसम्बन्धी कसुरमा सजाय पाएको व्यक्तिका हकमा कैद कट्टा मिनाहा नहुने प्रावधान छ । 

त्यस बाहेक मानव बेचबिखन तथा ओसारपसार, अपहरण तथा शरीर बन्धक, लागुऔषध ओसारपसार, सङ्गठित अपराध, यातना तथा क्रुर व्यवहार, मानवताविरुद्ध कसूरमा सजाय पाएको व्यक्तिका हकमा पनि सजाय मिनाहा नहुने प्रावधान छ । 

असोज ३ को संविधान दिवसमा मात्र गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले ६७० कैदीको सजाय मिनाहा गर्ने सिफारिस राष्ट्रपतिसमक्ष गर्ने निर्णय गरेको थियो । 

त्यसमा रिगल ढकाल लगायतका केही व्यक्तिहरु पनि छुटेका थिए । त्यसरी छुटेका व्यक्तिहरुमा राजनीतिक पहुँच रहेको स्पष्ट देखिन्छ । 

त्यस्तै आरोपमा गत सोमबारमात्र चितवनमा एक व्यक्ति पक्राउ परेका छन् भने गत महिना रुकुम पश्चिममा एक जना पक्राउ परेका थिए । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार सोमबार ५५ वर्षका रामचन्द्र थापा पक्राउ परेका हुन् । 

सोमबार भने उनलाई चितवनका एक व्यवसायीलाई पटकपटक फोन गरेर रकम नदिए छोराको अपहरण गर्ने धम्की दिएको आरोपमा पक्राउ गरिएको थियो । 

यसैगरी संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक हत्या आरोपमा पक्राउ परेका छन् । 

एक महिना अघिमात्रै मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा लोकबहादुरलाई पक्राउ गरिएको हो । घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा मुसीकोटस्थित एक होटलको कोठामा शव फेला परेको थियो । 

हत्यामा संलग्न रहेको पाइएपछि विकलाई आफ्नै डेराबाट पक्राउ परेका लोकेन्द्रलाई प्रहरीले सार्वजनिक गरेको हो । असोज ३ मा आममाफीबाट छुटेका विकले असोज २८ गते होटलको कोठा बुक गरेका थिए । 

असोज ३० गते बाहिरबाट ढोका बन्द देखेर शंका लागेपछि होटल सञ्चालकले बिहान ८ बजेतिर प्रहरी बोलाएर हेर्दा महिला मृत अवस्थामा फेला परेकी थिइन् । 

बहुविवाह मुद्दामा रुकुम पश्चिम जिल्ला अदालतको फैसला अनुसार ११ महिना कैद तोकिएका लोकेन्द्र ६ महिना कैद भुक्तान गरेर संविधान दिवसका अवसरमा सजाय माफी पाएका थिए । 

यसै वर्ष गणतन्त्र दिवसका अवसरमा संविधान जारी हुने बेलामा कैलालीको टीकापुरमा प्रहरी अधिकारीसहितको हत्याकाण्डमा जन्मकैदको सजाय पाएका रेशम चौधरी रिहा भएपछि उत्पन्न भएको विवाद सेलाउन नपाउँदै संविधान दिवसमा दिइएको कैद मिनाहा विवादमा मात्र परेन त्यसपछि छुटेका केही व्यक्ति नै पुरानै कर्ममा फर्केको संकेत गरे । 

त्यतिमात्र होइन हत्या गरेको ठहर भएपछि जेल सजाय भोगिरहेका नेपालगन्जका रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा गर्ने विषयले त झनै उग्र रुप लियो र अहिले सर्वोच्च अदालतमा मुद्धा समेत सुनुवाइको चरणमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ