arrow

सामूहिक हत्याको हप्ता दिन बित्यो, कहाँ पुग्यो प्रहरीको अनुसन्धान ?

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
mugu-hatya.jpg

मुगु । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक बीभत्स हत्या घटना भएको हप्ता दिन पुगेको छ । घटना भएको हप्ता दिन पुगिसक्दा पनि प्रहरी घटना कसरी घट्यो के कारण घट्यो र हत्यारा को हो भनेर अझै पत्ता लगाउन सकिरहेको छैन तर घटनाको सघन अनुसन्धान भइरहेको भने प्रहरीले बताउन छोडेको छैन ।

घटना गत ८ गते बुधवारको भए पनि प्रहरीले त्यसको दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् प्रहरीले २८ वर्षीय आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो । 

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्‍याइयो । सोमबारसम्म चार वटै शवको परीक्षण गरि सकिए पनि मृतक श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागेसम्म दीपकले शव नबुझ्ने अड्को थापेपछि शवहरूको दाहसंस्कार हुन सकेको छैन । 

घटनामा जानकारी आए लगतै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिवार ११ गते देखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोली खटिई अनुसन्धान तीव्र बनाएको थियो ।

जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको थियो । घटनाको प्रकृति,अनुसन्धानको प्रगति बारे नजिकबाट बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थल मै आफै पुग्नु भएको छ । उनले भने “अनुसन्धानलाई सघन बनाएर लगिएको छ । सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरेका छौ । हत्यामा संलग्न दोषी पत्ता लगाउने तहसम्म जतिसक्दो चाँडो प्रहरी पुग्नेछ ।

घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि घटना घटेको हप्ता दिन बितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन । प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरि कै घटना गतिविधिहरूमा मुगु घटनालाई उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेका थिए ।

अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिहरूसँग भेरिफाइ गर्न कम्तीमा १ देखि २ दिनसम्म लाग्छ । यत्रो ४र४ जनाको हत्या भएको छ कयौँ जनासँग सोधपुछ र भेरिफाइ गर्दा धेरै दिन लाग्नु अनौठो होइन । 

मुगु सुगम जिल्ला होइन यहाँ अनेकौँ कठिनाइका बाबजुद काम गर्नु पर्छ एक त घटनाको सूचना प्रहरीसम्म ढिला पुग्यो,फोन,नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धान सम्बन्धी क्रियाकलाप गर्न घटना स्थल,सदरमुकाम र आसपास क्षेत्रमा पटक पटक आवत जावत गर्न कठिनाइ छ यस्तै विविध समस्याले अनुसन्धान प्रभावित भइरहेको छ प्रनाउ थापाले भने । प्रहरीले अहिले प्राविधिक र मेनुल्ली दुई तरिकाबाट मुगु घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल २ फोन सेट मध्य एक सेट भेटिए पनि अर्को भिजोवल स्माट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा अर्कै उद्देश्य र कारोवारोले हत्या भएको हुन सक्ने अनुमान गरि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्ती बारे ठोस प्रमाण फेला पार्न नसके पनि घटना अनुसन्धान कार्य भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाई छाड्ने प्रहरीले दावी गरिरहेको छ । हप्ता दिन बित्यो घटनाको केही क्लु फेला परेको छैन । के थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान टोली आउन लागेको हो भन्ने पत्रकारहरूले सोधेको प्रश्नमा प्रनाउ वीरेन्द्र थापाले भन्नुभयो कुनै क्लु नभेटाइ केन्द्रीय अनुसन्धान व्युरो (सीआइवी) मुगु झिकाउनु भनेको समय खेर फाल्नु हो । त्यसैले अहिले फिल्डमा खटिएको टोलीले हत्या र हत्यारा बारे केही क्लु भेटाएमा थप अनुसन्धान गर्न सीआइवी टोली पनि मुगु आउन सक्छ ।

शवहरूको परीक्षण सोमबारै सकिएकोले अब घटना बारे सूक्ष्म अध्ययन र अनुसन्धान हुने पनि प्रनाउ थापाले जानकारी गराए । यता जिल्ला अस्पताल मुगुमा शव राख्ने कोल्ड हाउस नहुँदा शवहरू गल्दै गएकाले समय मै दाहसंस्कार नभए अस्पताल क्षेत्रमा गन्धित फैलिने त्रासमा रहेको चिकित्सक अर्जुन भामले बताए । उनले भने प्रहरीले अनुसन्धान गरिरहेको छ सूक्ष्म अध्ययनका लागि शव परीक्षण पनि भइसक्यो अब आफन्तहरूले शव बुझिदिए राम्रो हुने थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ