arrow

प्यारातालमा मगर दम्पतीले बनाए सेल्फी स्पोट

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
magar-dampati.jpg

कञ्चनपुर । संरक्षण , प्रचारप्रसार र पर्यटन विकास गर्न सरकारी निकायहरूले उपेक्षा गरिँदै आएको कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित प्यारातालमा पर्यटन विकासमा सघाउ पुगाउन सोमबहादुर मगरको दम्पतीले सेल्फी स्पोट निर्माण गरेका छन् ।

पहिलो पटक प्यारातालमा पर्यटन विकासका लागि शुरु गरिएको अभियानलाई सघाउँदै पुनर्वास नगरपालिका ९ स्थित बिचफाँटाका होटल व्यवसायी सोमबहादुर मगर र उनकी धर्मपत्नी दुर्गादेवी मगरले आफ्नो छोरी सम्झना मगरको स्मृतिमा ताल परिसरमा आफ्नो लगानीमा आकर्षक सेल्फी स्पटको निर्माण गरिदिएका छन् । 

तालको पर्यटन विकासमा स्थानीय सरकार समेतले सिन्को नभाँचेपछि जैविक महत्त्व बोकेको प्याराताल ओझेलमा पर्न बाध्य बनेको छ । सदाबहार जलाशय प्यारातालमा ३५ प्रजातिका माछा , गोही , कछुवा , दुर्लभ चलचर ओद , सुन गोहोरो लगायतका असङ्ख्य जीवहरूको वासस्थान रहे पनि तालको संरक्षण , विकास र प्रचारप्रसारमा सरोकारवाला निकायको ध्यान जान नसक्दा ओझेलमा परेको छ । ताल आफ्नै भूमिमा पर्ने भए पनि नेपाली पक्षले अभिभावकत्व निर्वाह गर्न नसक्दा बेला बेलामा भारतीय पक्षले प्यारातालमा हस्तक्षेप गर्दै आएको छ ।

जैविक हिसाबले अत्यन्तै महत्त्वपूर्ण रहेको प्यारातालको पहिचानलाई उजागर गर्दै देशभर चिनाउँदै पर्यटन विकास गर्ने उद्देश्यले गत असार अन्तिमदेखि स्वतःस्फूर्त रूपमा नागरिक अभियान सञ्चालन गरिएको कञ्चनपुरको दक्षिणी क्षेत्रका वरिष्ठ पत्रकार समेत रहेका प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले बताए ।

तालमा पर्यटन विकासका लागि शुरु गरिएको अभियानलाई नागरिक समुदायले हृदय देखिनै साथ सहयोग गरि रहेकाले तालमा पर्यटन विकासका लागि सेल्फी स्पोट र माछाको स्तम्भको निर्माण कार्य पूरा भएको र दुर्लभ प्राणी ओद र कछुवाको स्तम्भ निर्माणाधीन रहेको बस्नेतले बताए । 

पर्यटन विकासका लागि तालको पहिचान झल्किने स्तम्भहरू निर्माणका लागि गत असार अन्तिम देखि नागरिक स्तरबाट अभियान चलाइएको थियो । अहिले सो अभियानबाट उठेको आर्थिक सहयोग बाट माछाको स्तम्भ तयार भइ सकेको छ । भने तालको जैविक पहिचानलाई उजागर गर्न दुर्लभ जलचर ओद र कछुवाको स्तम्भ निर्माणाधीन रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ