- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कावासोती । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा सयपत्री फूलको माग बढ्न लागेको छ । सरकारले तिहारमा स्वदेशी उत्पादनले माग धान्न सक्ने भएकाले गत कार्तिक १ गतेदेखि भारतबाट आउने फूलको आयात अनुमति पत्र सिफारिस जारी गर्न बन्द गरेको भए पनि बजारमा रसायन प्रयोग भएको भारतीय फूल भित्रिने चिन्ताबाट नवलपुरका किसानहरु पनि चिन्तित देखिएका छन् भने भारतबाट आएका फूल स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरुले बताएका छन् ।
भारतीय व्यापारीले तिहार आउनु भन्दा १५ दिन अगाडि नै बोटबाट टिपिएको फूल फर्मालिनको प्रयोग गरेर नेपालसम्म ल्याउने गर्दछन् । फर्मालिनको प्रयोग गरेर राखिएको फूलको माला लगाउँदा एलर्जी हुने तथा छाला सम्बन्धी रोगहरु लाग्न सक्ने कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कपिल तिवारीले बताए ।
“भारतबाट यहाँसम्म फूल ल्याउँदा व्यापारीहरुले फर्मालिन नामको रसायनको प्रयोग गर्छन् जसले प्रत्यक्ष मानव स्वास्थ्यमा असर पार्छ, त्यसैले नेपालमै उत्पादन गरिएका फूलको प्रयोग मानव स्वास्थ्यका लागी पनि राम्रो हुन्छ”, तिवारीले भने ।
फर्मालिनको प्रयोग गरिएको वस्तुको प्रयोगले छाला जन्यरोगहरु निम्तिने खतरा हुने मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेल बताउँछन् ।
फर्मालिन प्रयोग गरिएको फूलको माला लगाउँदा छालाको एर्लजी हुने, चिलाउने, रातो डाबर आउने तथा यस्को गन्धले श्वासप्रस्वासमा पनि समस्या आउने डा. कंडेलले बताए ।
यस वर्ष नवलपुरमा करिब ७ देखि ८ हेक्टर क्षेत्रफलमा सयपत्री फूलको खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख तिवारीले बताए । उनका अनुसार लागत र बजार मूल्यका हिसाबले नवलपुरमा उत्पादन हुने फूलको ३ देखि ४ करोड सम्मको बजार मूल्य रहने छ ।
भारतबाट आउने फूलहरु नेपाली उत्पादन भन्दा सस्तो हुने भएकाले स्थानिय उत्पादनले बजार पाउन नसक्ने हो कि भन्ने चिन्ता किसानलार्ई रहेको छ । यस वर्ष नवलपुरको गैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, विनयी त्रिवेणी र बौदीकालीमा सामूहिक तथा व्यक्तिगत रुपमा फूल खेती गरिएको छ ।
गैँडाकोट नगरपालिकाको वडा नं ४ र ८ मा सामूहिक रुपमा फूलखेती गरिरहेका राम काप्रीले अहिलेको प्रमुख समस्या भनेको भारतीय फूल रहेको बताए । स्थानीय उत्पादनको तुलनामा भारतीय फूलको लागत कम पर्ने भएकाले व्यापारीको रोजाइमा भारतीय फूल पर्ने गरेको उनले बताए ।
मानव स्वास्थ्यलाई असर गर्ने रसायन प्रयोग गरिएको भारनीय फूलमा लागत कम पर्ने भएकाले व्यापारीहरुले नेपाली फूललाई महत्व नदिने गरेको तर आफूहरुले स्थानीय स्तरमा उत्पादन गरेको फूल केही महँगो भए पनि स्वास्थ्यमा असर नपर्ने उनको भनाई थियो ।
बौदीकाली गाउँपालिका वडा नं २ डेढगाउँमा सामूहिक सयपत्री खेती गरेको खहरे कृषि समुह पनि उत्पादन भएको फूलको बजारको सुनिश्चितता नहुदाँ समस्यामा परेको डेढगाउँका यादव ओझाले बताए ।
यो समुहले १ हजार बोट सयपत्री फूल तयार पारेको भए पनि बजारको सुनिश्चितता नभएको उनले बताए । “तिहार आईसक्यो हामी बजार खोज्दै छौं, व्यपारीलाई पर्खदै छौँ,” ओझाले भने ।
यहाँको नजिकमा पर्ने नवलपुरको कावासोती र गैडाँकोट, चितवनको नारायणघाट बजार र पोखरामा समेत स्थानीय रुपमा सयपत्री फूलको खेती बढेकाले बजारको समस्या रहेको उनको भनाइ थियो ।
कावासोतीमा विगत केही वर्षदेखि फूल खेती गरिरहेका कावासोती ५ का भेषराज गाहा बजार भन्दा पनि मुख्य समस्या भारतीय फूल नै रहेको बताउँछन् । स्थानीय स्तरमा उत्पादन भएका अर्गानिक फूल भन्दा रसायन प्रयोग गरिएको भारतीय फूल सस्तो हुनुले समस्या आएको उनको भनाइ थियो ।
“ग्राहकले गुणस्तर भन्दा पनि सस्तो फूल खोज्ने चलन छ, भारतबाट आउने फूल स्वास्थ्य प्रतिकुल छ भन्ने चेतना जनमानस मा पुगिनसकेकाले यस्तो समस्या आएको हो”, उनले भने ।
सरकारले भारतीय फूल आयतमा प्रतिबन्ध लगाउनु पर्ने माग उठिरहेको भए पनि यसको सुनुवाइ नहुँदा आगामी दिनहरुमा भर्खरै शुरु भएको फूल खेतीबाट विस्थापित हुन पर्ने चिन्तामा किसान रहेका छन् ।