- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गोर्खाको बुङ्गकोटमा लखन थापा नामको बालकको जन्म भयो । यो शुभ वर्ष जुरेको थियो विसं १८९० लाई । उनका प्रायःजसो नातेदारहरू इस्ट इण्डिया कम्पनीको तेस्रो गोर्खा राइफल्समा नोकरी गरी आलमोडामा रहने गर्थे । तिनी सैनिक जनजाति युद्धजीवी मगर जातिका एक सच्चा योद्धा थिए ।
बालक लखन थापा जन्मदेखिनै बलियो र हिष्ट पुष्ट शरीरका थिए । लखन थापा बाल्यकालदेखि नै व्यायाम गर्ने, हतियार चलाउने अभ्यास र डाँडा काडा साथीहरूसँग घुम्न मनपराउँथे । तरवार, खुडा, खुकुरी चलाउन, धनुषकाँड हान्न र भरुवा बन्दुक चलाउन बाल्यकालमै सिकीसकेका थिए ।
खेतीको काममा पनि मन लगाएर परिश्रम गर्दथे । यस किसिमबाट लखन थापा एउटा निपुण, परिश्रमी, चरित्रवान, सुन्दर र बलिया युवकको रुपमा वरिपरीको गाउँमा चिनीन्थे । आफ्ना नातेदार आलमोडामा हुनाले उहाँगई प्रारम्भिक शिक्षा लिएका थिए । त्यस समय नेपालमा आमजनतालाई शिक्षा हासिल गर्ने सुविधा थिएन ।
एकदिन लखन थापा साथीहरूसँग मिलेर जंगलमा सिकार खेल्न गए । केही पर उनले चित्तलको बथान देखे । चित्तल सिकारीहरू आइरहेको देखेर भाग्न थाल्यो । तर एउटी गर्भिणी चित्तल भने भाग्न सकिन । लखन थापाले त्यसलाई काणले हाने । चित्तलको नजिक जब लखन थापा पुगे तब त्यो पीडाले चित्तल छट्पटाइ रहेकी देखे ।
चित्तलले आफ्नो पीडा, स्थिति र विवशता सबै कुरा लखन थापालाई मुक भाषामा बताई । मर्दा मर्दै चित्तलले दुई ओटा बच्चा पनि जन्माई । ती मासुम बच्चाहरू जसले आँखा पनि खोल्न पाएका थिएनन्, आफ्नो तडपले सैनिक युद्धजीवी मगरलाई पश्चात्ताप र ग्लानिको साथसाथै पाप, पूण्य, धर्म, अधर्म सबै कुराको मुक उपदेश दियो ।
लखन थापा त्यही नै धनुष काण फालेर साथीहरूलाई घर फर्काइ आफू भने पाप–मुक्तिको उपाय खोज्न १७ वर्षको उमेरमा हिँडे । मात्र १७ वर्षको आयुका युवा विषाद–युक्त हृदय लिएर यस्तो गुरुको खोजीमा निस्के जसले उनको जीवनलाई सार्थक बनाउन सकोस् ।
जोसमनी सम्प्रदायमा सिद्धि प्राप्त गरेपछि लखन थापा १९ वर्षको उमेरमा घर फर्किए । ४ मार्च सन् १८१६ को सुगौली सन्धिपछि लखन थापाका पुर्खाहरूमध्ये आधा आफ्ना ‘पुरानो गोरख पल्टन’ सित काठमाडौँ फर्केका थिए भने बाँकी रहेका आधा इस्ट इण्डिया कम्पनीको तेस्रो गोर्खा राइफल्समा नोकरी गरी भारतमै बस्न थालेका थिए ।
जोसमनी मत नेपालकै माटोमा उब्जेर विकसित भएको हो । नेपालमा प्रचलित अनेक धार्मिक सम्प्रदायहरू प्रायः बाहिरी प्रभावबाट यहाँ विकसित भएकाले नेपालको विचार र समाज ब्यवस्था अनुकूलको ख्याल राखिएको पाइँदैन । तर जोसमनी सम्प्रदाय नेपालको समाज व्यवस्थाको सुधारको निमित्त उपयुक्त, सरल र सात्विक भएकोले भौतिक जीवनको सामान्य व्यवहारको साथसाथै यस सम्प्रदायको जनप्रियता बढ्दै र विस्तृत हुँदै रह्यो ।
प्रचलित धार्मिक विश्वासहरूमा जब रुढी र अनैतिक विश्वासहरूले प्रवेश पाउँछन् तब ती प्राचीन धार्मिक विश्वासहरू जनताको जीवनको उपयोगी हुन छाड्छन् । धर्म समाज सञ्चालन गर्ने एक व्यवहारिक पद्धति हो । धार्मिक मतको अर्थ केवल परमार्थ साधन कदापि होइन ।
धर्म एक व्यवहार नै हो । तर कालान्तरमा धर्मको व्यवहारिक रुप वा पक्ष लुप्त हुँदै जान्छ र जनतामा त्यस धर्मप्रति अन्धविश्वास पैदा हुन जान्छ । अन्धविश्वासहरू न देहिक न त पारलौकिक साध्यको निमित्त सहायता गर्दछन् ।
फलतः तत् तत् सम्प्रदायमा भएको जीवनोपयोगी तत्व समाप्त हुन्छ । यस्तो स्थितिमा जनजीवनलाई लाभदायी हुने आर्को मतको प्रवर्तनले अथवा उसै मतको नवीन पुनरुत्थानले जनतालाई आकर्षित गर्दछ । यस्ता मत प्रवर्तन गर्ने सन्तहरू अवश्य नै समाजदर्शी हुन्छन् ।
समाजमा भएका कुरीतिहरू र संगठनको अभावमा हुन आएका कमजोरीहरूलाई सन्तहरु केलाएर हेर्दछन् । जनजीवनसित प्रयोजन नराखी आफ्नै साध्यका लागि जपतप गर्ने सन्त वा सिद्धको अस्तित्व अब छैन, तर जसले समाजलाई हेरेर धर्म र मतलाई समाजको लाभको निमित्त प्रस्तुत गर्दछन्, तिनको प्रचार प्रसार गर्दछन्, त्यस्ता मतप्रवर्तक सिद्धहरूको अस्तित्व अहिलेसम्म पाइँदैछ ।
उत्तर वैदिककाल र व्राह्मणकालमा यज्ञ–यज्ञादिको प्रचार अधिक भयो, स्वभावतः यसले हिंसाको प्रचार बढ्यो । यसैं हिंसावादको विरोधमा जैन र बौद्ध धर्मको प्रादुर्भाव भएको हो ।
ब्राह्मणवादबाट सताइएकाहरूलाई त्राण दिन प्रवत्र्तन गरिएको जैन धर्मका आचरणहरूमा जनताले आफूलाई खपाउनै सकेन ।
मूर्ति पूजाको विरोधी अथवा शब्दान्तरमा निर्गुणोपासक बौद्ध धर्मका सम्प्रदायहरू स्वयं बुद्धलाई देवताको रुपमा पूजा गर्न थाले । बौद्ध मार्गीहरूले भक्ति, स्तुति, देव–देवी र पूजा आदि सगुण उपासकमा रमाउने जन–साधारणको लागि एक अलग पन्थ महायान नै खडा गरिदिए ।
विक्रमको सातौँ शताव्दीमा पुग्दा नपुग्दै महायान पनि मनुष्यलाई दुरुह मार्ग भयो, आचार र नियमको सारा बाँध तोडेर सहजयानको अर्को भेल चल्यो । नेपालको सन्तपरम्परामा सहजयानको प्रभाव यति व्यापकरुपले परेको छ, जसको प्रभाव आज पनि प्रत्यक्ष रुपले देखिँदैछ ।
जातपातको भेदहीनता त बौद्ध धर्मको मूल आधार नै हो, यस दृष्टिकोणले हेर्दा न्यून कुल र उच्च कुल भन्ने भेद बताउने ब्राह्मणवाद पनि जीवित अवस्थामै रहेको हुँदा नै गम्यागम्य र भक्षाभक्षको भेद नमान्ने सहजयानीहरूले निम्नकुलकी स्त्रीलाई मुक्तिको सबभन्दा ठूली साध्या बनाइदिए ।
मदिरा पान गर्नु र स्त्रीलाई मुहामुद्रा बनाएर साधना गर्नु मुक्तिद्धार खोल्ने सम्प्रदाय नै खडा भयो र यो सम्प्रदाय विक्रमको सातौँ शताव्दीदेखि लिएर तेहृौँ चौधौँ शताब्दीसम्म त फैलिएर नै रह्यो ।
सहजयानका प्रचारक चौरासी सिद्धहरूमा प्रमुख सरहदपाल र गोरखनाथ हुन् । चौरासी सिद्धमध्येका गोरखनाथ नेपालमा आज पनि इष्ट देवता झैँं पूजिन्छन् । यी केवल सहजयानी थिएनन् । बज्रयान, मन्त्रयान र सहजयानबाट प्रभावित शैवमार्गी थिए ।
नेपालको आफ्नो कुरा जोसमनी सन्त परम्परा हो । संभवतः यसका आदि प्रवत्र्तकको नाम ‘जोसमनी’ थियो । यस सम्प्रदायमा आजसम्म परम्परागत संस्मरणमा रहेका प्रथम सन्त हरिश्चन्द्र (प्रथम) अनि क्रमशः हरिभक्त (प्रथम) र हरिश्चन्द्र (द्धितीय) हुन् ।
जोसमनी सम्प्रदायबाट लखन थापा दीक्षित भए । निर्गुण उपासना र जातीपाती नमान्ने जोसमनी सम्प्रदायको मूलदर्शन हो । जोशमनी सम्प्रदायमा सिद्धिप्राप्त गरेपछि लखन थापा १९ वर्षको उमेरमा घर फर्किए ।
वि.सं. १९१० मा लिखित मुलुकी ऐन बन्नुभन्दा पहिला सैनिक जातिले आफूलाई युद्धजीवी वर्गलाई क्षत्रीय जातिको समकक्ष ठान्दै आएका थिए । व्यापारी जनजाति नेवारले वैश्य हुँ भन्ने गर्दथे । उक्त मुलुकी ऐन बनेपछि सबै जनजातिहरूलाई पानी चल्ने शुद्र वर्गमा समावेश गराइयो । उच्चपदमा नियुक्त पाउन तागाधारी हुनुपर्ने बाध्यताले गर्दा जनै पहिरिएका मगर र अन्य जनजातिहरू “तागाधारी” वर्गमा परे भने जुन जनजातिले जनै पहिरिन चाहेनन्, उनीहरूलाई मतवाली “शुद्र” वर्गमा राखियो ।
जोसमनी सम्प्रदायमा सिद्धिप्राप्त गरेपछि लखन थापा १९ वर्षको उमेरमा घर फर्किए । ४ मार्च सन् १८१६ को सुगौली सन्धिपछि लखन थापाका पुर्खाहरूमध्ये आधा आफ्ना ‘पुरानो गोरखा पल्टन’ सित काठमाडौँ फर्केका थिए । बाँकी रहेका आधा भने इष्ट इण्डिया कम्पनीको तेश्रो राइफल्सका नोकरी गरी भारतमा नै बस्न थालेका थिए ।
उनका खानदानका धेरै जसो सदस्यहरू तेश्रो राइफल (कुमाउँ बटालिएन) सेवागर्ने परम्परा बसिसकेको थियो । उनलाई सोही पल्टनमा भर्ती हुनको निम्ति उनका नातेदारले बराबर बोलाइरहन्थे ।
जति आग्रह गर्दा पनि लखन थापाको अन्तरहृदयले भने विदेशी सेनामा जागिर खान मानेन र भर्ती हुन काठमाडौँ पुगे । वि.सं.१९१० मा २० वर्षको उमेरमा उनी आफ्नै पुख्र्यौली पल्टन “पुरानो गोरखगण” मगर पल्टनमा भर्ना भएका थिए ।
सेनामा उनी लक्ष्मण थापा मगर (शाही नेपाली सेनाको इतिहास, टेकबहादुर खत्री (२०४१) नामबाट भर्ना भएका थिए । सन् १८५७ मा भारतमा भएको प्रथम स्वतन्त्रता आन्दोलनमा त्यहाँका सैनिकहरूले ब्रिटिश हुकुमतविरुद्ध ठूलो विद्रोह गरेका थिए । त्यो आन्दोलन दबाउन जङ्गबहादुर राणा आफैँ २५ नेपाली पल्टन लिएर व्रिटिशको हिमायती भएर लखनउ पुगेका थिए ।
“पुरानो गोरख गणमा बहालरहेका लखन थापा र जयसिंह चुमीराना साथै श्रीपत गुरुङ, ‘कालीबहादुर गण’ सँग लखनउ पुगेका थिए ।” (शाही नेपाली सेनाको इतिहास, टेकबहादुर खत्री (२०४१) यिनीहरूले नबाव बजीद अली शाहको दरबारको लुट र साथै स्थानीय जनतासँग गरेको अन्याय अत्याचारका दृश्य देखेका थिए ।
लखनउ लुटमा सहभागी भएका धेरै सिपाहीहरूले व्यक्तिगत रुपमा पछिसम्म पछुताउ गरेका थिए । उनीहरूले भारतलाई अंग्रेजको दासताबाट मुक्त गराउन बलिदान हुने सयौँ शहीदहरूको संघष पनि देखेका थिए ।
लखन थापाले सोही बखत उद्घोष गरे— “आज देश, धर्ममा घोर विपत्ति आएको छ । यस्तो स्थितिमा मैले जागिर खाएर, जंगेको सेवा गरेर समय र शक्तिको दुरुपयोग गर्दा जंगेको अन्याय अत्याचारबाट जनताले मुक्ति पाउन सक्दैन । हतियार उठाएर म्लेच्छको सहयोगी जंङ्गेलाई खतम पार्नै पर्छ ।”
घोर निराशाजनक एवम् अन्योलको वातावरणबाट गुज्रिरकेको तत्कालीन नेपालमा स्थापित एकतन्त्रीय जहाँनिया राणाशासनमा घटित, कोतपर्व, भन्डारखाल पर्व र अरु अरु डरलाग्दा पर्वहरूका घटनाहरूबाट भयभित भएका जनतामा नेपालको तानाशाहीविरुद्ध आवाज उठाउन कोही पनि शाहस गर्दैनथे ।
जङ्गेको अन्याय र असमान व्यवहारबाट क्षुब्ध भई विसं १९१७ मा क्याप्टेनद्धय लखन थापा र जयसिंह चुमिरानाले पल्टन छोडी गोर्खाको बुङकोटमा आई जङ्गबहादुरको विरुद्धमा जनसेना बनाउनतिर लागे ।
जङ्गबहादुरले अंग्रेजलाई विश्वासमा लिई राज्यसत्ता खोसी आफैँ राजा बन्ने ठूलो योजना बनाएका थिए । यसैकारण जङ्गबहादुरका खलक बाहेक योग्य भन्दा योग्य ब्यक्ति पनि कर्णेलसम्म हुन नपाउने भए ।
सनातन हिन्दू धर्ममा ल्याइएका अन्धविश्वासी कुरीति र रुढीवादी प्रवृत्तिको विरुद्धमा जनतालाई सचेत पार्न लखन थापा लागे । त्यतिखेर जनता पूर्ण रुपमा अशिक्षित थिए । जनतामा मानसिक चेतना फैलाई जागृत बनाउनको लागि समय धेरै लाग्थ्यो ।
उपयुक्त समयको निम्ति लामो पर्खाइ गरेर बस्ने हो भने राणा शासनले जरो गाडिसक्ने सक्ने स्थिति भएको हुँदा लखन थापाले धर्म र देवीको शक्तिको नाममा जनचेतना जगाउने जमर्को गरे ।
“लखन थापा सन्तको भेषमा जनचेतना जगाउन हिँडेको बेलामा उनलाई पक्रेर जङ्गेको समक्ष पुर्याइएको थियो । उनीमा सन्त शुलभ गुण पाएपछि जङ्ग छाडिदिन विवश भएका थिए ।” (पदमजंग राणा, ‘लाइफ अफ महाराज सर जंगबहादुर अफ नेपाल’–१९०९ इन्डिया)
लखन थापाले अंगालेको जोसमनी सम्प्रदायको सिद्धान्तअनुसार राजा र प्रजा दुवैले नियमको पालन गर्नुपर्दथ्यो । क्षत्रीय, बाहुन, मगर, गुरुङ आदि योद्धाहरू उनको फौजमा थिए ।
ठाउँ ठाउँमा गाउँले जनतालाई जम्मा गराएर उनी भन्ने गर्दथे, ‘जङ्गेले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राही त्राही पारिरहेको छ । जातपात, छुवाछुत झन् चर्काएको छ । जङ्गेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ, नेपालमा सत्ययुग फिराउ, मनकामनामाईले वरदान दिएकी छिन् । भाइ हो तैयार होऔँ ।’ (भीम भक्तमान सिंह— ‘नेपाल’ २००५) ।
उनी जनजागरण फैलाउँदै २००० जति युवकहरूको फौज बनाउन सफल भए । साथै बुङकोट गोर्खामा तीनतले दरबार पनि निर्माण गर्न सफल भए । ठीक सय मिटर तलतिर सिपाहीको परेड खेल्ने र युद्धकौशलको निम्ति तालिम प्राप्त गर्ने टुँडिखेल बनाएका थिए ।
दरबारको चारैतिर कम्पाउण्डले घेरिएको थियो । धेरथोर अस्त्र शस्त्र पनि जम्मा गरेका थिए । एक तन्त्रीय राणा शासनको विरोधमा नेपाली जनताले सशस्त्र विद्रोह गरे । विद्रोहीहरूको प्रधानमन्त्रि (मुख्तियार) लखन थापा, सेनापति जयसिंह चुमिराना मगर, जनरलद्धयय लमजुङका शुकदेव गुरुङ र सुमती गुरुङ तथा मन्त्रीहरूमा रुम्जाटारका ज्ञानदिलदास ब्राह्मण र कानु लम्साल आदि थिए ।
मुख्तियार लखन थापाले नियमहरू पनि बनाएका थिए । ‘शाही खजाना राजाले पनि आफू खुशी गर्न पाउने छैन । मेरो दर्जा ठूलो छ भनी प्रधानमन्त्रीले पनि अनरीत गर्न पाउने छैन । अनरीत गर्नेलाई पार्लियामेन्ट काउन्सिलबाट सजाय हुन्छ ।’
लखन थापाले बेलायतको जस्तो संसदीय प्रणाली नेपालमा ल्याउन चाहेका थिए । यिनै उदेश्य बोकी उनले १९३३–३४ सालको चैत–बैशाखमा विद्रोह गरेका थिए । जङ्गबहादुर १९३३ फागुनमा नेपालको तराई सुदूर पश्चिम नयाँ मुलुकमा बेलायतका तत्कालीन युवराज एडवर्ड प्रिन्सको स्वागतमा पुगेका थिए ।
उनको स्वागतमा ८ सय हात्तीको लस्कर निकालेका थिए । सिकारको दौरान सयौँ जनावरहरू मारियो, साथै जिउँदा चराहरू र जनावरहरू उपहार दिएका थिए । बेलायतलाई सभ्यता र संस्कृतिको केन्द्र मानिएको छ ।
शक्तिशाली बेलायतबाट नेपाललाई बचाउन मुस्किल थियो । नेपाललाई बचाउन र आफ्नो स्वार्थ सत्ता टिकाउन यस किसिमको स्वागत गरियो । यसबाट एउटा नयाँ प्राप्ति भयो । त्यो उपलब्धि हो आधुनिक आर्थिक दृष्टि, आर्थिक सभ्यता ।
व्यवहारमा मात्र होइन, हाम्रो संस्कारमा पनि प्रभाव पार्यो । रीतिरिवाज खर्चिलो भयो, खर्च चलाउन भारतमा नोकरी गर्न जाने क्रम बढ्यो । अध्ययन गर्न जाने भन्दा पनि कमाउन जाने प्रवित्तिले देशको साख गुम्दछ । अनैतिक ? काला बजारीबाट धेरै धन प्राप्त हुन्छ ।
जङ्गबहादुर काठमाडौँ फर्किने बेलामा अवसर छोपी चन्द्रागिरीको भञ्ज्याङमा घात लगाएर जङ्गबहादुरलाई मारी लखन थापाले आफ्नो उद्देश्य पूरा गर्न चाहन्थे । तर, टीकादत्त भुसाल जैसी जङ्गबहादुरको जुठो पुरो चाट्ने घाती निस्किए र पोल लगाए ।
४०–५० दिनको सिकार कार्यक्रमलाई १६ दिनमा नै छोडी तुरुन्त काठमाडौँ फर्की त्यहाँबाट ‘देवीदत्त गण’ बटालियनलाई गोर्खा पठाए । जनविद्रोह दबाउन जनरल धीरशमशेरले नेतृत्व सम्हालेका थिए ।
लखन थापाको विद्रोह दवाउन देवीदत्त गणलाई पठाउँदा जङ्गबहादुर गर्जिदै हुकुम दिएका थिए, ‘लखनलाई मनकामना बराही देवीले जङ्गलाई मार्ने बरदान दिएको छ भने त्यसै ठाउँमा झुण्ड्याइ मार्नु ।’ जङ्गबहादुरले पठाएको देवीदत्त गणले बुङ्गकोटको किल्लालाई पूर्णरुपले नाकाबन्दी गर्यो । लगभग १० महिनाको लडाइँमा खाद्यान्न सकियो । इन्धन सकियो । किल्लामा भएका जनावरहरूको काचै मासु खान बाध्य भए । गोली बारुद पनि सकियो । लखन थापा र उनका सहयोगी सजिलै भाग्न सक्दथे तर त्यसो गरेनन् । किल्लामा घेरिएका वीरहरू धर्मयुद्धबाट हट्न तयार भएनन् ।
अन्तमा देवीदत्त गणा बटालियनले किल्लामा कब्जा जमायो । सयौँ मानिसहरूका शिर गिँडिए । लखन थापा, जयसिंह चुमिराना मगरसहित ५८ जनालाई बाँसको पिँजडामा बन्द गरिदिए ।
पिँजडामा बन्द गरिएका लखन थापासहितका विद्रोही वीरहरूलाई बाँसको सुइरोले घोँचेर यातना दिन्थे । उनीहरूलाई भोकै प्यासै राखियो । यस किसिमको क्रुर उत्पीडन र अपमानबाट पनि कोही विचलित भएनन् । सबैलाई जेलमा हालियो । प्रत्येक दिन बन्दीहरूलाई मनकामना मंदिरमा लगी यातना दिने गर्थे । माफी मागेमा जीवनदान दिने प्रलोभन कसैले स्वीकारेनन् ।
लखन थापाको अगाडि एक युवा विद्रोहीको बध गरे । ती विद्रोहीको कलेजो बलजफ्ती लखन थापाको मुखमा कोचिदिए । बध गर्नु भन्दा पहिले ती विद्रोही युवाको एउटा आँखा झिकिदिएका थिए । अनि बायाँ गोडा, त्यसपछि हात काटिदिएका थिए । तातो सनासोले मासु तानेका थिए । त्यति यातना दिँदा पनि न त विद्रोही युवक न त लखन थापा नै गलेका थिए ।
केही नलागेपछि अन्तमा विसं १९३३ फागुन २ गतेका दिन बुङकोट दरबार अगाडि खिरीको रुखमा लखन थापा, जयसिंह चुमिराना र अन्य ५ जनालाई झुण्डाएर मारे ।
बुङ्गकोटमा बन्दी बनाइएका विद्रोहीहरूमा एक जना १६ वर्षीय किशोरलाई पनि बासको पिँजडामा बन्द गरी काठमाडौँ ल्याइएको थियो । उनको कम उमेर र सुन्दरतामा मोहित भएर जङ्गबहादुरले पनि छाडिदिने विचार बनाएका थिए । उनकी विधवा आमा पनि उसलाई छुटाउन जङ्गबहादुर कहाँ बिन्ती बिसाउन पुगेकी थिइन् ।
जङ्गबहादुरले भने, ‘ए केटा तेरी आमाले भन्दै छे त लखनको साथी होइनस् । त क्षेत्रीको छोरा होस् । मगरको साथी कसरी बन्न सक्छस् । यसकारण म तलाई छोड्दै छु, त आफ्नी आमासँग घर जा ।’
आमा पनि कल्पिइन्— ‘छोरा, तँ बाहेक मेरो अरु को छ र ?’
केटाले भन्यो— ‘न कुनै मेरी आमा छ, न त घर नै छ । मेरो जे थियो त्यो मुख्तियार लखन थापा नै थियो, म त मनकामनामाईको भक्त हुँ ।’
आमाले पुनः भनिन् — ‘छोरा मलाई हेर त, म नै तेरी आमा हुँ । मेरो जीवनको सहारा भनेको त नै होस् । वंश चलाउने त नै होस् ।’
केटाले भन्यो, ‘को आमा ? कसको आमा ? म त अब तिमीलाई देख्नै सक्दिन । मेरो आमा त मनकामनामाई नै हुन् ।’
यति भनेर जङ्गबहादुरलाई भने— ‘छिटो काट् ।’
जङ्गबहादुर पनि एकछिन ट्वाल्ल परे । उनको तरवार चल्यो र केटाको टाउको टुँडिखेलमा खस्यो ।
धार्मिक लडाइँमा सहभागी भएकाहरूमध्ये लखन थापाका सहयोगी कानु लम्साल र ज्ञान दिलदास बाहुन भएको हुँदा मृत्युदण्ड दिइएन । अरुहरूलाई टुँडिखेलको रुखमा झुण्डाएर मारियो ।
बुङ्गकोटको आफ्नो दरबार अगाडिको खिरीको रुखमा झुण्डाउन लाग्दा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै लखन थापाले भनेका थिए— ‘म मरेको सात दिनभित्र त्यो जङ्गे पनि मर्नेछ । मलाई झुण्डाएको बेला कोही पनि नरुनु र पीर पनि नगर्नु ।’ सोही बेलादेखि अहिलेसम्म पनि विश्वास गरिन्छ कि लखन थापालाई झुण्डाइ मारेको सात दिनकै दिन सिकार खेल्ने क्रममा पत्थरघट्टामा जङ्गबहादुरको रहस्यमय ढंगबाट मृत्यु भयो ।
नेपालका अग्रज ऐतिहासिक पुरुष अमर शहीद लखन थापा मगरको विद्रोहले गर्दा नै जङ्गबहादुरले शासनको राज्यसत्ता खोसी आफैँ राजा बन्ने योजनाले मूर्तरूप लिन पाएन ।
लखन थापाको विद्रोहको कारणले नै राणाहरूले केही मात्रामा भए पनि जनहित कार्य गर्नुपर्यो । लखन थापाको विद्रोहको कारणले राणाहरूलाई युद्धजीवी सैनिक जनजातिप्रति विश्वास नभएको हुँदा पहिलो र दोस्रो विश्वयुद्धमा मगर, राई, गुरुङ, लिम्बूलाई मात्र प्रयोग गरी बहुसंख्यकलाई सुनियोजित तरिकाबाट समाप्त पारिएको थियो ।
केही यस्तै परिस्थितिमा लडिएको धार्मिक लडाइँको उपलब्धि हात लाग्यो शून्य बन्यो । नवयुवकहरू ठूलो संख्यामा विदेशिने क्रम बढ्नाले जनचेतना जाग्न पाएन । राणा शासनको अन्याय कहीँ कतै कमी भएन । व्यक्तित्वको पहिचान चाकरी संस्कृतिले गर्दा पछाडि पर्न गयो ।