काठमाडौँ । श्रमजीवि पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारी अस्पतालमा उपचार गर्दा पत्रकारलाई ५० प्रतिशत छुट दिइने घोषणा सरकारले गरेको थियो ।
उक्त व्यवस्थाको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ । स्वास्थ्य मन्त्रालयले अर्थ र सञ्चार मन्त्रालयका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घलगायत सरोकारवाला सङ्घ संस्था तथा व्यक्तिको सहभागितामा समिति गठन गर्ने गृहकार्य सुरु गरिएको स्वास्थ्यमन्त्री गगनकुमार थापाका निजी सचिव शालिग्राम दाहालले जानकारी दिए ।
“सूचना तथा सञ्चार मन्त्रालयबाट पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिनेबारे चिठी प्राप्त भएको छ, उनले भने –त्यसको कार्यान्वयनका लागि मापदण्ड बनाएर सरोकारवाला निकायको सहभागितामा समिति बनाउने र छलफल अगाडि बढाउने गृहकार्यमा मन्त्रालय लागिपरेको छ ।”
त्यसैगरी मन्त्रालयले ल्याउन लागेको स्वास्थ्य बिमा कार्यक्रममा पनि पत्रकारलाई कसरी लाभान्बित गर्न सकिन्छ भन्नेबारे समेत छलफल भइरहेको र त्यसबारे पत्रकार महासङ्घ, प्रेस युनियन लगायतका संस्थाहरुले पनि चासो देखाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।