arrow

सरकारले टिकटक बन्द गरेपछि सञ्चालक कम्पनीले जनायो असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
TikTok-logo-720.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि त्यसको सञ्चालक कम्पनीले असन्तुष्टि जनाएको छ । सामाजिक सद्भाव खलबलिएको भन्दै सरकारले नेपालमा टिकटक प्रतिबन्ध लगाएकोमा यसको सञ्चालक कम्पनी टिकटकले असन्तुष्टि जनाउँदै नेपाललाई सात बुँदे पत्र लेखेको हो । 

सरकारले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेसँगै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेर आश्चार्य परेको जनाएको छ । 

टिकटकमा अपलोड गरिएका भिडियो हटाउने एक्सेस दिइसकेको अवस्थामा सरकारले यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेर मानिसहरुको खुशी खोसेको भन्दै असन्तुष्टि जनाएको हो । 

मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई पत्र लेखेर टिकटक बन्द गर्न निर्देशन दिएको थियो । 

नेपालमा औपचारिक रुपमा टिकटक बन्द भएपछि टिकटकका दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई पत्र लेख्दै टिकटक बन्दको कारण माग गरेका छन् । 

टिकटकले गत कात्तिक १७ गते नेपालका सरकारी अधिकारीसँग छलफल गरेकोसमेत स्मरण गराएको छ । 

मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएकोसमेत टिकटकले दाबी गरेको छ । सरकारको यो निर्णयबाट टिकटकको प्लेटफर्ममार्फत रचना र खुशी साट्नेहरु प्रभावित भएको जनाएको छ । 

टिकटकले सूचना, शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न सहयोग पुर्याएको भन्दै प्रयोगकर्ताको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको जनाएको छ । टिकटकमार्फत व्यवसाय सञ्चालन गरेकाहरु प्रभावित भएको कम्पनीको दाबी छ । 

टिकटक विश्वव्यापी प्लेटफर्म भएकाले सामाजिक सद्भावको मापदण्डभन्दा बाहिर पर्ने कन्टेन्ट र मानिसका व्यवहारहरू सम्बोधन गर्ने गरेको जनाएको छ । 

टिकटकले नेपालमा टिकटक सञ्चालनका लागि सकारात्मक प्रयासहरू गरेको जनाएको छ । 

टिकटकका प्रतिनिधिहरूले गत कात्तिक १७ गते गृह मन्त्रालयअन्तर्गत साइबर अपराध नियन्त्रण र साइबर सुरक्षाको कमिटीसँग भेटघाट गरेको पत्रमा उल्लेख गरेको छ । 

त्यस्तै गत असोज १८ गते नेपालमा इन्टरनेट सुरक्षा सचेतना सम्बन्धी अभियान चलाउन सहमति पत्रमा हस्ताक्षर गरेको टिकटकले जनाएको छ ।  

‘हामीले नेपाल सरकारलाई गत जेठ २४ गते ९जुन ७० मा नेपालको कानुनद्वारा वर्जित कुनै पनि सामग्री हटाउन सिधै अनुरोध गर्न सकिने पोर्टल, ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टुलको पहुँच दिएका थियौँ । त्यस्तै भदौ १२ गते डिजिटल सर्भिस ट्याक्स पेयरका रूपमा दर्ता पनि गरेका छौँ’, टिकटकले पठाएको पत्रमा उल्लेख गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ