arrow

प्रचण्डको अर्थतन्त्र सुधारको पहलप्रति गगन भन्छन् – ‘एक क्षणको विषय नबनोस्’ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
gagan-thapa-2080-08-06q.jpg

भरतपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले थालेको अर्थतन्त्र सुधारको पहलप्रति समर्थन जनाउँदै यसले निष्कर्ष पाउनु पर्नेमा जोड दिएका छन् । 

नवलपरासीमा आयोजना हुने कार्यक्रममा जाँदै गर्दा भरतपुर विमानस्थलमा संचारकर्मीहरुसँग नेता थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठोस कदम चालेको र यो एक क्षणको नभई निष्कर्ष आउने खालको हुनुपर्नेमा जोड दिएका हुन् । 

उनले भने, ‘हिजोमात्रै प्रधानमन्त्रीले सत्तामा रहेका सबै दलहरु र सत्ता बाहिर रहेका दलहरु, प्रतिपक्षमासमेत रहेका दलहरुलाई राखेर करिब करिब चार घण्टा सिंहदरबारमा पछिल्लो अर्थतन्त्रको बारेमा छलफल प्रारम्भ गर्नुभएको छ । हामीले उहाँलाई के भनेका छौँ भने यो एकपटकको छलफल नहोस् । यसले निरन्तरता पाउनु पर्छ ।’

उनले यसरी प्रधानमन्त्रीले सबैलाई समेटेर छलफल गर्दा विभिन्न संकेत देखा परेको हुन सक्ने शंका पनि व्यक्त गरे । महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीले सत्तामा रहेका दलहरु र त्योभन्दा बाहिरका दलहरुलाई समेत पनि एकैठाउँमा राखेर छलफल गर्नुले दुईओटा कुराको संकेत गर्छ । एउटा हामी कुनै न कुनै समस्यामा छौँ । दोस्रो समस्या छ भनेर सरकार यसलाई सुल्झाउन चाहन्छ ।’

उनले त्यसको परिणाम नआइकन यसै भन्न नसक्ने भन्दै जुन पहल सरकारले गरेको छ त्यो भने सकारात्मक कदम रहेको बताए । उनले भने, ‘हिजो राम्रो छलफल भएको छ । खासगरी पछिल्लो आठ नौ महिनादेखि अर्थतन्त्रमा जुनखालका अप्ठेराहरु देखिएका हुन् त्यसमा केही सुधारका संकेतहरु देखिएको कुरा तथ्यांकले नै बताएको कुरामा छलफल गर्यौँ । खासगरी चाहे त्यो बैंकको ब्याजदर होस् चाहे राजस्वमा आएको सुधार होस् यी कुरा एउटा पक्ष छ । अर्को कुरा साना व्यवसायीहरु ठूलो मारमा परेको देखिन्छ । थुप्रै मानिसहरु जसले सहकारीबाट वा बैंकबाट सानो सानो ऋण लिएर केही कुराको कारोबार गर्ने प्रयास गरेका थिए, इमानदारीको प्रयास गरे । तर बजारमा आएको शिथिलताका कारण चाहँदा चाहँदै पनि उनीहरुले साहुँसमेत ठीक ठाउँमा राख्न नसकेको देखिन्छ । यी सबैकुुरालाई मध्यनजर गरेर हिजो नै सरकारको तर्फबाट केही कुराको संकल्प पनि गरिएको छ ।’

उनले ती संकल्पहरुको उदाहरण दिँदै भने, ‘सहकारीको समस्या ६ महिनाभित्र टुंग्याउँछौँ, त्यसैगरी साना ऋणीहरु जसले बैंकबाट ब्याज लिएका छन् जसले सदूपयोग गरेका छैनन् तिनको बारेमा चिन्ता गर्नुपर्ने आवश्यकता पनि भएन । तर जसले ऋण लिएर सदूपयोग गरेका छन् तर ऋण तिर्न सकेका छैनन् । ऋण त उनीहरुले तिर्नुपर्छ तर ऋण तिर्ने कुरामा यहाँनेर सरकार अभिभावकको रुपमा आउनु पर्छ । उनीहरुले सहुलियत पाउनु पर्छ । उनीहरुले समय बढी पाउनुपर्छ । उनीहरुको जरिबाना माफी हुनुपर्छ लगायतका थुप्रै विषयमा हिजो एउटा राम्रो छलफल भएको छ ।’


उनले आफू पनि उक्त छलफलमा सहभमागी भएको भन्दै सरकारका राम्रा कदममा कांग्रेसको साथ रहने बताउँदै भने, ‘नेपाली कांग्रेसको तर्फबाट म आफैँ सहभागी थिएँ । सरकारले गर्न खोजेका तमाम प्रयत्नहरुमा हाम्रो सतप्रतिशत सहयोग रहन्छ । हाम्रो साथ रहन्छ । हामी के चाहन्छौँ भने यो कुनै कुराकानी गर्ने एक क्षणको विषय नबनोस् । यसले प्रारम्भ गरेको छ । प्रारम्भ गरेको कुराले निरन्तरता पाओस् र एउटा निष्कर्ष आओस् भन्ने हामी चाहन्छौँ । यसमा हाम्रो सहभागीता र साथ पनि रहन्छ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ