'दौरासुरुवाल लगाएकै भरमा पक्राउ गर्ने भए प्रधानमन्त्री र गृहमन्त्रीलाई किन हिरासतमा नलिने ?'
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
1.3k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दौरासुरुवाल कोट लगाएका भरमा पक्राउ गरिने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई किन पक्राउ नगर्ने भन्दै आक्रोश पोखेका छन् ।
आज मेडिकल व्यवसायी दुर्गा प्रसाई समर्थकहरुले तीनकुनेमा विरोध प्रदर्शन गर्ने क्रम चलिरहँदा प्रहरीले दौरासुरुवाल कोट लगाएकै भरमा बाटोमा हिँडेका ८३ वर्षीय खड्गप्रसाद शिवाकोटीलाई नियन्त्रणमा लिएपछि तत्काल रिहाइ गर्न माग गर्दै नेता शिवाकोटीले आक्रोश पोखेका हुन् ।
उनले समाजिक सञ्जालमार्फत ज्येष्ठ नागरिक शिवाकोटीको रिहाइको माग गरेका हुन् ।
यस्तो लेखेका छन् नेता शिवाकोटीले–
‘दौरासुरुवाल कोट लगाएकै भरमा पक्राउ गर्ने हो भने बेला बेलामा दौरा सुरुवालमा देखिने प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठजी तपाईहरुलाई किन हिरासतमा नलिने ? होइन भने दौरासुरुवाल कोट लगाएर बाटोमा हिडेकै भरमा पक्राउ गरिएका ८३ वर्षीय खड्गप्रसाद शिवाकोटीलाई तत्काल ससम्मान रिहाई गर। नागरिकलाई सिष्टमप्रतिको थोरै बाँकी बचेको विश्वास गुम्न नदेऊ ।’
यसअघि शिवाकोटीका छोरा नेपाल आर्चरी संघका महासचिव रमेश शिवाकोटीले सामाजिक सञ्जालमै आफ्ना बिरामी बुबालाई अपहरण शैलीमा सुरक्षाकर्मीले गरेको ज्यादतीको भर्सना गर्दै तत्काल रिहाइ गर्न माग गरेका थिए ।
यस्तो लेखेका छन् रमेश शिवाकोटीले–
‘बाटोमा हिँड्दा दौरासुरुवाल र कोट लगाएर बाटोमा हिँडेकै भरमा मेरो ८३ वर्षको सुगर प्रेस र मुटु रोगी बुबाको अपहरण शैलीमा नेपाल पुलिसले जुन ज्याजती गर्यो यस्को घोर भर्सना गर्दछु तुरुन्त रिहाइ को माग गर्दछु ।'