arrow

नौ नेपाली भारतको सेलर मिलमा बन्धक, एजेन्ट फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
siraha-family-2080-08-15.jpg

सिराहा । सिराहा गोलबजार नगरपालिका ८ चोहर्वाका इनरजित महरा स–साना छोराछोरी, श्रीमती र वृद्धा आमालाई घरमा छोडेर भारत कमाउन गएको तीन महिना बितिसक्यो ।

उनीसँगै गाएका साथीहरु १८ घण्टा काम गर्दा पनि ठेकेदारले दिने यातना खप्न नसकी भागेर घर आइसके । फर्केर आएकाहरुले सुनाएको कहालीलाग्दो यातनाको कथा सुनेको दिनदेखि इन्द्रजितकी आमा ७२ वर्षीया बुधनी महराको आँखा ओभाएको छैन। 

बुधनीले भनिन, ‘साना नानीहरु छोडेर गएका छोराले कमाएर ल्याउला भन्ने आशा गरेकी थिएँ। अहिले छोराको जीवन नै धरापमा परेको छ। सुन्छु त्यहाँ काम गर्ने वातावरण नै छैन। १८ घण्टा काम गर्नु पर्छ। साथीभाइसँग बोल्दा पनि कुटपिट गर्छ। शौचालय जाँदा पनि पाले साथ लगाउने र किल्ला ठोकेको काठले कुटपिट गर्ने गर्छ।’

 साथीहरुसँगै गएका नरहा गाउँपालिका ३ खोरियाका जुग्नु खानकी श्रीमती खात्मा खातुन पनि श्रीमान बन्धक बनाएको खवर सुनेपछि बेचैन छिन्। 

राम्रो  कमाई हुने भनेर गएको श्रीमान बन्धक भएको खवरपछि श्रीमान फर्काईदिन गाउँका अगुवाहरु गुहारी रहेकी छिन्। उनले तपाईंहरुले नै फर्काउन सहयोग गर्न समेत आग्रह गरे। उनी अहिले ३ छोरी र १ छोरा सहित घरमा बसेपनि उनको मन श्रीमान कसरी फर्काउने भन्ने पिरलोमा छन् ।

 उनीहरुसँगै गोलबजार नपा ११ का प्रदिप सदा, इन्दल सदा, गोलबजार ८ चोहर्वाका सोभित उराउँ, इनरजित महरा, सरुण महारा, टेकुवा महतो, नरहा गाउँ पालिका ३ खोरियाका जुग्न खान, समशेर खान, इरसाद, गुलजारसहित २१ जनाको समूहमा भारतको पञ्जाव चामल मिलका काम गर्न गएका थिए। 

पञ्जावस्थित राइस मिलमा मासिक २० हजार भारतीय रुपैयाँ र खाने, बस्ने सुविधा दिने सर्तमा सिरहाकै सुखिपुर नगरपालिका १० का ४० वर्षीय विजय मण्डलले उनीहरुलाई गत भदौको पहिलोसाता भारतको पञ्जाव लगेका थिए। विजयले जाने बेला कतिपय मजदुरलाई घर खर्चको लागि पाँच हजार नगद समेत दिएका थिए । 

दैनिक १२ घण्टा काम गर्ने सर्तमा गएका उनीहरुलाई दिनरात काम गराउने, एकछिन ढिलो गर्यो भने कुटपिट गर्ने, राति सुत्दा पनि बाहिरबाट कुण्डा लगाउने गरेको भागेर घर आउन सफल समिमले बताए। 

उनले भने, ‘१८–२० घण्टा काममा लगाउने, शौचालय जाँदा पनि पालेलाई साथ लगाउने, घरमा फोनसमेत गर्न नदिने,  साथीभाइको फोनबाट फोन गर्दा मोवाईल फोडिदिने र कुटपिट गर्थे। पशुलाई जस्तै व्यवहार गरेपछि हामी भाग्न विवश भयौँ ।’ 

भागेकामध्ये मोहमद मुखतारले दुई तीन दिनदेखि प्लान बनाइरहेका थियौँ । एक दिन राति पानी परेको मौका छोपेर पर्खाल नाघेर भागेका हौँ । भागेको चार दिनसम्म भोक्कै बसेर ट्रेनमा पनि टीटीसँग अनुनय विनय गरेर घरसम्म आयौँ ।’ गएकामध्ये १२ जना भागेर आए पनि इनरजित महरा, जुग्नु खान, सोभित उराउँ, इरसाद खानसहित ९ जना अझै बन्धक नै छन् । 

छोरा बन्धक भएको भन्ने जानकारी पाएपछि इनरजितकी आमा बुद्धनी महरा र सोभित उराकी आमा– बुबा विल्टौनियाँ देवि र भोरील उराउँले अस्थायी प्रहरी पोष्ट, सुखिपुर ७  शिवचौकमा विजय मण्डलको विरुद्ध ठाडो उजुरि दिएका थिए। 

उजुरीपछि कात्तिक १७ गते अभिभावक र विजय मण्डलबीच १० दिनभित्र बन्धक रहेका सबै मजदुरलाई घर ल्याइदिने सहमति भएको थियो। सहमतिपछि विजयलाई सुखिपुर नपा १० का वडा अध्यक्ष देवनारायण यादवको जिम्मामा लगाइएको थियो।   

सहमतिको एक महिना हुन लागे पनि अहिले विजय सम्पर्कमा छैनन् । प्रहरीले लामो समय सम्पर्कमा नआएपछि पटक–पटक घरमा गएर खोजीरहेको बताएको छ। तर, प्रहरीले खोजिरहेको भने पनि कहिलेकाहिँ गाउँघरमा देखिने गरेको विजयकै एक छिमेकीले बताए ।
 
जिम्मा लिएका वडा अध्यक्ष यादवसँग बुझ्दा उनले सहमति भएको दिनदेखि आफ्नो विजयसँग भेट नभएको बताए। उनले भने, ‘विजयले १० दिनभित्र सवै मजदुरलाई घर ल्याईदिन्छु भनेका थिए, त्यसपछि सम्पर्क भएको छैन, के भएको रहेछ म बुझ्छु।’ 

फर्केर आएकाहरुले ओहान ओभरसिज जस्टिन लेखिएको कम्पनीमा बन्धक बनाएर राखेको बताए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ