arrow

मेलम्चीको पानी माग्दा प्रहरीले गर्‍यो लाठीचार्ज

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
melamchi-water-demand.jpg

काठमाडौँ । मेलम्ची खानेपानी संघर्ष समितिले तत्काल धाराधारामा मेलम्चीको पानी पठाउन सरकारलाई माग गरेको छ । 

सरकारले धारा राखिदिने तर पानी भने नछाड्दा समस्यामा परेको भन्दै कोटेश्वरवासीले मेलम्ची खानेपानी तुरुन्त खोल्नुपर्ने, मेलम्चीमाथि सरकारले गरेको आर्थिक राजनीतिक चलखेल बन्द गर्नुपर्ने लगायतका माग राखेका छन् । 

सरकारले आफूहरुमाथि अन्याय गरेको भन्दै संघर्ष समितिले कोटेश्वरदेखि तीनकुने हुँदै अगाडि जुलुस लिएर जाँदा प्रहरीले तीनकुनेमै रोकेको थियो । 

सो क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ । केहीका हात र केहीका खुट्टामा चोट लागेको छ । प्रहरीले हातपात गर्दा सीता कँडेल पराजुली घाइते भएको संघर्ष समितिका सदस्य निलकण्ठ गौतमले बताए । उनका अनुसार संघर्ष समितिका संयोजक गोविन्द पन्तको छातीमा प्रहरीले हानेको छ । 

संघर्ष समितिका सदस्यहरु नारायण गिरी, रीता श्रेष्ठ, पूर्व प्रजिअ सुरेन्द्र पौडेल, बैंकका पूर्व सीईओ राममणि अधिकारी, रामभक्त थापालगायत ठूलो संख्याले सडकमा उत्रिएर सरकारसँग पानी मागेको हो । 

प्रहरीले तीनकुनेबाट अगाडि बढ्न नदिएपछि सोही स्थानमै कार्यक्रम आयोजना गरिएको थियो । 

वक्ताहरुले जलस्रोतको दोस्रो धनी देश पनि भन्ने अनि पानी पनि नदिएर सरकारले आफूहरुलाई हेपेको बताए । 

७० अर्ब खाएर पानी नदिने भन्दै उनीहरुले आक्रोश पोखेका थिए । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरुले हस्तक्षेप बन्द गर्न आग्रह गरेका थिए । 

काठमाडौँका ४० लाख जनतालाई पानी नदिएको भन्दै आफूहरुको नैसर्गिक अधिकारमाथि हनन भएकोसमेत उनीहरुले बताए । 

वक्ताहरुले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म सबैलाई पानी चाहिने अनि जसले उनीहरुलाई त्यहाँसम्म पुर्यायो तिनीहरुलाई पानी नभए पनि हुन्छ ? भन्दै प्रश्न गरेका थिए । 

आन्दोलनकारीले थाल, गाग्री, जर्किन बोकेर आएका थिए । सहभागीमा अधिकांश महिलाहरु थिए । 

मेलम्चीको पानी काठमाडौँ महानगरपालिकामासमेत पुगेको छैन । महानगरपालिकाको वडा नम्बर ३२ का अधिकांश भागमा पाइपसमेत बिछ्याएको छैन । 

महानगरपालिकामा बसे पनि पीडितहरुले कि त किनेर र कि त जमीन मुनिको पानी तानेर खाइरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ