- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कावासोती । मारुनी नाचका अगुवा बुलिङ्गटार–४ का मनबिर पुलामी उमेरले ५६ वर्ष कटिसके तर उनको मारुनी नाच्ने र गाउने मोह भने युवा पुस्ताकै जस्तो छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन पुलामी पुग्छन् ।
आफूले जाने बुझेदेखि बाउबाजेका साथ मारुनी देखाउन थालेको बताउँदै पुलामीले गाउँमा रहेका युवाहरुलाई पनि आफूसँगै लिएर हिँडने गरेको बताए । गाउँमा उनको अगुवाइमा मारुनी नाच समूह गठन गरिएको छ । गाउँमा विभिन्न चाडपर्व तथा पारिवारिक हर्ष बढाइमा उनकै नेतृत्वको समूहले मारुनी नाँचलाई निरन्तरता दिँदै आएको छ ।
पछिल्लो समय युवा पुस्ता अध्ययन तथा रोजगारीको सिलसिलामा गाउँ छोडेर बाहिर रहेको अवस्थामा नवलपुरको बुलिङ्गटार – ४ देउरालीका पाका पुस्ता भने मगर समुदायमा परापूर्व कालदेखि चल्दै आएको मारुनी नाचको संरक्षणमा युवा सहितको समूह बनाएर जुटेका हुन् ।
गाउँमा मारुनी नाँच देखाउँदा ७० देखि ८० जनासम्मको सहभागिता रहने अध्यक्ष पुलामीले बताए । विगतका वर्षहरुमा मारुनी नाचमा युवाको सहभागिता निकै कम हुने भएको पनि अहिले आएर मारुनी देखाउने समूहमा युवापुस्ताको बाक्लो सहभागिता हुने गरेको उनले बताए ।
“पोहोर पोहोर ७०–८० जनामा मुस्किलले १५–२० जना युवा हुन्थे अहिले विस्तारै यो संख्या बढेको छ, अहिले आधाआधी संख्यामा युवा पुस्ता सहभागी हुन्छ्न्”, उनले भने । आफूले १८ वर्षको उमेरदेखि मारुनी नाच्न सिकेका पुलामीले पुराना पुस्ताको सहयोगमा युवा पुस्तालाई सिकाउने गरेका छ्न् ।
देउरालीको यो मारुनी नाच समूह आजकल गाउँमा मात्रै छिमेकी गाउँ तथा नवलपुरको पारी रहेको तनहुँ लगाएका विभिन्न गाउँहरुमा मारुनी नाच्न जाने गरेका छन् ।
देउराली गाउँ मात्रै नभएर अहिले अर्खला लगाएतका गाउँहरुमा पनि समूह बनाएर मारुनी संरक्षणमा पाका र युवा पुस्ता जुट्ने गरेका बुलिङ्गटार–४ का वडा अध्यक्ष मिनबहादुर आलेले बताए ।
मारुनी नाच दशैँ तिहारमा शुरु गर्ने नृत्य भए पनि कतै भने तीजदेखि नै शुरु हुन्छ । प्रायः स्थानमा दशैँको कालरात्रिदेखि यो नाच शुरु हुन्छ । देउरालीका मगर समुदायले दशैँको कालरात्रिदेखि देवी देवताको पूजा गरेर मारुनी नाँच्न शुरु गर्ने गरेको मारुनी नाच समूहका अध्यक्ष पुलामीले बताए ।
उनका अनुसार मारुनीका गीतमा कृष्ण चरित्रको कथालाई गीति लयमा प्रस्तुत गर्ने गरिन्छ । बडा दशैँको अष्टमीको कालरात्री शुरु भएर नवमी, दशैँको टीका र टीकाको भोलिपल्टसम्म नाच देखाउने गरिन्छ ।
लगत्तै तिहारको समयमा तिहारे औँशीको दिनबाट फेरि मारुनी नाँच देखाउन शुरु गरिन्छ । औशीको दिन भरि गाउँका घर घरमा गएर मारुनी नाच देखाइने र घरबेटीले कार्तिक दान दिने उनले बताए ।
मारुनी समूहलाई कार्तिके दान दिए रोगब्याधी नलाग्ने, ग्रहगोचर राम्रो हुने मगर समुदायमा जनविश्वास रहेको उनले बताए । तिहारको टीकाको भोलिपल्टसम्म नाच देखाउने र त्यसपछि गाउँबासीका घरमा हुने पूजाआजा, न्वारन, छेवर, विवाह जस्ता हर्षबढाईका अवसरमा मारुनी देखाउन जाने गरेको उनले बताए ।
दशैँको कालरात्रीबाट शुरु गरिएको मारुनी नाच मंसिर महिना सकिएसँगै अर्को वर्षको बडा दशैँको कालरात्रि सम्मका लागि रोकिने पुलामी बताउँछन् । विशेष गरेर सरस्वतीको पूजा गरेर शुरु गरिने नाच सरस्वतीको पूजा गरेरनै समापन गर्ने गरिन्छ ।
मारुनी नाचमा कम्तीमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुरसिङ्गे तथा छदेखि १० सम्म गायक हुन्छन् । गायकमध्ये एक गुरु हुन्छन् । गुरुले गीत झिकेपछि अन्य कलाकारले छोप्ने र नाच्ने गरिन्छ ।
गीत निकाल्ने गुरुलाई ‘रौरा’ पनि भनिन्छ । ‘मारुनी’ नै नृत्यको मुख्य पात्र हुन् । मारुनी मादलेको तालसँगै अगाडि–पछाडि घुमेर नाच्छन् ।
महिलाको वेशभूषामा सजिएर एकपटक मारुनी बनिसकेपछि नाचको पूरा अवधिसम्म मारुनी बदलिन पाउँदैनन् । एउटा गीत पूरा नहुँदासम्म नाचिरहनुपर्दछ ।
मारुनीसँगै पुरसिङ्गे पनि नाच्छन् । पुरसिङ्गेले महिलाको कपडा लगाएको हुँदैन । मारुनीकै हाउभाउमा ताल मिलाउँदै सँगसँगैजसो पुरसिङ्गे नाच्ने गर्दछन् । पुरसिङ्गे फेरबदल हुन सक्छन् ।
मारुनी नाचमा मादल, झ्याली, मृदुङ्गालगायतका विभिन्न वाद्यवादनका सामग्री आवश्यक पर्छ ।