arrow

पूर्वराजा ज्ञानेन्द्रबाट पृथ्वीनारायणको शालिक अनावरण

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८० पुष १४ शनिबार
xking-gyanendra-2080-09-14.jpg

कपिलवस्तु । पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराजनगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको नेपाल एकीकरणका पिता पृथ्वीनारायण शाहको जंगी शालिकको अनावरण गरेका छन् । 

पश्चिमी जिल्लाहरुको भ्रमणमा रहेका उनले शिवराजन नगरपालिका २५ लाख रुपैयाँको लागतमा निर्माण गरेको शालिक रातो ब्यानर उघारेर अनावरण गरेका हुन् । 

सो क्रममा पूर्व राजा शाहले त्यहीँ झन्डोत्तोलनसमेत गरेका थिए । भैरहवामा रहेका शाह आफ्ना नाति हृदयेन्द्रलाईसमेत सँगसँगै ल्याएका थिए । 

भैरहवादेखि बहादुरगञ्जसम्मको हुलाकी बाटो हुँदै उनी दिउँसो ३ बजेतिर खैरेन्द्रपुर पुगेका थिए । 

खरैन्द्रपुरस्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्धारा आश्रममा पुजापाठपछि उनले पितापुर्खाको शालिक अनावरण गरेका हुन् । पूजापाठका क्रममा बटुकहरुले स्वस्ति वाचन गरेका थिए । 

पूर्वराजा शाहले नागरिक अभिनन्दनसमेत ग्रहण गरेका थिए । पूर्वराजा शाहलाई आयोजकले मायाको चिनोसमेत प्रदान गरेका थिए । 

पूर्वराजा र हृदयेन्द्रलाई हेर्न खैरेन्द्रपुर चोकमा भीड लागेको थियो । आधा घन्टाको बसाइपछि उनी भैरहवा फर्केका थिए । 

नगरपालिकाकोले आयोजना गरे पनि सो कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका तर्फबाट निर्वाचित जनप्रतिनिधि भने सहभागी थिएनन् । 

राप्रपाको तर्फबाट मेयरमा निर्वाचित अजय थापाको विशेष पहलमा त्यहाँ पृथ्वीनारायण शाहको शालिक निर्माण भएको हो । 

पूर्वराजा शाहलाई जिल्लाको दोहनी, गैडाहवा, बहादुरगञ्ज लगायतका स्थानमासमेत स्वागत गरिएको थियो । 

कार्यक्रममा राजतन्त्रको पक्षमा नाराबाजीसमेत गरिएको थियो । मेयर थापाले पूर्वराजा स्वर्गीय वीरेन्द्र शाहको जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले शालिक अनावरण गर्नु आफैँमा ऐतिहासिक क्षण रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ