arrow

नवलपुरमा बाघ आतंक

logo
सन्जय भट्टराई,
प्रकाशित २०८० पुष १८ बुधबार
1704199964901(2).jpg
तस्बिर : जिल्ला प्रहरी कार्याल्य नवलपुर

कावासोती । नवलपुरमा विगत केही दिन देखि बाघको आतंक फैलिएको छ । गत पौष ८ गते विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ को खहरे जङ्गलमा घाँस काट्न गएका एकै घरका सासू बुहारी मनादेवी पौडेल र विष्णु पौडेलको बाघको आक्रमणमा परेर ज्यान गएको हप्ता दिन नबित्दै मंगलबार हुप्सेकोट-४ शंखदेवको समिडाँडा जङ्गलमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा स्थानीय हरि भुसालको ४ वटा बाख्राको मृत्यु भएको छ ।

विनयीत्रिवेणीको घटनाको सुरुमा जङ्गली जनावरको आक्रमणबाट भएको प्रहरीले बताएको थियो । पोस्टमार्टम रिपोर्टका अनुसार उक्त घटना बाघको आक्रमणबाट भएको देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदबहादुर पौडेलले बताए ।

बाघको आक्रमण बढ्दै जाँदा पूर्व पश्चिम राजमार्ग भएर दुई पाङ्ग्रे साधनमा यात्रा गर्ने यात्रु, सामुदायिक वनका वन हेरालु, सालको पात टिपेर गुजारा गर्ने तथा नजिकैको वनमा गाईबस्तु चराउन जाने आम सर्वसाधारणमा भने त्रासको अवस्था सृजना भएको छ ।

लगातार रूपमा बाघको आक्रमण बढिरहँदा विनयीत्रिवेणीमा आक्रमण गर्ने बाघ र शंखदेवमा बाख्रा मार्ने एउटै हो या फरक फरक हो भन्ने निष्कर्षमा पुग्न नसकिएको डिभिजन वन कार्यालय नवलपुरका निमित्त प्रमुख सूर्यसिंह गुरुङले बताए । “हामीले चितवन राष्ट्रिय निकुञ्जको सहकार्यमा ट्यापिङ्ग क्यामेरा राखेर बाघको अनुसन्धान सुरु गरेका छौँ, बाघ क्यामेरामा परेको छैन, क्यामेरा बाहेक केही पर पाइला स्पट भएका छन्”, गुरुङले भने, “आज बाख्रा खाने बाघ र विनयीत्रिवेणीको मान्छे मार्ने बाघ एउटै हो या होइन निधो छैन ।”

बाघ क्यामेरामा नदेखिए पछि क्यामेराको ठाउँ परिवर्तन गरे पनि क्यामेरामा नदेखिएकाले कस्तो प्रकृतिको बाघ हो भन्ने पहिचान भई नसकेको गुरुङले बताए । बाघ देखिएपछि एक्ला एक्लै वन प्रवेश नगर्न, प्रवेश गर्नै परे समूह बनाएर प्रवेश गर्न र रातिको समयमा यात्रा गर्दा सचेत हुन गुरुङले आग्रह गरे ।

आफ्नो नियन्त्रण क्षेत्र बाहिर बाघले घटना घटाएको भए पनि बाघको अवस्था पत्ता लगाउन निकुञ्जले डिभिजन वनको आग्रहमा क्यामेरा जडानको काममा सहयोग गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले बताए । “बाघ एकै दिनमा ८ किलोमिटर बढी हिँड्ने गर्छ, यताको बाघ उता जान्छ, उताको यता आउला वन्यजन्तु जोगाउने सबैको कर्तव्य हो, मानवीय क्षति हुन नदिएर बाघ लगायतका वन्यजन्तु जोगाउन हामी प्रतिबद्ध छौँ”, तिवारीले भने ।

विगत ३ वर्ष देखि विनयीत्रिवेणी क्षेत्रमा बाघले मानवीय क्षति गराउँदै आएको तर बाघ नियन्त्रणमा डिभिजन वन र निकुञ्जले खासै चासो नदिएको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी बताउँछन् । गत पौष ८ गते बाघको आक्रमणमा सासू बुहारीको ज्यान गए पछि निकुञ्ज र डिभिजन वनका अधिकारी बोलाएर छलफल गरेको बताएका गिरीले बाघ लखेट्न जनता जाग्न पर्ने अवस्था आए त्यो गम्भीर हुने बताए ।

“मैले निकुञ्जका सहायक वार्डेन, डिभिजन वनका कर्मचारी सहित छलफलमा भनेको छु, तपाईँहरूको बाघ नियन्त्रण गर्नुस् सक्नु हुन्न भने जनताले गर्छन्, त्यसपछिको असहज परिस्थितिको जिम्मेवारी निकुञ्ज र डिभिजन वनले लिनु पर्छ”, गिरीले भने ।

बाघले आक्रमण गरेर पशुधन र मानवीय क्षति पुर्‍याए पछि आफूहरूले आक्रोशित स्थानीयलाई तत्काल सम्झाई बुझाई गरेको भए पनि पटक पटक बाघको आतंकले जनता चुप लागेर बस्ने अवस्थामा नरहेको र त्यसपछि आउने परिस्थितिको जिम्मेवार निकुञ्ज र डिभिजन वनले लिनुपर्ने उनको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ