arrow

एकै पटक छ संसदीय समितिको बैठक बस्दै, यी हुन् छलफलका विषय

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै छ । 

आज बिहान साढे ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डको वार्षिक कार्यक्रम, हाल भइरहेका कामकारबाही र आगामी कार्य योजना सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे नै बस्ने उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हालसम्म भए गरेका कामकारबाहीको अवस्था, खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य वस्तुको मौजुदा अवस्था, माग र आपूर्तिको अवस्था, दुर्गम क्षेत्रमा वितरणको अवस्था, किसान र उद्योगहरूबाट उत्पादन भएका अत्यावश्यक वस्तुको खरिद गर्ने र भण्डारण गर्ने सम्बन्धमा, जनशक्ति व्यवस्थापन, चालु आ.व.को वार्षिक बजेट, कार्यक्रम र भावी कार्य योजना लगायतका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, सचिव र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल हुनेछ । साथै प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रबाट भए गरेका कामकारबाही, देखिएका समस्या, र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा खानेपानी मन्त्रालय; गृह मन्त्रालय; ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय; परराष्ट्र मन्त्रालय; भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; वन तथा वातावरण मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको नागरिकता तथा कानुनी अधिकार सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै आज बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नगरपालिका राष्ट्रिय महासङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ र माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानुनी व्यवस्था (प्रत्यायोजित विधायन) र सरकारी आश्वासन कार्यान्वयनका सम्बन्धमा छलफल हुनेछ ।



नयाँ