arrow

संसदीय समितिमा शिक्षकहरू भन्छन्- ‘हाम्रो जागिर जोगाइदिनुहोस्’ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १९ बिहिबार
sikchak-samiti.jpg

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा साबिक उच्च माध्यमिक तहमा अध्यापन गराउने शिक्षक तथा विद्यालय कर्मचारीहरूले आफूहरूको जागिर जोगाइदिन आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै माध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष टिकाप्रसाद न्यौपानेले साबिक उच्च माध्यमिक तहमा अध्यापन गराउने शिक्षकहरूको जागिर जोगाइदिन आग्रह गरेका हुन् । उनले साबिक उच्च माध्यमिक तहमा अध्यापन गराउने शिक्षकहरूलाई तत्कालीन समयमा लाइसेन्स बिना नियुक्त गरेको भए पनि अहिले आएर लाइसेन्स खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे । 

उनले अहिले स्थानीय तहहरूले जबरजस्त लाइसेन्स ल्याउन न नल्याएको खण्डमा बर्खास्ती समेत गर्ने धम्की दिन थालेकाले त्यस्ता शिक्षकहरूको जागिर जोगाइदिन नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घलाई आग्रह गरे । 

उनले शिक्षकहरूको आत्महत्या गरेको खबर आउन सक्ने भन्दै यसतर्फ सचेत समेत गराए । उनले शिक्षक महासङ्घले छुट लाइसेन्सको सम्बन्धमा सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने पनि बताए ।

उनले भने – ‘११-१२ को द्वितीय श्रेणीलाई कहाँ राख्नुहुन्छ ? दरबन्दीमा लाने, सेकेन्ड क्लासमा लानुपर्‍यो नि । तलब, भत्ता खाइरहनु भएकै छ । अन्याय हुँदैन ? तृतीय श्रेणी भनेर? कहाँनिर एडजस्ट गर्ने हो यो गर्नुपर्‍यो । किनभने साबिक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरू शिक्षा ऐनको आठौँ संशोधनको दफा ३९ अनुसार मा.वि. द्वितीय श्रेणीमा शिक्षक भएका हुन् । नेपाल सरकारसँग साउन १ गते हामीले गरेको सम्झौतामा पनि यो कुरा व्यवस्था गरेर जाने भन्ने छ । शिक्षक महासङ्घसँग पनि छ । लाइसेन्ससँग सम्बन्धित कुरा पनि शिक्षक महासङ्घसँग, छुट लाइसेन्ससँग सम्बन्धित व्यवस्था ऐनमा व्यवस्था गरेर जाने भन्ने छ । म पालिका महासङ्घका साथीहरूसँग हार्दिक अनुरोध गर्छु, यी साथीहरूको जागिर जोगाइदिनुहोस् । आज आत्महत्या गरेर मरे भनेर खबर नआओस् । म तपाईँहरूलाई पठाइदिन्छु समाचार, कसैले बन्दुक बोक्ने फोटो हालिराखेको छ । कसैले के गर्ने फोटो हालिराखेको छ । अनि हाम्रो संयन्त्रले काम नगर्ने ?’

त्यस्तै, बैठकमा बोल्दै माध्यमिक विद्यालय शिक्षक युनियनकी सह अध्यक्ष कल्पना पनेरुले स्थानीय तहहरूले सामुदायिक विद्यालयहरूलाई नजिकबाट हेर्नुपर्ने बताइन् । उनले माध्यमिक विद्यालयहरूलाई व्यवस्थित गर्न आग्रह समेत गरे । उनले व्यक्ति हेरेर शिक्षक नियुक्ति गर्ने कारणले गर्दा शिक्षा क्षेत्र तहसनहस भएको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताइन् ।

बैठकमा बोल्दै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गङ्गाराम तिवारीले विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गर्नुपर्ने बताए । उनले विद्यालय कर्मचारीहरूलाई आन्तरिक रूपमा स्थायी प्रक्रियामा लगेर शिक्षक सरहको सेवा, सुविधा प्रदान गर्न माग गरे ।

अध्यक्ष तिवारीले विद्यालय कर्मचारीहरू स्थानीय तहको मातहतमा जान पनि तयार रहेको उल्लेख गरे । उनले सङ्घ सरकारले दरबन्दी स्वीकृत गरे स्थानीय तहमा जान पनि सकिने धारणा राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ