arrow

राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लब विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
volleyball.jpg.jpeg

कञ्चनपुर । तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली पुलिस क्लब विजयी भएको छ ।

महेन्द्रनगरस्थित खुला मञ्चमा आजदेखि सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३-० ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीमाथि पुलिसले एकतर्फी जित निकालेको हो । 

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल सङ्घको समन्वय व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा पहिलो दिन चार खेल हुने कञ्चनपुर भलिबल सङ्घका सचिव उत्तम विष्टले जानकारी दिए । त्यसैगरी दोस्रो खेलमा एपिएफ र मधेस प्रदेशले प्रतिस्पर्धा गर्दैछन् ।

“प्रतियोगिताको पहिलो दिनको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती भिड्दा अन्तिम खेलमा कर्णाली र सुदूरपश्चिम प्रतिस्पर्धा गर्नेछन”, विष्टले भने, “दिनमा चार वटा खेल हुनेछन्, आज पहिलो दिन दुई खेलपछि प्रतियोगिता परराष्ट्रमन्त्री एनपी साउदलले उद्घाटन गर्ने कार्यक्रम छ ।” 

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा एक सय ५० खेलाडी, प्रशिक्षक र व्यवस्थापक रहनेछन् । त्यसैगरी प्रतियोगितामा एक अन्तराष्ट्रिय, १२ राष्ट्रिय र १२ प्रदेशका रेफ्रीहरुको सहभागिता छ । 

प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः रु चार लाख, रु दुई लाख र रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले जानकारी दिए ।
 
“प्रतियोगिताको सेमिफाइनलदेखिका चार खेलमा रु पाँच हजारका दरले ‘म्यान अफ द म्याच’को पुरस्कारको व्यवस्था मिलाइएको छ”, भट्टले भने, “प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार पुरस्कार प्रदान गरिनेछ ।” 

उनले प्रतियोगितामा विभिन्न छ विधामा जनही रु १०/१० हजारका दरले पुरस्कार प्रदान गरिने बताए । प्रत्येक दिन प्रतियोगिताका चार खेल र अन्तिम दुई दिनमा दुई खेल हुनेछन् । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ