- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कावासोती । नवलपुर मध्यविन्दुका विष्णु अधिकारी नारायणी नदिमा नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गर्छन् । आफ्नो जीवनको अढाई दशक बढि लामो समय जैविक विविधता संरक्षणमा खर्चिएका अधिकारीको मानसपटलमा नारायणीको बगरमा घडियाल गोहीले घाम तापेको दृश्य आज पनि ताजै छ । दैनिक रुपमा हुने मानवीय गतिविधिसँगै नदी प्रदूषण हुँदा दुर्लभ घडियालको संख्या कम हदै गएकोमा आफू चिन्तित बनेको उनले बताए । ‘नारायणीको पुलदेखि तल त्रिवेणी सम्म नदी छेउको बगरमा बाक्लो रुपमा घडियाल गोही देखिन्थे । निकुञ्जले अण्डा संकलन गर्थ्यो ।’ अधिकारीले भने । निकुञ्जको सहकार्यमा दर्जनौ पटक घडियालको अण्डा संकलनमा हिडेको सम्झिदै आजभोलि घडियाल मात्रै होइन घडियालको आहारा माछा पनि देखिन छाडेको उनी बताउछन ।
भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढ र भरतपुरको ढल सोझै नारायणी नदीमा मिसाइँदै आएको छ जुन जलचरका लागि निकै हानिकारक मानिन्छ । त्यो बाहेक नवलपुरको उत्तर तथा दक्षिण भेगम क्षेत्रमा रहेका अधिकांश बजार, उद्योग कलकारखानाका फोहोर तथा ढल कुनै न कुनै माध्यम हुदैँ लगेर नारायणीमा मिसाउने गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मानवीय चाप बढेसँगै बढेको प्रदूषणका कारण यस क्षेत्रमा गोहीको संख्यामा कमी हुदैँ गएको हो । पहिले पहिले सो क्षेत्रसँगै कालीगण्डकी नदीमा पनि अण्डा संकलन गर्ने गरिएको भए पनि अहिले हराएर गएको उनले बताए । अतिसंकटापन्न मानिएको घडियाल संरक्षण गर्न चितवनको कसरामा वि.स २०३५ देखि गोही प्रजनन केन्द्र स्थापना गरि गोहीको प्रजनन गराएर ४५ वर्ष यता नारायाणी, राप्ती सहित देशका विभिन्न नदी तथा चिडियाखानामा एक हजार आठ सय ६२ वटा गोही छोडिएको निकुञ्जले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । त्यसमध्ये राप्ती र नारायणी नदीमा मात्रै एक हजार पाँच सय ६१ गोही छाडिएका थिए । यती ठूलो सङख्यामा घडियाल नदिमा छोडिएका भए पनि अहिले घडियाल निकै कम देखिने गरेको संरक्ष्णकर्मी विष्णु अधिकारीले बताए ।
चितवन राष्ट्रिय निकुन्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र, सौराहाको संयुक्त टोलीले पुस १ गतेदेखि १५ गतेसम्म नदीको अनुगमन गर्ने क्रममा राप्ती र नारायणी नदीमा २ सय ६५ घडियाल गोही भेटिएका हुन । नारायणी नदीमा भेटिएका एक सय १३ घडियाल गोही मध्ये ३ वटा भाले र राप्तीमा नदीमा भेटिएका एक सय ५२ मध्ये ३ वटा भाले रहेको सहायक संरक्षण अधिकृत तिवारी बताउछन । गत वर्ष भन्दा नारायणी र राप्तीमा २६ वटा गोही धेरै देखिएको भए पनि नदि प्रदुषण र मानवीय गतिविधीका कारण गोहीको बासस्थान र आहारमा क्षती पुग्दै गएकाले घडियाल संरक्षणमा चुनौती थपिदै गएको प्रति संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन ।
नारायाणी नदिमा वर्षायाममा आउने भेलमा घडियाल बगेर त्रिवेणी बाध पारी पुग्नु पनि घडियाल कम हुनु अर्को प्रमुख कारण रहेको संरक्षणकर्मी डिबी चौधरीले बताए । “वर्षामा आउने बाढीमा बगेर गोही बगेर त्रिवेणी भन्दा तल पुग्छन र फर्कन सक्दैनन, यसैले पनि नेपाल तर्फको नारायणी र राप्तीमा गोही कम देखिएको हुन सक्छ”, चौधरीले भने । त्रिवेणी देखि तल भारत तर्फ नेपालबाट बगेर गएका घडियाल धेरै रहेको र उनीहरु फर्केर नेपाल तर्फ भने आउन नसक्ने उनले बताए । पानी भित्र रहेको ढुंगामा लाग्ने खैरो र हरियो लेउ माछालगायत जलचरले खाने भए पनि अहिले पानीभित्र ढुंगाको कमी हुनाले घडियालको मुख्य आहारा माछाको कमि हुदाँ घडियाल समेत कम हुदैँ गएको उनको भनाइ छ । “पानीभित्र ढुंगामा लागेको लेउ र माछाको भुँडीको स्वाद उस्तै तीतो हुन्छ । यसको अर्थ माछा जस्ता जलचरको एउटा आहारा लेउ पनि हो”, चौधरीले भने । त्यस्तै नदीका छेउमा बगाएर ल्याइएका रुख, मुढा मान्छेले लगिदिँदा जलचरले गुँड लगाउन र बस्न नपाएको उनको भनाइ थियो । माछा मार्नेहरुको तियारी जालमा परेर गोही मर्ने देखि लिएर चितवनको देवघाट देखि नवलपुरको त्रिवेणी सम्म विभिन्न स्थानमा दिनहुँ ठूलो संख्यामा शव दहन गरिँदा कोइला, धुवाँलगायतले बालुवा र नदीभित्र पनि प्रदूषण बन्ने गरेको र त्यसको प्रभाव प्रत्यक्ष रुपमा गोही जस्ता जलचरमा पर्ने गरेको यसको असर घडियाल लगाएतका जलचरमा पर्ने गरेको चौधरीले बताए ।
पुस र माघ महिनामा धेरै जाडो हुने भएकाले घडियालहरु घाम ताप्न बाहिर किनारमा निस्कने हुदाँ यहि समयमा घडियालको अनुगमन र गणना गर्ने गरिन्छ । फागुन महिना लागे सँगै बिस्तारै नदिमा पानीको बहाव पनि बढदै जान्छ र घडियालहरु पनि बिस्तारै अन्डा पार्ने सुरक्षित स्थानको खोजीमा लाग्छन । उनीहरुले चैतको अन्तिम देखि वैशाख महिनामा अनुकुल वातावरणमा नदि किनारको बालुवामा गुँड बनाएर अन्डा पार्ने गर्दछन । नदि किनारको बालुवामा घडियालले पारेका अन्डा संकलन गरेर निकुञ्जको कसरा स्थित गोही प्रजनन केन्द्रमा लगेर आवश्यक तापक्रममा राखेर बच्चा निकालेर वर्षेनी नारायणी, राप्ती सहित देशका विभिन्न नदिमा छोडने गरिन्छ । यसरी कृत्रिम रुपमा पोखरीमा हुर्केका घडियालका बच्चा नदिको पानी घुलमिल हुन नसक्दा सानो भेलले पनि बगाउने बगाएर भारत पु¥याउने गरेको चौधरीले बताए । त्यो बाहेक पोखरीमा हुर्किएका बच्चा आहारा समात्न समेत अभ्यस्त नहुने हुदाँ आहाराको कमिले कतिपय घडियालका बच्चाहरु व्यस्क नहुदैँ मर्ने गरेको चौधरी बताउछन ।
नदि किनारमा मानविय गतिविधी सँगै नदिजन्य पर्दाथको दोहनका कारणले नारायणी राप्ती लगाएतका नदिमा घडियालको बासस्थानमा समेत असर परेकाले घडियाल संरक्षणमा चुनौती थपिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले बताए । निकुञ्जको क्षेत्राधिकार भित्र बासस्थान नबिग्रने गरि अध्ययन गरेर नदि जन्य पदार्थ निकाल्न दिने गरिएको भए पनि निकुञ्जको क्षेत्राधिकार बाहिर नदिजन्य पदार्थ उत्खनन घडियाल संरक्षणका लागी चुनौती बन्ने गरेको उनको भनाई थियो । नदि प्रदुषण र नदिजन्य पदार्थको उत्खन्नको विषयमा भरतपुर महानगरपालिका लगाएतका सरोकारवालाहरु सँग समन्वय गरिएको भए पनि नतिजा खासै सुखद आउन नसकेको उनको भनाई थियो ।
घडियालको घर अर्थात् वासस्थान भनेको नदी र यसले बनाएका बालुवाका ढिस्काहरू नै हुन् । विगत केही वर्षदेखि लुकिछिपी नारायणी नदीको बगरमा प्लाष्टिकको ओत, छाप्रो बनाई माछा मार्ने समुदायहरूबाट बालुवाका ढिस्काहरूसमेत ओगट्नाले जाडोयाममा घडियालले घाम ताप्न एवं प्रजनन र अन्डा पार्नसमेत अवसर नपाउने भएकाले कहिलेकाहीँ पानीमा समेत अन्डा पार्ने गरेको भेटिएको संरक्षणकर्मीहरु बताउछन । पानी संरक्षण र शुद्धीकरण गर्ने नदीजन्य पदार्थ जस्तैः बालुवा, गिटी र ढुंगा उत्खननमा कडाई गर्ने, नदीले बगाएर ल्याएका पानीभित्रका रूखहरूसमेत संकलन गर्न रोक लगाउने तथा र प्लाष्टिकजन्य फोहोरहरू नदीमा फाल्न रोक लगाईएन भने जलचरहरूको वासस्थान तथा खाद्य आहार सञ्जालमा समेत प्रतिकूल असर पर्ने मात्रै होईन घडियाल लगाएतका जलचरहरुनै लोप हुन सक्ने चिन्ता संरक्षणकर्मीहरुले व्यक्त गरेका छन ।