arrow

वार्षिक दुई लाख घाटामा रहेको उद्योग वाणिज्य महासंघ कसरी बन्यो ‘धनीहरुको संस्था’ ?

logo
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
Maheshlal-Pradhan.jpeg
काठमाडौं । आजको नेपाल उद्योग वाणिज्य महासंघको इतिहास खोज्दै जाने हो भने नेपालमा पहिलोपल्ट प्रजातन्त्र प्राप्त भएको समयसम्म पुग्न सकिन्छ ।  वि सं. २००७ सालदेखि सुरु भएको वाणिक मण्डल भन्ने संस्था देखि २००८÷०९ सालतिर अखिल नेपाल व्यापार संघको नामहुँदै २००९ सालदेखि नै नेपाल चेम्बर अफ कमर्स नामक आर्थिक संस्थाको गठन भयो । त्यसैको विकास हुँदै वि सं. २०२२ सालमा अहिलेको महासंघको उदय भएको हो । 
 
नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य संघको हैसियतमा सुरूभएसँगै पहिलेको स्वर्णिम इतिहास बोकेको नेपाल चेम्बर भने एउटा जिल्लाको हैसियतमा बस्न थाल्यो । स्थापनासँगै महासंघ पनि आर्थिक अभाव र राज्यको जिम्मेवारीबाट पिल्सिन थाल्यो । महासंघ यस्तैगरी चल्दै गयो । एउटा नेतृत्व गयो, नेतृत्वमा अर्का अनुहार आए । उनी गए अर्का अनुहार आए । 
 
झण्डै दुई दशक महासंघ आर्थिक क्षेत्रको उत्थानको जिम्मेवारी बोकेका मानिसले चलाएर पनि आर्थिक अभावमा नै चलिरह्यो । त्यतिबेलाको नेतृत्वले संगठन विस्तार र कर्मचारीतन्त्रसँगको आपसी टकरावमा खेल्दै जाँदा आर्थिक क्षेत्रको उत्थानको लागि भने त्यति समय दिन सकेनन् र दुई दशकसम्म पनि आर्थिक स्थिती भने नाजुक नै रह्यो । 
 
नेतृत्व परिवर्तन हुँदै जाँदा पाटन स्थायी घर भएका महेशलाल प्रधानको नेतृत्वगर्ने बेला आयो २०४४ सालमा । देशभरी संगठन विस्तारमा लागेर पाँच वटा संघर्षशील नेतृत्व पाईसकेको महासंघले छैटौं नेतृत्वको रुपमा आएका महेशलाल सामू भने संस्थाको आर्थिक स्थिती सुधार्ने आशा राखेको थियो । 
 
त्यसभन्दा अघिसम्म महासंघको मूल नेतृत्व नसम्हालेपनि उनी भन्दा अगाडि महासंघको नेतृत्व गरेका पशुपति गिरीको पालामा उपाध्यक्ष समेत बनिसकेका उनी अब भने मूल नेतृत्वमा आए । उनलाई नेतृत्वमा आउनकोलागि पहिलो पल्ट पनि धेरैले संकोच माने । अनेक थरीका मानिसहरुको असहमतिका बाबजुत पनि अन्ततः उनी अध्यक्ष बनेरै छाडे र महासंघको आशा पनि धेरै हदसम्म पूरा गरेरै छाडे । 
 
अहिले नेतृत्वमा आउनेहरु बढी एजेण्डा राख्छन् । तर, पूरा हुँदैन । उनको कार्यकाल भने त्यसको ठीक उल्टो रह्यो । उनले नेतृत्वमा आउनुपूर्व कुनैपनि ठूला र महत्वाकांक्षी योजना सुनाएका थिएनन् । तर, उनको कार्यकाल महासंघकोलागि भने स्वर्णकाल नै रह्यो । उनले सम्हालेको ६ वर्षे नेतृत्वमा राज्यले धेरै योगदान पायो । महासंघले धेरै योगदान पायो र स्वयं नेतृत्व गरेका महेशलालले भने अहिलेसम्म उनको कार्यकालमा गरेको सत्कर्मको लागि तारिफ पाईरहेका छन् । 
 
हाम्राकुरा डट कमसँगको कुराकानीमा प्रधानले भनेका थिए । म जेसिजमा काम गरेको जोशिलो युवा हूँ । त्यसैले मैले पनि नेतृत्वमा पुगिसकेपछि केही गरिन भने मेरो व्यक्तिगत र जेसिजको समेत इज्जतमा दाग लाग्छ भनेर केही प्रयास गरेको हुँ । तर मेरो कार्यकालमा नै धेरै काम भयो भनेर म भन्दिन त्यसपछिका पनि धेरै सक्षम अध्यक्षहरु महासंघले पाईसकेको छ । 
 
उनको कार्यकालको विषयमा महासंघमा लामो समय काम गरेका महासंघका विभिन्न कर्मचारीहरुसँग पनि हामीले सोधेका थियौं । उनीहरूसँगको कुराकानीको क्रममा महासंघको पुनर्जीवनको लागि प्रधानको भूमिका अतुलनीय रहेको कुरा गर्न पनि उनीहरु पछि परेनन् । झण्डै डेढ दशकसम्म उद्योग वाणिज्य महासंघमा महासचिव र महानिर्देशक समेत बनेर काम गरेका बद्री ओझा महासंघको पुनर्जीवन गर्ने श्रेय महेशलाल प्रधानलाई नै जान्छ भन्छन् । 
 
 
के–के गरे महेशलाल प्रधानले महासंघको लागि ?   
त्यतिबेलासम्म आर्थिक रूपमा अत्यन्तै कमजोर रहेको उद्योग वाणिज्य महासंघलाई आज ‘धनीहरुको संस्था’को रुपमा चिनाउने कामको सबैभन्दा पहिलो आधार हुन् महेशलाल प्रधान ।  वि. सं २०४४ सालमा महासंघको नेतृत्वमा आईसकेपछि उनले सबैभन्दा पहिले आर्थिक रुपमा संस्थालाई समुन्नत बनाउनको लागि विदेशी दातृ निकायबाट महासंघको माध्यमबाट विभिन्न पूर्वाधारका कामगर्ने गरी कार्यक्रमहरु भित्र्याए । 
जसले गर्दा सेवाशुल्कबापत महासंघले पनि केही रकम पाउँथ्यो भने राज्यलाई पनि यसले फाईदा नै गथ्र्यो । जसको कारणले उनकै पालामा महासंघले अहिलेको कार्यालय रहेको ठाउँमा जग्गा किन्न सफल भयो । 
 
त्यस्तैगरी, महासंघको आर्थिक सुदृढीकरणको मेरुदण्डको रुपमा रहेको यूएनडीपीको कार्यक्रम, सरकारको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार र कृषि उद्यम केन्द्र लगायतका विभिन्न कार्यक्रमहरु पनि यिनकै पालामा महासंघले पाएको थियो । 
 
जुन केन्द्रमा महासंघ र जिल्लामा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको आयआर्जनको मुख्य स्रोत बनेको छ र यसैको आधारमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले पनि अहिले आफ्नै नाममा सचिवालय भवन बनाउने हैसियत राखेका छन् ।
 
चुनाव लड्नेबेलासम्म महासंघका अधिकांश पूर्व अध्यक्षहरूसमेत उनको विपक्षमा रहे तापनि उनी अन्ततः निर्वाचनमा सफलता हाँसिल गर्न सफल भए । उनी यस्तो कठिनाईका बाबजुत पनि अध्यक्ष निर्वाचित हुनुमा आफूलाई जेसिजको टिमले नेतृत्वमा पुग्न सहज बनाएको बताउँछन् ।
 
उनलाई पूर्व अध्यक्षहरुले निर्वाचनको समयमा गरेको असहयोगको इखले गर्दा पनि हुनसक्छ उनको पालामा धेरै राम्रा कामहरु पनि हुन सके । यस भन्दा अगाडिसम्म त्यस्तो गरिमा नबोकेको उक्त संस्था प्रधानकै पालामा राजासँग ठाडै वार्ता गर्ने हैसियत राख्न सफल भयो । प्रधान भन्छन् ‘हुँदाहुँदा राजाले सीधै रात्रिभोजमा समेत महासंघको अध्यक्षलाई समेत बोलाउन थालेको थिए ।’ यो सबै उनकै कार्यकालबाट भएको हो । 
 
त्यस्तैगरी, उनको राजासँग राम्रो सम्बन्ध हुँदै गर्दा राजाको विदेश भ्रमणको क्रममा एकजना निजी क्षेत्रका प्रतिनिधिलाई पनि भ्रमणदलमा सहभागी गराउने प्रचलन पनि उनकै पालादेखि सुरू भयो । जसबाट महासंघको गरिमा अझै उच्च हुन सफल भयो । प्रधान सम्झन्छन् ५ लाख रुपैयाँ खर्च रहेको संस्थामा उनको पालासम्म आईपुग्दा ३ लाख मात्रै आम्दानी हुन्थ्यो । त्यतिबेलाको दुईलाख रुपैयाँ वार्षिक त हामीलाई घाटा नै लाग्ने गरेको थियो । 
 
आफ्ना प्रतिद्वन्द्वीलाई पनि राम्रोसँग समेटेर जानसक्ने खुबी भएका प्रधानले संयुक्त राष्ट्रसंघ लगायतका धेरै अन्तराष्ट्रिय संस्थाहरुको आयोजनामा विभिन्न कार्यक्रमहरु पनि महासंघकै तर्फबाट सञ्चालन गर्न थाले । जसले महासंघलाई दिनप्रतिदिन धनीहरुको संस्थाको रुपमा पहिचान बनाउँदै गयो । यस बाहेकका पनि उनले धेरै महत्वपूर्ण र उल्लेखनीय काम गरेका छन् ।
 
महेशलाल प्रधानको पालमा भएका प्रमुख कामहरुमा माथि उल्लेखित कार्यहरु भन्दा बाहेक पनि युनिडो र युएनडिपीसँग महासंघको सुदृढीकरणको हेतुले २०४८ साल माघ २ गते विभिन्न कार्यक्रम महासंघ अन्तर्गत् गर्नेगरी सहमतिपत्रमा हस्ताक्षर भयो । 
 
त्यस्तै, यूएसएडसँग २०४८ साल भदौ २९ गते कृषि उद्यम केन्द्र अन्तर्गत् विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेगरी सहमति भयो । भने अमेरिकी सरकार र नेपाल सरकारको संयुक्त पहलमा २०४८ साल आश्विन ११ गते इकोनोमि लिभरलाईजेशन प्रोजेक्टको उद्घाटन भयो । त्यस्तै, नेपाल लगानी बैठक २०४९ साल मंसिर १५ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना भयो । त्यो विदेशी लगानी प्रवद्र्धनको लागि मुख्य फोकस गरिएको कार्यक्रम थियो ।  त्यस्तै २०४९ सालको औद्योगिक प्रवद्र्धन लगायका विभिन्न कार्यक्रमहरु मुख्यतयाः महासंघको सुदृढीकरणको लागि महेशलाल प्रधानको कार्यकालमा गरिएको महत्वपूर्ण उपलब्धी हो । 
 
महासंघको बारेमा के भन्छन् महेशलाल प्रधान ?
वि सं. २०१७ सालमा राजा महेन्द्रको उदय भयो । उहाँलाई कसैले क्रुर शासक भन्छ कसैले राष्ट्रवादी शासक भन्छन् । हिन्दू डिक्टेटर भन्नेहरुले पनि महेन्द्र राजा त राम्रो रहेछ भन्न थालिसकेका छन् । अब उद्योग वाणिज्य महासंघकोे कुरा गर्दा २०२१ सालतिर यसको विषयमा माईन्ड मेकअप भयो पहिलो पटक । जुन राजा महेन्द्रको ‘पूर्ण राज्य’को मोडालिटी र सोचाई अनुरूप यस्तो भयो । 
 
उक्त सन्दर्भमा के कुरा उठ्यो भने एउटा चेम्बर त रहेको छ । नाम पनि नेपाल चेम्बर नै छ । तर त्यसले समग्र नेपाललाई प्रतिनिधित्व गर्न सकेन । उसको दायरा काठमाडौंमा मात्रै सीमित भयो । सम्पर्कमा त थियो विराटनगर र बीरगञ्ज चेम्बर पनि । तर उसको एफिलिएसनमा भने उनीहरू छैनन् । 
 
त्यसैले पनि एउटा देशभरीको चेम्बरलाई प्रतिनिधित्व गर्ने एउटा संस्थाको खोजी हुन थाल्यो । त्यहिँबाट चेम्बरले पूरा नगरेको राष्ट्रिय आवश्यकता पूरा गर्नको लागि नेपाल उद्योग वाणिज्य संघको नामबाट नयाँ चेम्बरको खोजी गरियो । 
 
यसको आवश्यकता कहाँबाट महशुस गरियो भने नेपालकै सबैभन्दा जेठो चेम्बरको संस्था भएको भएपनि यसले राष्ट्रिय आवश्यकताहरू पूरा गर्न नसकेकोले संयुक्त संस्थाको आवश्यकता महशुस गरियो । त्यतिबेलासम्म त उद्योगीहरू त्यतिधेरै थिएनन् । फेरि ‘किङ महेन्द्र’को एउटा बानी के राम्रो थियो भने आफू केही नभन्ने र काम गरेर मात्रै देखाउने । 
 
यसमा पनि चेम्बरलाई भनियो ‘कि त तिमीहरू देशभरी आफ्नो शाखा खोलेर बस । होईन भने अर्काे संस्था खोल्छन् तिमीहरू त्यसको अण्डरमा बस’ भनेर । त्यसो भनेपछि उनीहरू तत्कालीन नेपाल उद्योग वाणिज्य संघको अण्डरमा बस्न तयार भए । 
 
त्यतिबेला अलिकति इनिसिएसन देखाएर चेम्बरले देशभरी शाखा खोल्न थालेको भए चेम्बरले लीड गथ्र्यो महासंघ खुल्ने नै थिएन । तर महासंघ खुल्यो चेम्बर पछि हट्यो । यसैबाट महासंघको सुरुवात भएको हो । त्यसपछि महासंघको गोडमेल गर्न धेरै अध्यक्षहले धेरै मिहिनेत गरेका छन् । म छैटौं अध्यक्ष बन्दासम्म यस अघि अध्यक्ष बनेका सबै पूर्व अध्यक्षहरूले यसलाई दिएको योगदानमा मैले पनि केही सहयोग गरेको हुँ त्यो भन्दा बढी केही होईन । 
 
उनी भन्छन् ‘मेरो कार्यकालमा नै नेतृत्व एक वर्षमा परिवर्तन गर्नेगरी कुरा पनि आएकोथियो । पटकपटक नै यस्तो कुरा आएको हो । तर, मैले यो संस्थामा यो सिस्टम लागू हुनु राम्रो कुरा होईन भनेर अस्वीकार नै गरेको हुँ । यो जेसिज होईन हरेक वर्ष नेतृत्व परिवर्तन हुनलाई ? यसले त हामीहरुले एक पटक बोलेको कुराले राज्यको अर्थनीतिलाई असर गर्ने हैसियत राख्नुपर्छ । 
 
त्यो हैसियत राख्नेगरी संस्थाको गरिमा बढाउने भनेको हामीले नै हो । त्यसैले कुनैपनि व्यक्ति सक्षम नभई बालाखापनले महासंघको अध्यक्ष बन्न आउँछ भने त्यो आफैं ध्वस्त हुन्छ ।’ 
 
महासंघको आर्थिक अवस्थाको कमजोरीलाई सम्झदै उनी भन्छन् । अध्यक्ष भएको बेलामा म आफैं पनि मोटर त चढ्थेँ । तर, त्यतिबेला महासंघको नाममा एउटा पनि मोटर नभएर सुरज बैद्यको बाबुसँग टोयोटामा गएर मलाई एउटा मोटर बकस देउ भनेँ । त्यतिबेला पनि मोटरको पैसा भन्दा ट्याक्स बढी पथ्र्याे । 
 
ट्याक्स हामी मिलाउँछौं भनेर भनेँ मैले । मोटरको व्यवस्था भयो । अनि गएर ट्याक्सको लागि सरकारी कार्यालयमा गईयो । मन्त्रालयमा पुगेर विन्तीपत्र चढाउने तहभन्दा महासंघ धेरै माथि पुगिसकेको थियो । हामीले ‘ए सचिव ज्यू, महासंघको लागि एउटा मोटरको ट्याक्स छोडिदिनुपर्‍यो भनेर भनेको हो उनीहरूले पनि त्यति भनेकै आधारमा एउटा गाडीलाई लाग्ने सबै कर तिर्नु नपर्ने गराईदिए । 
 
प्रधानको सफलताको सूत्र
प्रधानलाई महासंघको इतिहासको विषयमा कुरा गर्दा धेरैले सफल अध्यक्ष जसले महासंघको गरिमा बढाउन तथा महासंघलाई पुनर्जीवन दिन सफल व्यक्ति भनेर पनि टिप्पणी गर्नेगरेका छन् । उनी कसरी सफल भए त ? उनी आफू भन्छन् ‘म सँग जेसिजको जोश र कर्मठ सहयोगीहरु रहेका थिए ।’ 
 
उनी आफ्नो कार्यकालमा रहेका दुई उपाध्यक्षहरु विनोद कुमार चौधरी र पद्म ज्योति लगायतको ‘व्याक फोर्स’ का कारण पनि आफूले धेरै कामगर्न सफल भएको दाबी गर्छन् । 
 
त्यसैले आफ्ना सहयोगीहरुसँग मित्रवत व्यवहार गर्नुपर्ने नै उनको मूल सूत्र हो । अङ्ग्रेजी भाषामा विशेषगरी अलिक कमजोर रहेका उनी विनोद चौधरी लगायतलाई अङ्ग्रेजीबोल्ने काममा लगाएर पनि अन्तराष्ट्रिय सम्बन्ध र सहयोग भित्र्याउन सफल भएका थिए । 
 
सरकारसँग जायज मागहरुमा दाबीका साथ सहयोग माग्ने र सरकारलाई परेको बेलामा निजी क्षेत्रले पनि एक भएर सहयोग गर्ने गरेको कारणले सरकार र निजीक्षेत्रबीच पनि त्यतिबेला मित्रवत व्यवहार रहेको उनको बुझाई रहेको छ । 
 
(सात दशक नाघिसकेका प्रधानसँग महासंघको इतिहासको विषयमा हाम्राकुरा डटकमकालागि अखिल सिटौला सुदर्शन अर्यालले उनकै निवासमा गएर गरेको कुराकानीको आधारमा ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ