- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कञ्चनपुर। बहुलाएको स्यालले घरपालुवा जनावरलाई टोक्न थालेपछि शुक्लाफाँटा नगरपालिका–७ का बासिन्दा त्रसित भएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने कालापानी, जुडालगायत क्षेत्रका नौ कुकुर र चार बाख्रालाई दुई दिनको अवधिमै बहुलाएको स्यालले टोकेको हो ।
स्यालले बाख्रा र कुकुरलाई टोक्न थालेपछि रेविजको सङ्क्रमण फैलिने खतरा बढेको वडाध्यक्ष प्रतापसिंह धामीले बताए ।
“आज दिउँसो बहुलाएको स्याललाई जिउँदै समातेर निकुञ्जसमक्ष बुझाएका छौँ”, उनले भने, “स्यालले टोकेका जनावरबारे वडा क्षेत्रमा जानकारी लिने कार्य भइरहेको छ ।”
यसबारे नगरपालिकाको पशुपन्छी विकास शाखामा जानकारी दिइएको उनले बताए । नगरपालिकाको पशुपन्छी शाखाका प्रमुख रामप्रसाद भट्टले निकुञ्जको मध्यवर्ती क्षेत्र रेबिजको उच्च जोखिममा रहेको बताए ।
स्यालले टोकेका र अन्य जोखिमा रहेका घरपालुवा बाख्रा, कुकुरलगायत रेबिजविरुद्धको सुई दिनका लागि पशु प्राविधिकको टोलीलाई खटाइएको उनले जानकारी दिए ।
केही दिनभित्रै सामुदायिक कुकुरलाई बन्ध्याकरण गर्ने कार्यक्रम सुरु हुन लागेको उनले उल्लेख गरे ।