- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मुगु । मुगुका स्याउ किसानहरुलाई यो बेला विरुवा काँटछाँटको कामले भ्याइनभ्याइ छ । माघ(फागुन स्याउका बिरुवा काँटछाँट गर्ने उपयुक्त समय हो । अहिले बिरुवा काँटछाँट नगरे स्याउ थोरै फल्ने, साना दाना लाग्ने र धेरै फल झर्ने भएकोले मुगुका किसानहरु यो सिजनमा बगैंचामा बिरुवा बोट काँटछाँटमा व्यस्त भएका हुन् ।
फागुन महिनाको दोस्रो सातापछि स्याउका बिरुवामा पालुवा पलाउन थाल्छन् त्यसअघि नै बोटमा निस्किएका बाक्ला हाँगा, अनावश्यक देखिएका हाँगा काट्नुपर्ने हुन्छ ।
मुगुको स्याउ पकेट क्षेत्र मानिएका ताल्चा, कालापाल्त, मैथु, पाथरखोला, तुम, घट्टलेख, शोभा, रोवा, बाम, सोरुकोट, खमाले लमेरा तथा सेरी र जामका किसानहरु अहिले धमाधम आफ्ना स्याउ बगैंचाका बोटहरुका अनावश्यक हाँगाबिँगा काँटछाँट गरिरहेका छन् । उनीहरु बिहानदेखि बेलुका साँझसम्मै स्याउ बगैंचामा बिरुवा काँटछाँट गर्ने, नीलोतुथो, चुना लगाउनमा व्यस्त देखिन्छन् ।
पहिला कोदो, जौँ, गहुँ, तरकारी खेती गरेकाहरु अहिले बालबच्चा र घर चलाउन निकै समस्या भएपछि स्याउ खेतीतिर लागेका छन् । पछिल्लो समय सडक सञ्जाल जोडिएपछि स्याउको माग बढेको छ । त्यसैले पुरानो सबै खेती छोडेर स्याउमा व्यस्त रहेका छन् ।
‘घर खर्च र छोराहरुको पढाई लेखाई यही स्याउ खेतीले धानेको छ,’ छायाँनाथ रारा नगरपालकिा ४ ताल्चाकी कृषक मायादेवी भामले भनिन्, ‘आफ्नो बगैंचामा ३ सयभन्दा बढी स्याउ फल्ने बिरुवा रहेका छन् । बिहान बेलुका विरुवालाई सुरक्षा दिने, काँटछाँट गर्ने, नीलोतुथो र चुना लगाउने काममा व्यस्त छौं ।’
अर्की किसान विष्णुमाया रोकायाले आफ्नो बगैंचामा ५ हजार स्याउका बिरुवा रहेको र आफू त्यसकै काँटछाँटमा व्यस्त रहेको सुनाइन् । ‘घरमा अन्य सबै खेती छोडिसकेका छौँ । यही स्याउ खेतीमा १३–१४ वर्ष बतिसक्यो । छोराछोरी भनेका पनि यिनै स्याउका बिरुवा हुन् । बिरुवाले फल दिएपछि हाम्रो हातमुख जोडिन्छ । फल नदिए जीवन जिउन समस्या आउँछ’, उनले भनिन्, ‘गत वर्ष धेरै हिउँ पर्नाले स्याउका बिरुवालाई सिचाइँमा कुनै समस्या परेको थिएन । यो वर्ष हिउँ कम परेकाले सिँचाइमा समस्या भएको छ । सबैभन्दा बढी समय स्याउका बिरुवा सुरक्षामा नै दिन बित्ने गरेका छन् ।’
छायाँनाथ रारा नगरपालिका ६ का कुसलाल कुलालले धेरै वर्ष भारतको हिमान्चल प्रदेशमा स्याउ सम्बन्धी काम गरेर अहिले आफ्नै देशमा खेती गरिरहेको बताए । अर्काको देशमा कुनै हक अधिकार नहुने भएको हुँदा भारतमा सिकेको सीप आफ्नै गाउघरमा लागू गर्नुपर्छ भन्ने मनसायले अहिले घर फर्की आफ्नै गाउँमा स्याउ खेती गर्नतर्फ लागेको उनले बताए ।
पछिल्लो समय मुगुमा धेरै कृषकहरुले स्याउ खेती गरे पनि प्रावधिकि ज्ञान नहुनाले स्याउ खेतीमा समस्या भोग्दै आएका छन् ।
जिल्ला कृषि कार्यालय मुगुका प्रमुख चन्द्रबहादुर शाहीका अनुसार बगैंचामा प्रत्येक वर्ष बरिुवा काँटछाँट गर्नुपर्ने हुन्छ । बिरुवालाई पहिलादेखि मलजल र गोडमेल गर्नुका साथै विभिन्न जातिका किरा लागेर बिरुवामा रोग लाग्ने भएको हुँदा यसबाट बिरुवालाई बचाउन काँटछाँट गोडमेल, उपचार समयमै गर्नुपर्छ । अहिले स्याउ कृषकले त्यही काम गरिरहेका छन् ।
प्रधानमन्धी कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मुगु (स्याउ र सिमी जोन) कार्यालयका प्रमुख तेजविक्रम मल्ल नराम्रो धेरै स्याउ फल्नु भन्दा राम्रो गुणात्मत्क थोरै स्याउ उत्पादनले पनि राम्रो आम्दानी दिन सक्ने भएकोले गुणस्तरिय स्याउका दाना उत्पादनका लागि यो बेला स्याउ कृषकहरु स्याउका बिरुवाको सुरक्षाका चरण अन्तर्गतका काटछाड गर्ने, बिरुवामा नीलोतुथो लगाउने जस्ता काम गरिरहेको बताउँछन् ।