arrow

प्रधानमन्त्रीलाई लामिछानेको प्रश्न- बालकुमारी घटनाका दोषी मन्त्रीलाई कारबाही गर्ने कि नगर्ने ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
ravi-lamichhane-2080-07-16v.jpg

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी ठहर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने कि नगर्ने भनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आजकै बैठकमा प्रधानमन्त्री दाहालले त्यस प्रश्नको जवाफ दिनुपर्ने माग समेत गरे । 

सभापति लामिछाने सो घटनामा दोषी करार मन्त्री ज्वालाले नैतिकताको आधारमा राजीनामा नदिएको, प्रधानमन्त्री दाहालले समेत चुइँक्क नबोलेकोमा आपत्ति जनाउँदै अब प्रधानमन्त्रीले सुशासनको भाषण गर्दै हिँड्ने नैतिकता समेत गुमाएको जिकिर गरे । सभापति लामिछानेले प्रधानमन्त्री आज संसदमा आफ्नो परीक्षामा दिनुपर्ने समेत बताए । उनले सरकारले सत्ता टिकाउनका लागि आफ्नो मान्छे जोगाउने र आफूहरूलाई फसाउने नियतका साथ भ्रष्टाचारलगायतको फाइल खोल्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

सभापति लामिछानेले भने, ‘अहिले छानबिन समितिले निष्कर्ष पनि निकाल्यो, जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नै दोषी रहेको कुरा जुन भन्दै आइएको पनि थियो । त्यो प्रतिवेदनले पनि स्पष्ट पार्‍यो । तर यति स्पष्ट पारिसक्दा पनि अहिलेसम्म न सम्बन्धित मन्त्रीले आफ्नो नैतिकताको प्रदर्शन गरे । न सरकार, न प्रधानमन्त्रीले कुनै छनक देखाउनु भएको छ । यसमा गर्नुपर्ने के होला ? छानबिन आयोगको दोषी ठहर्‍याउँदा ठहर्‍याउँदै पनि त्यस बारेमा चुइँक्क नबोलेर अन्य विषयहरूमा भाषण दिँदै जाने नैतिकता कहाँबाट प्राप्त हुन्छ ? यो कुराको जवाफ सम्मानित सदनलाई दिनुपर्ने हुन्छ । र मलाई विश्वास छ–सम्माननीय प्रधानमन्त्रीज्युले यस बारेमा आवश्यक पनि कुराकानी गर्नु हुनेछ । सभामुख महोदय, म एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने सरकार प्रमाण कही कतै नभेटेका मानिसहरूलाई नक्कली प्रमाण बनाएर भए पनि, नक्कली उजुरी भएर भए पनि जसरी पनि खोज, जसरी पनि समात, जसरी पनि थुन्न खोज भनेर दबाब दिनका लागि रहने, छताछुल्ल प्रमाण भएका मानिसहरूलाई वरपर लिएर हिँडिरहने हो भने विधिको शासनको बारेमा अव नबोले पनि हुन्छ । हामी बुझ्दछांै–गठबन्धनको पीडा । हामी बुभ्mदछौं–प्रधानमन्त्रीसँग जम्मा ३२ सिट भएको पीडा । तर हामी यो पनि बुझ्दछौँ–कि नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार नबनोस् । रास्वपाले सरकारले गरेको राम्रो कामको सदैव सम्मान गर्दै आएको छ । तर आफ्ना वरपर नभएका मानिसहरूलाई बचाउनका निमित्त प्रयास गर्ने अनि अन्यलाई फसाउनका निम्ति गर्ने यो प्रयासको गन्ध आएको हुनाले म सम्मानित सदनको ध्यानाकर्षण गर्न चाहन्छु । सरकारले फाइल खोल्ने हो भने हाम्रो दलको म हुँदै मेरा सांसदहरूबाट शुरु गरोस् । ठिक छ । तर तर अव अर्को फाइल नखोलोस् सरकारले । किनभने सरकारले फाइल खोल्ने भनेको त आफ्ना मान्छे बचाउनका लागि रहेछ । त्यस कारण आज सम्माननीय सभामुखमार्फत सम्माननीय प्रधानमन्त्रीज्यू र सरकारलाई भन्न चाहन्छु–भ्रष्टाचारलगायतका सम्पूर्ण फाइल रास्वपाबाट शुरु गरोस् । अन्य दलको नखोलोस् । कसैको पनि फाइल नखोलोस् । फाइल खोज्नु के रहेछ भन्ने ललिता निवासमा देख्यौँ । फाइल खोल्नु के का लागि रहेछ, सुन काण्डमा देख्यौँ । फाइल खोल्नु किन रहेछ भन्ने भुटानी शरणार्थी प्रकरणमा देख्यौँ । अब कति वटा चिजमा हेर्न बाँकी होला र ? आफ्ना मान्छेको अनुहार आउने बित्तिकै बन्द गर्ने र मुद्दा कमजोर बनाएर अदालतलाई फैसला गर्नका लागि गाह्रो बनाई दिने परिस्थिति आउने अनि न्यायालयको बदनाम हुने । न्यायालयले गर्‍यो, हामीले त गरेको होइन भन्ने । यही हो फाइल खोल्ने तरिका ? म यति भन्न चाहन्छु–हामीबाट शुरु गरियोस् । मिडिया ट्रायल पनि हामीबाटै गरियोस् । २१ जना सांसदहरू तयार छन् । सम्पूर्ण छानबिन हामीबाट गरियोस् । हाम्रा सबै फाइल अविलम्ब खोलियोस् । हामीलाई कहाँ बोलाउने हो, खडा गरियोस् । अन्य फाइल सरकारले नखोलोस् । सरकारको नियतमा ठुलो शङ्का भयो । अन्त्य दुई होनहार युवाहरूले ज्यान गुमाएको यो घटनालाई रास्वपा सामान्य रूपमा लिन चाहँदैन । के गर्ने हो प्रधानमन्त्रीजीले आज यही रोष्टममा, यही सार्वभौम संसद्मा भन्नु हुनेछ । आफूले जनाएको प्रतिबद्धता अनुसार म सुशासनका लाग जे पनि गर्न तयार छु । म देशमा केही गर्नका लागि आएको छु । यो कार्यकाल मेरो गज्जबको हुनेछ भनेर प्रतिबद्धता देखाउनुभएको छ । आज प्रधानमन्त्रीको जाँच हुनेछ । प्रधानमन्त्रीले आज आफ्नो जाँच दिनु हुनेछ । बालकुमारी घटनामा प्रतिवेदनले दोषी ठहर्‍याएका मन्त्रीलाई के गर्ने हो ? हाम्रो केही पनि माग छैन । प्रधानमन्त्रीले आज त्यो रोष्टमबाट भन्नु हुनेछ । र यहाँ बसेर हात दुखुन्जेल ढ्यापढ्याप गर्नका लागि हामी तयार छौं ।’

सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालका परीक्षा अब शुरु भएको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ