arrow

दुई पक्षबीच झडपपछि वीरगन्जमा अनिश्चितकालीन कर्फ्यू

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
policees.jpeg.jpeg

पर्सा ।  जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझदेखि अनिश्चिकालीन कर्फ्यू जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गर्दै सोमबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नहुन्जलेसम्म वीरगञ्ज क्षेत्रभित्र कर्फ्यू जारी गरिएको जानकारी दिए । 

रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा सोमबार हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगन्जमा झडपको स्थिति सृजना भएकाले कर्फ्यू जारी गरिएको प्रजिअ भुसालले बताए । 

पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यू जारी गरिएको सूचनामा उल्लेख छ । 

कर्फ्यू जारी गरेको ठाउँमा हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेलालगायत उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाएको प्रजिअ भुसालले बताए । 

यसैबीच वीरगन्ज महानगरपालिकाभित्र सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ५ बजेपछि महानगरपालिकाका विभिन्न स्थानमा कर्फ्यू जारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । 

वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको पर्साका प्रहरी नायब उपरीक्षक एवं निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले बताए । 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी झण्डै एक हजार प्रहरी जिल्लाका विभिन्न स्थानमा खटाइएको निमित्त प्रमुख थापाको भनाइ छ  । 

महानगरको माईस्थान चोक, आदर्शनगर चोक, पावरहाउस चोक, मुर्ली चोक, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, भन्सार एरियालगायत मुख्य चोक तथा गल्लीमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ