arrow

कर्णालीमा पुनः वर्षा र हिमपात,  कृषकहरूलाई राहत

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०८० फागुन ८ मंगलबार
himpat-karnali-mugu-2080.jpg

मुगु । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । केही दिनयता अत्यधिक चिसो बढेपछि सोमबार रातिदेखि मुगु, हुम्ला, जुम्ला,डोल्पा  लगायतका  जिल्लाहरूमा वर्षासँगै हिमपात शुरू भएको हो ।  

उच्च हिमाली बस्तीहरूमा हिमपात भएको छ भने बेसीतिरको भागमा पानी परेको छ । रारालगायत मुगुका उच्च स्थानमा भारी हिमपात भएको छ ।  

मुर्माटप, चुचेमारा, घुच्ची, ताल्च, चंखेली, लखु, मुन्दु, लिउडी, बाम, चाक्पाँडे, सोरूकोट, घट्टललेक, तलिलेक, मह, दोल्फु, उपल्लो मुगु , किम्री, ताखा, खारी र हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटलगायत डोल्पा जिल्लाका उच्च हिमाली भेगमासमेत भारी हिमपात भएको  छ । 

यसअघि माघ महिनाको तेस्रो हप्तामा थोरै भए पनि कर्णालीमा वर्षा र हिमपात भएको थियो । खेतीपाती गर्ने कृषकका लागि तेतिखेरको वर्षा र हल्का हिमपातले  थोरै भए पनि राहत मिलेको भए पनि सन्तुष्टि भने थिएनन् । सोमबार रातिदेखिको वर्षा र हिमपातले भने कृषकका लागि ठूलो राहत मिलेको छ ।

लामो समय वर्षा र हिमपात पर्याप्त नहुँदा वातावरण बिग्रिएर रोगब्याधि फैलिनुका साथै खोलानाला र पानीका मुहानसमेत सुकेको थिए । हिउँद ऋतु सकिनै लाग्दा भएको हिमपातलाई कर्णालीबासी कृषकलगायत मुगुबासी जनताहरूले विशेष महत्व दिएका छन् । कृषकहरू खुशी भएका छन् ।  

खेत गडामा सुकेका हिउँदे बाली पलाउने र बालिनाली सप्रने आशमा कृषकहरू रहेका छन् । जताततै  सुख्खा मौसमले मानिसहरूमा भाइरल रूघाखोकीका बिरामीहरूको संख्या बढ्दै गएको थियो ।   

यस हिमपातले मुगुलगायत साविक कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, कालिकोटका र मध्य र सुदूर पश्चिमका हिमाली जिल्लाका जनताहरूलाई ठूलो राहत मिलेको छ ।  

वर्षा र हिमपात भएपछि साविक कर्णालीको हवाई सेवासमेत अवरुद्ध भएको छ । हुम्लाको सदरमुकाम सिमिकोटलगायत उच्च स्थानका बस्तीहरूमा व्यापक हिमपात भएपछि स्थानीय जनजीवन अत्यन्तै कष्टकर बनेको सिमकोट निवासी नबिना चन्दले बताइन् । 

यस पटकको हिमपातले  बालीनाली सप्रिने आसमा कृषकहरू रहेको पनि उनले बताइन् । 

मुगु जिल्ला सदरमुकाम आसपासमामात्र गएरातिदेखि आज बिहान ८ः४५ बजेसम्म २० मिलिमिटर पानी परेको गमगढी हावापानी केन्द्रले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ