arrow

स्याउका बिरुवामा मुगु आत्मनिर्भर

logo
नृपेन्द्रबहादुर मल्ल, 
प्रकाशित २०८० फागुन १० बिहिबार
apple-plant-mugu-2080.jpg

मुगु । कुनैबेला मुगुमा रहेका कृषि कार्यालय, संघ संस्था र कृषकहरुले स्याउका बिरुवा ल्याउन जुम्ला वा भारततिर जानु पर्थ्यो । अहिले परिस्थिति बदलिएको छ । मुगुमै कृषकहरुले व्यावसायिक बेर्ना व्यवसाय शुरु गरेका छन् ।

उनीहरुले स्याउदेखि विभिन्न फलफूलका बिरुवा व्यावसायिक रुपमा उत्पादन गर्न थालेका छन् । उनीहरु स्याउ, ओखर, कागती, आरु, अमिलो, सुन्तला आदिका बेर्ना बनाइ बिरुवा बिक्री गर्दै आएका छन् ।

मुगु हिमाली जिल्ला भएकाले यहाँको हावापानी स्याउको लागि उत्तम मानिन्छ । मुगुको स्याउ किन्न व्यापारीहरु बारीमै आउन थालेपछि अहिले मुगालीहरु आफ्ना परम्परागत खेती छोडेर व्यावसायिक स्याउ बगैँचामा लागेका छन् ।
 
जिल्लामै स्याउका बिरुवाको माग बढ्न थालेपछि स्याउका बिरुवाको व्यावसायिक बेर्ना उत्पादन गर्ने कृषक पनि जिल्लामा बढ्दै गएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कार्यालय मुगुका प्रमुख तेजविक्रम मल्ल केही वर्ष पहिला स्याउका बिरुवा ल्याउन बाहिरी जिल्ला र भारतसम्म जाने गरेको बताउँछन् । 

उनी भन्छन्, ‘हाम्रो पैसा बाहिर जान्थ्यो । आफूहरुले स्याउका बेर्ना उत्पादन, स्याउ खेतीबारे तालिम दिएपछि र जिल्लाको स्याउको माग बढ्न थालेपछि जिल्लामै बेर्ना उत्पादन गर्ने व्यवसायी बढेका छन् ।’

उनी थप्छन्, ‘ तीन वर्ष यताबाट आफूहरुले जिल्लाकै कृषकबाट स्याउका बिरुवा किनेर कृषकलाई वितरण गर्दै आएका छौँ । हामी स्याउका बिरुवामा आत्मनिर्भर बनेका छौँ । यहाँको पैसा यहाँकै कृषकको हात गएको छ ।’

प्रत्यक वर्ष कार्यालयले स्याउका बिरुवा खरिद गर्छ । यो वर्ष कार्यालयमा १९ वटा स्याउका बेर्ना उत्पादन गर्ने व्यावसायिक फर्म सूचीकृत भएका छन् ।

‘हामीले ती नै फर्महरुले उत्पादन गरेका स्याउका बिरुवा लिएका छौँ’, कार्यालय प्रमुख मल्ल भन्छन्, ‘प्रति बिरुवा ५० रुपैयाँका दरले व्यवसायीले मूल्य पाएका छन् ।’

कम्तीमा एक व्यवसायीले एक सिजनमा स्याउका बिरुवा बिक्रीबाट मात्र कम्तीमा ५० हजारदेखि अधिकतम २ लाख रुपैयाँ कमाउने प्रधानमन्त्री कृषि आधिनिकिकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय मुगुले जनाएको छ ।

परियोजना कार्यान्वयन इकाइ कार्यालय मुगु प्रमुख तेजविक्रम मल्ल भन्छन्, ‘चालु आथिक वर्षमा कार्यालयले चक्लाबन्दी शीर्षकबाट १० हेक्टर जमीनमा स्याउ लगाउन ३ हजार र स्याउ क्षेत्र विस्तार कार्यक्रमका लागि ६० हेक्टर जमीनमा स्याउ लगाउन १८ हजार स्याउका बिरुवा गरी जम्मा २१ हजार स्याउका बिरुवा खरिद गरी स्याउ कृषकलाई वितरण गरिनेछ ।’

यी सबै बिरुवा मुगुकै बेर्ना व्यवसाय गरेका कृषकहरुबाट खरिद गरिने पनि प्रमुख मल्लले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ