arrow

गठबन्धन फेरेपछि प्रधानमन्त्रीको भनाइ

म रहुन्जेलसम्म देशमा उथलपुथल भइनै रहन्छ : प्रचण्ड [भिडियो]

उनीहरूको लागि म छैन विश्वसनीय, हुन पनि पर्‍या छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
prachanda-11-211.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू रहेसम्म देशमा उथलपुथल भई रहने बताएका छन् । एमालेसँगको नयाँ सत्तासमिकरण गरे लगत्तै सोमवार काठमाडौँमा आयोजित शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीतिक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले प्रतिक्रियावादी शक्तिहरूले आफूलाई विश्वास नगरेको टिप्पणी गरे । उनले काँग्रेसलाई लक्षित गर्दै प्रतिक्रियावादीहरुले आफूलाई अविश्वसनीय भन्ने गरेको बताए । प्रधानमन्त्री दाहालले आफूलाई प्रतिक्रियावादीहरुले धरै नै अविश्वसनीय भन्ने गरेको उल्लेख गर्दै उनीहरूले उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निस्कने टिप्पणी गरे । आफूलाई प्रतिक्रियावादीहरूका लागि विश्वसनीय हुन नपरेको प्रधानमन्त्री दाहालको भनाई थियो । 

उनले सत्तासमिकरण परिवर्तन भएको आजको दिनलाई निरन्तरतामा क्रमभंगता भएको दिनका रूपमा स्मरण गर्नुपर्ने बताए । उनले आफू नमरुन्जेलसम्म मुलुकमा उथलपुथल ल्याइरहने जिकिर समेत गरे । माओवादी बग्दो नदी भएकाले उसले हरेक समयमा उथलपुथल ल्याउने काम गरिरहने प्रधानमन्त्री दाहालले बताए । त्यस अवसरमा उनले सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध हुन पनि आह्वान गरे । शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न पनि सबै कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध हुनुको विकल्प नरहेको प्रधानमन्त्री दाहालको तर्क थियो ।

उनले भने, ‘हामी सबैले आजको दिन सबै क्रान्तिकारी एक ठाउँमा हुने आवश्यकता छ । खिइँदै, सक्दै, एक्लो हुँदै अनि फेरी ठूल्ठूला कुरा गरिराख्ने ? यो हुँदैन कमरेड । यस्तो बुद्धिले हुँदैन । यो नहुने बुद्धितिर नलागौँ । म कमरेड विप्लवलाई विशेष रूपले धन्यवाद दिन चाहन्छु–कमरेड विप्लव उठ्ने बित्तिकै तपाईँहरूमा एउटा तरङ्ग शुरु हुन्छ । तपाईँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु । म त म भइगए आज । न मर्दासम्म देशमा उथलपुथल भई नै रहन्छ । मलाई घेरा हालेर सिद्ध्याउन धेरै पटक कोसिसहरू भए प्रतिक्रियावादीबाट । घेरा तोड्दै आएका छौं । तोड्दै जान्छौँ । त्यस कारण म साथीहरूलाई भन्न चाहन्छु–ठुला कुरा गर्नु भन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटो खोजौँ । हामी समाजवादी मोर्चा मात्रै होइन, बृहत्तर कम्युनिष्ट एकताको पहल पनि गर्दैछांैं । आज तपाई हामी सबैको निम्ति खुशीको दिन हो । पीडा पनि हो, ती हजारौँ शहीदहरू, घाइते योद्धाहरू, जेलनेल भोगेका हजार हजारको जिम्मेवारी हाम्रो काँधमा छ । हामी जीवित रहँदासम्म उनीहरूको सपनाप्रति हामी कहीँ कतै घात गर्न सक्दैनौँ । आज शहीद सप्ताहको अन्तिम दिन नेपालको राजनीतिमा जुन खालको प्रयासहरू छन् । प्रतिगमनकारी भन्छौ हामी । त्यस कारण पनि हामी सबै जिम्मेवारी हुन जरुरी छ । पहिला पहिला कम्युनिष्टहरुले दुःख पाउनुको एउटा कारण ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्ने । मार्क्स एङगेल्सका कुरालाई धर्मशास्त्र जस्तो गरेर, मन्त्रजस्तो गरेर पढी राख्ने, घोकी राख्ने, परिस्थिति कहाँ पुग्यो ? थाहा नपाउने । त्यो मार्क्सवाद होइन । त्यस कारण मलाई र मेरो नेतृत्वको आन्दोलनलाई प्राय प्रतिक्रियावादीहरुले भन्ने गर्दछन्–धरै नै अविश्वसनीय । कतिखेर कतातिर फर्कन्छ भन्नै नसकिने मान्छे । म त्यस्तो अविश्वसनीय होइन । म नेपालका श्रमिक जनता, नेपालमा महान् शहीद बेपत्ता योद्धा र नेपाल राष्ट्रप्रति उनीहरूप्रति इमानदार हुने कुरामा त म जहिले पनि तयार छु । तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निक्लन सक्छु । त्यस कारण उनीहरूको लागि म छैन विश्वसनीय । हुन पनि पर्‍या छैन । ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ