arrow

प्रचण्डको मनगढन्ते दोषको हैसियत यसरी देखाइदिए रमेश लेखकले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
ramesh-lekhak-11-24.jpg

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मनगढन्ते दोष दिएको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा नेता लेखकले प्रधानमन्त्रीले कुनै मन्त्रीले काम गरेन वा काम गर्न दिएन भनेर भाग्न नपाइने बताएका हुन् । 

उनले भने, “प्रधानमन्त्रीले कुनै मन्त्रीले काम गरेन वा काम गर्न दिएन भनेर भाग्न पाइँदैन । प्रधानमन्त्री देश र सरकारको नेता हो । समग्र कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ ।”

लेखकले आफूहरूसमेतले बनाएको गठबन्धन एकाएक टुटेको विषयमा आश्चर्य व्यक्त गरे । उनले प्रधानमन्त्रीले राजनीतिक बेइमानी समेत गरेको संसदमा दोहोर्‍याए । 

उनले प्रधानमन्त्रीले गठबन्धन टुट्नुका कारणहरुमा सत्य डग्मगाएको अवस्था देखिएको बताए । उनले सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने ? हो भन्दै प्रश्नसमेत गरे । उनले संक्रमणकालीन न्यायको विधेयक कांग्रेसका कारण नरोकिएको पनि स्पष्ट पारे ।

उनले भने, ‘संक्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ? नेपाली कांग्रेसले ? अनि तपाईंले यही कुरा लेखेर हस्ताक्षर गरे भनेपछि नेपाली कांग्रेसप्रति न्याय गरे । विश्वास, इमान गरे र यो गठबन्धन निर्माण गर्नुपर्ने कुरा पुष्टि गरे । यसका बारेमा कांग्रेसले प्रश्न सोध्न पाउँदैन । कसले रोक्यो ? इतिहासतिर फर्किएर हेरौँ । वर्तमान हेरौँ । भोलि पनि मिलेर जान सकिन्छ । सकिएला । तर सत्य डग्मगायो भने इमान हुँदैन । त्यसकारण मेरो सम्माननीय नेता बेइमानी शब्दप्रति तपाईंहरुको ध्यान गम्भीर रुपले भएको छ, तर इमानको कुरा त कांग्रेसले गर्न पाउँछ नि । यति मेरो आग्रह हो । सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने ? संघीयता कार्यान्वयन सम्बन्धी बाँकी कानून निर्माण गर्न भनिएको छ । साथै सबै तहका सरकारलाई प्रभावकारी बनाउने भन्ने छ । त्यसो भए संघीयतासम्बन्धी कानून पनि १४ महिनामा बनेनन् । अनि गर्नु के भयो त ? यो सत्य पनि छ कतिपय कुराहरु । किनभने दुई वटा अधिवेशनमा केही मात्रै कानून पारित भएका छन् । कसले रोक्यो कांग्रेसले ?’

प्रमुख सचेतक लेखकले कांग्रेस जस्तौ धोका दिएका राजनीतिक दलहरु एक ठाउँमा आए नेकपा (माओवादी केन्द्र) के होला भन्ने हेक्का राख्न चेतावनी समेत दिए । उनले १४ महिनामा ३ पटक गठबन्धन फेरि सकिएको भन्दै उनले यही अनुपातमा ५ वर्षमा १३ पटक सत्तँ गठबन्धन फेरिने बताए । उनले प्रधानमन्त्री दाहालले गठबन्धन फेरेर जनतासँग गरेका प्रतिवद्धताहरुमा माथि कुठाराघात गरेको आरोप लगाउनु भयो । उनले केही मन्त्रीहरुको काँधमा कमजोरी थुपारेर आफ्नो कमजोरी लुक्छ भन्ने नसोच्न आग्रह गरे । उनले प्रधानमन्त्री दाहालले यता र उताको कुरा गरेर गठबन्धन तोडेको कारण देखाउनु लज्जाजनक भएको बताए । उनले प्रधानमन्त्रीको नेतृत्व र योग्यता नहुँदा यो अवस्था आएको बताए । उनले अरु सबै गलत म मात्रै ठिक भन्ने घमण्ड नदेखाउन चेतावनी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ