arrow

एनआईसी एसियाका सीईओ न्यौपानेको बैंकिङ यात्राः सधैँ आक्रामक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
roshan-neupane-nic-asia.jpg

काठमाडौँ । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् रोशन न्यौपाने । बैंकिङ क्षेत्रमा करिब डेढ दशकदेखि सक्रिय उनी यसको आधा समयदेखि यो क्षेत्रमा चर्चित पात्र हुन् । 

उनी बैंकिङ क्षेत्रमा जति चर्चित छन् यो चिनारी सकारात्मक भन्दा नकारात्मक ढंगले बढी छ । उनको बैंकिङ करियरको डेढ दशकमा न्यौपाने ‘अनइथिकल बैंकिङ’ का पर्याय जस्तै भएका छन् । 

न्यौपाने २०६४ सालमा तत्कालीन बैंक अफ एसियामा आन्तरिक लेखापरीक्षकको रुपमा बैंकिङ क्षेत्रमा भित्रिएका हुन् । चार्टर्ड एकाउन्टेन्ट पृष्ठभूमि रहेका उनले शुरूमै आन्तरिक लेखापरीक्षण विभागको इन्चार्जको जिम्मेवारी पाएका थिए । नेपालमा चार्टर्ड एकाउन्टेन्टको अभावको अवस्था रहेको त्यो समयमा उनले राम्रो जिम्मेवारी पाएका थिए । 

तर उक्त बैंक लामो समय टिक्न सकेन । विदेशी संयुक्त लगानीमा स्थापित बैंकहरूसँग पूँजी र प्रविधि कुनै आधारमा पनि यो बैंकले प्रतिस्पर्धा गर्न सकेन । तुलनात्मक रुपमा खराब वित्तीय सूचकसँगै उक्त बैंक सन् २०१३ मा तत्कालीन नेपाल इन्डष्ट्रियल एण्ड कमर्शियल बैंक (एनआईसी) बैंकसँग मर्जरमा गएको हो । जुन वाणिज्य बैंकहरूबीचको पहिलो मर्जरसमेत थियो । 

बैंक अफ एसिया हुँदादेखि नै तत्कालीन सञ्चालकहरू सतीशकुमार मोर, रामचन्द्र संघई, अनुज अग्रवाल लगायतमा राम्रो प्रभाव छाडेका रोशन न्यौपानेको प्रभाव बैंक मर्जरपछि पनि बढ्दै गयो । तर उत्कृष्ट र शालीन बैंकरको रुपमा रहेका सशीन जोशीको अवधिभर उनले व्यवस्थापकीय रुपमा हस्तक्षेप गर्न सकेनन् । जोशीले राजीनामा दिएपछि भने उनको प्रभाव जबरजस्त रुपमा बैंकमा पर्न थाल्यो । 

त्यसो त सशीन जोशीको राजीनामासँगै उनी सन् २०१५ मै बैंकको सीईओ बन्न चाहेका थिए । त्यसका लागि बैंकको सञ्चालक समितिसमेत तयार थियो । तर अनुभव कम भएका कारण राष्ट्र बैंकले स्वीकृति नदिएपछि लक्ष्मण रिसाललाई सीईओ नियुक्त गरिएको थियो ।

तात्कालिन एनआईसी एसिया बैंकमा काम गरेका एक पूर्व बैंकर बाफियाको व्यवस्था बमोजिम बैंकिङ क्षेत्रमा १० वर्षको अनुभव नभएपछि राष्ट्र बैंकले उनलाई सीईओ बन्न नदिएको बताउँछन् । नत्र लक्ष्मण रिसालभन्दा अघि नै उनी सीईओ बन्न तयार थिए । 

त्यसो त बैंक अफ एसियाबाट गएर डेपुटी सीईओ बनेका रिसाल सशीनले छाडेपछि पनि करिब ९ महिनासम्म निमित्तको भूमिकामा बस्नुपर्यो । 

राष्ट्र बैंकले न्यौपानेलाई सीईओ नबनाउने निश्चित भएपछि रिसाललाई २ वर्षका लागि सीईओ बनाइएको थियो । किनकि दुई वर्षपछि न्यौपानेको १० वर्षे अनुभव पूरा हुन्थ्यो । 

त्यसपछि उनलाई नै सीईओ बनाउने सञ्चालक समितिको तयारी थियो । दुई वर्षका लागि नियुक्त उनको कार्यकाल थप नहुने भएपछि अवधि बाँकी हुँदै रिसालले बैंक छाडेका थिए । 

यसरी आन्तरिक व्यवस्थापन र बढुवामा सामान्य नैतिकतासमेत भुलेका न्यौपानेको हातमा व्यवस्थापनको पुगेसँगै बैंकिङ अभ्याससमेत यस्तै प्रकारले गर्दै गए । लक्ष्मण रिसाल सीईओ हुँदासमेत उनकै बैंकमा उनकै प्रभाव थियो । सोही समयका कहिले ब्याजदरको भद्र सहमति तोडेर ब्याजदर बढाउने काम गर्न थालेका थिए । सोही कारण बैंकहरूले एनआईसी एसियासँग अन्तरबैंक कारोबार नै रोक्का गर्न बाध्य भएका थिए । 

अन्तरबैंक कारोबार रोक्का भएपछि एनआईसी एसियाले हत्तपत्त बैंकर्स संघको निर्णय नमान्ने आँट गरेन । यद्यपि सो बैंकले ब्याजदरमा अनैतिक हर्कत कायमै राख्यो । बजारमा तरलताको अलिकति अभाव मुद्दतीदेखि बचत निक्षेपसम्म सबैभन्दा धेरै ब्याज एनआईसीकै हुन्थ्यो । बजारमा अधिक तरलताको अवस्था हुनेबित्तिकै सबैभन्दा कम ब्याजदर एनआईसीकै हुन्थ्यो ।

यसरी ब्याजदर घटबढ हुँदासमेत बैंकको निक्षेप धेरै ठूलो परिवर्तन भने भएन । किनकि सोही समयमा बैंकले आक्रामक शाखा विस्तार गरेको थियो । शाखा विस्तारसँगै सामान्य जनताले समेत नजिकको बैंकमा खाता खोल्न थाले । 

थोरै बचत हुने व्यक्तिले ब्याजदरकै लागि बैंकको विकल्प खोज्दैनन् । त्यसको फाइदा बैंकले उठाउँदै आयो र अहिले पनि त्यही हर्कत गर्दै आएको छ ।

एनआईसी एसियाको आक्रामक शाखा विस्तारका कारण माथिल्लो स्तरमा रमाइरहेका बैंकहरूलाई मध्यम तथा निम्नस्तरका जनतामा जानुपर्ने बाध्यता सिर्जना भएको थियो । यो भने सकारात्मक पक्ष हो । यसले बैंकिङ पहुँच विस्तार गर्न सहयोग पुर्याएको बैंकर्सहरूको बुझाइ छ । 

शाखा विस्तार गर्न नसक्ने बैंकहरू मर्जरमा जानुपर्दा यसले बैंकहरूको संख्या घटाउन पनि केही मद्दत गरेको देखिन्छ । यद्यपि मर्जरको मुख्य कारण भनेको राष्ट्र बैंकको पूँजी वृद्धि नीति नै हो ।

राष्ट्र बैंक नै हैरान
एनआईसी एसिया बैंकको व्यवहारका कारण राष्ट्र बैंकले नियामकीय नीतिलाई समेत कस्दै लैजानुपर्ने अवस्था सिर्जना भएको देखिन्छ । यसले नियामकीय प्रावधानलाई यति धेरै कसिलो बनाइदिएको छ कि बैंकिङ कारोबारमा बैंकर्सहरूको स्वविवेक अहिले शून्य बराबर नै छ । 

एनआईसी एसियाको अनैतिक ब्याजदर उतारचढावकै कारण राष्ट्र बैंकले एक महिनामा १० प्रतिशत भन्दा बढी ब्याजदर घटबढ गर्न नपाउने व्यवस्था गर्यो । ब्याजदरमा लगाम लागेपछि अग्रिम ब्याज दिने, उपहारलगायत ल्याएको स्किमलाई पनि राष्ट्र बैंकले रोकिदियो । 

त्यस्तै ब्याजदर बढेको समयमा महिना महिनाकै बेसरेटलाई ब्याजदर निर्धारणमा प्रयोग गर्न थालेपछि त्रैमासको आधार दरलाई मात्रै यस्तो गणनामा प्रयोग गर्न पाउने व्यवस्था गर्यो । एनआईसी एसियाकै कारण गर्नुपरेको नियामकीय प्रावधानको सूची लामो छ । 

यही चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गर्दा पनि १७ वटा बैंकहरुको ब्याजदर घटेको छ भने दुई बैंकको ब्याजदर बढ्दा एउटा बैंकको ब्याजदर स्थिर रहेको छ ।

चैत (२०८० चैत महिना) का लागि ब्याजदर बढाउने बैंक एनआईसी एसिया पनि हो । सो बैंकले व्यक्तिगत मुद्दतीमा ०.२५ प्रतिशत र संस्थागत मुद्दतीमा १.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । बैंकमाथि विश्वास कम भएर पूँजी पलायन भएपछि संस्थागत निक्षेपकर्तालाई आकर्षित गर्न बैंकले ब्याजदर बढाएको देखिएको हो । 

एनआईसी एसिया बैंकले एकवर्षे व्यक्तिगत साधारण मुद्दती खातामा ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दती खातामा ७.५४८ प्रतिशत ब्याजदर तोक्दा बचत खाताको ब्याजदर ३.६५ प्रतिशत कायम गरेको छ । बैंकले अघिल्लो महिना व्यक्तिगत मुद्दती खातामा ८ प्रतिशत र संस्थागत मुद्दती खातामा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

ऋणीकै सम्पत्तिमा आँखा गाडेको आरोप
बैंकबाट ऋण लिँदा सामान्यतया धितो राख्नुपर्छ । अहिले घरजग्गा धितोमा राख्ने प्रचलन सबैभन्दा बढी छ । त्यसरी धितोमा राखिएको राम्रो सम्पत्तिलाई लिलामी गराउन ऋण डिफल्ट गराउने कार्य गरेको आरोपसमेत उक्त बैंकमाथि लाग्दै आएको छ । 

बैंकको सोही हर्कतका कारण बैंकविरुद्ध पटकपटक स्थानीय स्तरमा आन्दोलनसमेत भएका थिए । जिल्लास्थित उद्योग वाणिज्य संघहरूको अगुवाईमा समेत यस्तो आन्दोलन भएको थियो । 

त्यस्तै बैंकिङ किस्ता एकपटक अनियमित हुने बित्तिकै ऋणीलाई नयाँ ऋणको कागज बनाएर महँगोे प्रिमियम दर कायम गर्नेसमेत एनआईसी एसियाले गर्दै आएको बताइन्छ । यसरी नयाँ ऋण कायम गराउन ब्याजबापतसमेत नयाँ ऋण कायम गरिदिने बैंकको हर्कतलाई रोक्न राष्ट्र बैंकले ऋणको व्यवस्थामासमेत पटक–पटक कडाइ गर्दै आएको छ ।

उता बैंकभित्र पहुँच भएका र साधारण सभामा आवाज उठाउन सक्ने व्यक्तिलाई साधारण सभा अगाडि नै उपहार पुर्याउने, खामभित्र नगद राखेर दिने जस्ता गतिविधिमा पनि सोही बैंक अगाडि रह्यो । सोही कारण राष्ट्र बैंकले साधारण सभाको खर्चमा निकै कडाइ गरेको छ । तर अहिले पनि उपहार वा खामको प्रचलन उस्तै रहेको बताइन्छ । 

नियामकीय रिपोर्टिङ पनि गलत
बैंकलाई उत्कृष्ठ देखाउन बैंकले नियामक निकायमा रिपोर्टिङ नै गलत गर्न थालेको कुरा भने पछिल्लो समय मात्रै प्रमाणित भएको हो । बैंकले पूँजीकोष मिलाउन ऋण वर्गीकरणमा छेँडछाँड गरेको पछिल्लो समय लागेको थियो । 

बैंकले आफ्नो बुझाइअनुसार रिपोर्टिङ गरेको बताउँदै यसलाई टार्न प्रयास गरेको छ । उसले राष्ट्र बैंकसँग नियामकीय सुझाव लिएर फेरि विवरण पठाएको जनाउँदै गल्ती गरेको स्वीकारसमेत गरेको छ । 

तर लेखापरीक्षणको सबैभन्दा माथिल्लो र उत्कृष्ठ तह मानिने चार्टर्ड एकाउन्टेन्टमा त्यस्तो बुझाइमा फरक हुनै नसक्ने विज्ञहरूको तर्क छ । 

यो अवस्थाले बैंकको कुनै पनि रिपोर्ट वा प्रगति विवरण सही भएकोमा शंका गर्ने अवस्था सिर्जना भएको उनीहरू बताउँछन् ।  

फेरि पनि अनैतिक हर्कत
पछिल्लो समय बैंकप्रतिको विश्वासको संकटसँगै निक्षेप घटेर संकटको अवस्थामा पुगेपछि गिरेको खास माथि उठाउन बैंकले अर्को ‘अनइथिकल’ (अनैतिक) अभ्यास थालेको छ । 

आफूलाई बैंकिङ क्षेत्रकै सबैभन्दा उत्कृष्ट भएको देखाउन बैंकले सामाजिक सञ्जालदेखि मिडियासम्मको व्यापक दुरूपयोग शुरू गरेको हो ।  

निर्वाचन क्याम्पियनमा केही उम्मेदवारहरूमाथि साइबर दुरूपयोग गरेको आरोप लाग्दै आएजस्तै अहिले उक्त बैंकले पनि साइबर दुरूपयोग गर्दै आएको छ । 

मिडियालाई प्रयोग गरेर बैंकको पक्षमा राम्रो सामग्री बनाउन लगाउने, त्यसलाई सामाजिक सञ्जाल र कर्मचारीमार्फत प्रचार गर्ने मात्रै होइन आलोचनात्मक टिप्पणी गर्नेमाथि फेक आईडीमार्फत् गाली गर्ने हर्कतहरू हुन थालेका हुन् । 

योसँगै समग्रमा सीईओ न्यौपानेमाथि लागेका आरोपहरूबारे कुराकानी गर्न पटक–पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउनै चाहेनन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ