arrow

प्रधानमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न– छानबिन हुनुपर्ने व्यक्ति गृहमन्त्री भएर सुशासन हुन्छ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
pradip-poudel-80-12-02.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अनुसन्धानको घेराभित्र रहेको व्यक्ति गृहमन्त्री भएर सुशासन कायम हुन सक्छ त भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । 

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै नेता पौडेलले प्रधानमन्त्री यसको जवाफ दिनबाट भागेको पनि आरोप लगाए । साथै उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिएर निष्पक्ष छानबिनका सघाउन आग्रह गरे । 

यस्तो छ उनको भनाइ–
विगत केही दिनदेखि प्रमुख प्रतिपक्षले निरन्तर रुपमा संसदमा प्रश्न उठाउँदै आएको छ । प्रधानमन्त्री ती प्रश्नको सामना गर्नुको साटो भागेर हिँड्नु भएको छ । सम्माननीय प्रधानमन्त्रीको यस विषयमा डबल स्टयान्डर्ड देखियो । अहिलेका गृहमन्त्रीले विगतमा प्रश्न गर्ने पेशा अपनाउनु भएको थियो । उहाँ प्रश्न गर्ने पेशाबाट आउनु भएको हो । राजनीतिमा प्रश्नमात्र गर्न पाउनु पर्छ । आफ्ना विरुद्ध प्रश्नहरु उठाउन मिल्दैन । प्रश्नहरुलाई निषेध गर्न पाउनु पर्छ भन्न मिल्दैन । आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनु हँदैनथ्यो । सम्माननीय प्रधानमन्त्रीले प्रश्न भएको मानिसलाई गृह मन्त्री बनाउनु हुँदैनथ्यो । आज ३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता छन् । ती बचतकर्ताको माग छ सहकारी संचालकको सम्पत्तिबाट हाम्रो सम्पत्ति फिर्ता दिनुपर्छ भन्ने । त्यस्तै अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा बस्दा कसरी सहकारी पीडितहरुको माग कसरी पूरा हुन्छ म प्रश्न गर्न चाहन्छु । पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तीय संकटलाई कसरी समाधान गर्न सक्छ ? पीडितहरुले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्ततालाई उसले कसरी थेग्न सक्छ ? म आग्रह गर्न चाहन्छु मेरा मित्र सम्माननीय गृहमन्त्रीज्यूलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण गर्नुस् । प्रधानमन्त्रीज्यूले पटक पटक भनिरहनु हुन्छ सुशासन । विगतको गठबन्धन तोड्दा पनि उहाँले नेपाली कांग्रेसका कारणले सुशासन लागु गर्न नसकेको आशय प्रकट गर्नुभयो । सुशासनको चिन्ताले गठबन्धन तोडेको भनेर उहाँले भन्नुभयो । सम्मानमन्त्रीज्यूलाई म प्रश्न गर्न चाहन्छु जसको अनुसन्धान जुन मन्त्रालयले गर्नुपर्ने हो त्यही मन्त्रालयको तालाचाबी अनुसन्धान गर्ने मान्छेलाई दिएर सुशासन प्राप्त हुन सक्छ ? अर्को नयाँ प्रकरण आएको छ सुन तस्करी । म तत्कालीन प्रतिपक्ष एमालेलाई विशेष धन्यवाद दिन चाहन्छु यस्ता प्रकरणहरुको छानबिन राज्यको संयन्त्रबाट हुन सक्दैन जाँचबुझ आयोग बनाउनु पर्छ भनेर त्यो बेलामा प्रतिपक्षले भनेको थियो । म सत्तारुढ पार्टीको सांसद भएर पनि त्यही कुरा उठाएको थिएँ । आज प्रहरीले त राजनीतिक मान्छेलाई छानबिनको दायरामा ल्याउन सक्दो रहेनछ नि । गृहमन्त्री स्वयंले स्वीकार गर्नुभएको छ प्रमाणहरु नष्ट भए । तपाई मातहतको गृह मन्त्रालयमा प्रमाण नष्ट हुँदा तपाई कुन नैतिकताले कुर्सीमा बसिरहनु् भएको छ ? म प्रश्न गर्न चाहन्छु । त्यसैले सुन काण्डले धेरैलाई प्रश्न गरेको छ । सम्माननीय प्रधानमन्त्रीज्यू प्रश्नैप्रश्नले घेरिएका मान्छेका बीचमा बसेर तपाईले सुशासन लागू गर्न सक्नुहुन्छ ? कि सुशासन भनेको भन्ने कुरा हो ? यो भन्नेकुरा होइन यो लागू गर्ने कुरा हो । म सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु प्रश्नको घेराभित्र रहेको कुनै पनि व्यक्तिलाई सरकारमा नलाने नजिर स्थापित गरौँ । प्रधानमन्त्रीबाट त्यसको इमानदार प्रतिबद्धता यो संसदमा व्यक्त हुनुपर्छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ