arrow

उन्नती मेला सम्पन्नः मौलिक कला, हस्तकला प्रवर्धन र बजारीकरणमा महत्वपूर्ण योगदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ४ आइतबार
unnati-80-12-04.jpg
तस्बिर – उन्नती कल्चरल भिलेजकी फाउण्डर तथा चौधरी फाउण्डेशनकी निर्देशक सुरवी चौधरी र चौधरी उद्योग हस्पिटालि म्यानेजमेन्टका प्रवन्ध निर्देशक राहुल चौधरीसहित उद्योगी व्यवसायीहरु उन्नती मेला अवलोकन गर्दै ।  ।

नवलपुर । उन्नती कल्चरल भिलेजको वार्षिक उत्सवको अवसरमा चौधरी फाउण्डेशनको आयोजनामा उन्नती मेला सम्पन्न भएको छ । 

मेलामा हस्तकलाका सामग्री, कृषिजन्य वस्तु, अर्गानिक उत्पादन, मौलिक खाना, चित्रकला, थाकल, बेत बाँस, गहुँको छवालीको चित्र, हस्तकला, पस्मिना, ढाका, घरेलु सामग्री लगायतका ३० स्टलहरु प्रदर्शनीमा राखिएको थियो । 

प्रदर्शनीको अवलोकन पश्चात् चौधरी ग्रुपका प्रबन्ध निर्देशक राहुल चौधरीले प्रदर्शनीमा राखिएको आकर्षक हस्तकला, घरेलु उत्पादनलाई ब्राण्डिङ र मार्केटिङमा चौधरी फाउण्डेशनले सघाउने प्रतिबद्वता व्यक्त गरेका छन् । 
 
चौधरी फाउण्डेशनकी निर्देशक सुरवी चौधरीले नेपाल मौलिक हस्तकला, घरेलु उत्पादनको राम्रो बजार रहेकाले यसको व्यावसायिक प्रवर्धन गर्न उन्नती कल्चरल भिलेजले स्थापनादेखि नै प्रोत्साहन गर्दै आएको र आगामी दिनमा पनि सघाउने बताइन् । 

यसका लागि उन्नती कल्चरल भिलेज र साना तथा घरेलु उद्योग महासंघ ललितपुरबीच हस्तकलाका सामग्रीहरु उन्नती कल्चरल भिलेजमा प्रदर्शनीका लागि राखिने सम्झौता भएको चौधरी फाउण्डेका सिनियर म्यानेजर प्रधान श्रेष्ठले जानकारी दिए । 

सम्झौतामा फाउण्डेशन निर्देशक सुरवी चौधरी र महासंघका अध्यक्ष शैलेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए । उन्नती कल्चरल भिलेजले स्थापना कालदेखि साहित्य, चित्रकला, हस्तकला, मौलिक संस्कृति, मौलिक खाने परिकारलाई प्रोत्साहन गर्दै आइरहेको छ । 

उन्नती मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशकी पूर्वसचेतक–सांसद ओमकला गौतमले महिलाहरू आर्थिक रूपमा सक्षम नभएसम्म समग्र मुलुकको विकास सम्भव नहुने बताइन् । 

नवलपुर उद्योग संघका अध्यक्ष केबी रानाले महिलाहरुको आर्थिक सशक्तिकरणको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यपत्रमा राज्यले ऐन, कानून र नीति कार्यक्रम ल्याए पनि कार्यान्वयनमा फितलो भएको उल्लेख छ । 

प्रभु बैंकका शाखा प्रबन्धक दीर्घनारायण न्यौपानेले वित्तीय साक्षरता, महिला अभियान्ता रेखा पौडेलले महिला उद्यमशीलतामा सूचनाको पहँुच, कार्यक्रममा साना तथा घरेलु उद्योग महासंघकी केन्द्रीय सदस्य विन्दु काफ्ले पोख्रेल, साना तथा घरेलु उद्योग महासंघ ललितपुरका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, सिद्वार्थ आवासीय मावि कावासोतीका संस्थापक प्रधानाध्यापक भोजराज दाहालले आफ्नो व्यावसायिक अनुभव सुनाएका थिए । 

यसैबीच महिलामा लगानी, सभ्य तथा समुन्नत समाजको थालनी विषयमा प्यानल छलफल गरेको थियो ।  

प्यानल छलफलका क्रममा महिला उद्यमी मञ्च बागमती प्रदेश अध्यक्ष चन्दना कोइरालाले विगतमा नेपाल कपासमा आत्मनिर्भर तथा निर्यात गरे पनि आज मुस्किलले ३ प्रतिशत पनि उत्पादन हुन नसकेको बताइन् । 

‘नेपालको कपास अन्य देशको भन्दा अब्बल छ’, उनले भनिन्, ‘नेपालमा कपास खेतीको राम्रो सम्भावना छ । आफूले ८० प्रतिशत अष्ट्रेलिया, अमेरिका निर्यात गर्दै आएको र कच्चा पदार्थ नपाएर विदेशबाट आयात गर्नुपरेको छ ।’  
 
कृषि ज्ञान केन्द्र नवलपुरका अधिकृत विश्वास काफ्लेले नेपालमा कृषकको उत्पादन लागत बढी भएकाले लागत घटाउन अनुदान अन्य विकल्प खोजी आवश्यक रहेको बताए । 

चितवन महिला उद्यमी मञ्चकी अध्यक्ष तथा सौन्दर्य व्यवसायी सृजना स्वतीले नेपालमा ब्युटिपार्लर तालिमलाई प्रभावकारी बनाउन सकेमा राम्रो माग रहेको बताइन् । 

आफूले हालसम्म ७ हजार ८ सय जनालाई तालिम प्रदान गरेको र त्यसमध्ये ५ सय आफैँ स्वरोजगार र ४ हजार जनाले विदेशमा गएर राम्रो कमाइ गरेको अनुभव सुनाइन् । 

सम्मेलनमा बागमती र गण्डकी प्रदेशका करिब ५ सय जनाले सहभागीता जनाएका थिए । सम्मेलनको सहजीकरण प्रिन्सि काफ्ले र चौधरी फाउण्डेशनकी निर्देशक सुरवी चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न मौलिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ