arrow

फागुपूर्णिमा अर्थात् होली पर्व

logo
मनोज लामिछाने,
प्रकाशित २०८० चैत ११ आइतबार
manoj-lamichhane-80-12-10.jpg

फागुपूर्णिमा हिन्दू संस्कृतिअनुसार इतिहासको त्रेता युगसँग जोडिएको छ । प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख पर्व हो फागु पूर्णिमा । किम्बदन्तीअनुसार त्रेता युगमा हिरण्यकश्यपु नाम गरेका राक्षस थिए । उनी यतिसम्म क्रुर र नास्तिक थिए कि उनले आफ्नै छोरो प्रह्लादलाई पटक पटक मार्ने प्रयास गरे । 

प्रह्लादलाई आस्तिक र भगवान् विष्णुको परम भक्त भएका कारण उनले आफ्नो छोरालाई मार्ने धेरै पटक योजना बनाएका थिए र प्रत्येक पटक असफल भएका थिए । त्यसकारण पनि यो पर्वलाई प्रह्लादसँग जोडेर हेर्ने गरिएको छ । 

भगवान् विष्णुको परम भक्त प्रह्लादलाई मार्ने पटक पटकको अथक प्रयास पश्चात् पनि प्रह्लादलाई मार्न असफल भएपछि हिरण्यकश्यपुले आगोले पनि जलाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई मार्न प्रयोग गरेका थिए ।

भगवान् विष्णुको परम अनुकम्पाले आफ्नै भदा प्रह्लादलाई काखमा राखेर अग्निकुण्डमा बसेकी होलिका अग्नि कुण्डमा जलेर खाक भइन् तर प्रह्लादलाई अग्निले भष्म गर्न सकेन ।

अग्निमा बस्दा पनि प्रह्लादले विष्णु भगवान्को प्राथना गरेर बसेका कारण अग्निले भष्म गर्न सकेन बरु उल्टै होलिका भने भष्म भइन् । 

तसर्थ यसैको खुशीयालीमा हिन्दू धर्मावलम्बीहरूले फागुपूर्णिमा अर्थात् होली पर्व मनाउने गरेका हुन् । 

असत्यमाथि सत्यको जितको रूपमा मनाउने नेपालका धेरै पर्वहरूमध्ये फागुपूर्णिमा अर्थात् होली पनि एक हो । फागुन पूर्णिमा भनेर चिनिने यस पर्व फागुन शुक्ल पूर्णिमाको दिनमा मनाउने गरिन्छ ।

होलिकाको दहन भएकै कारण यस पर्वको नाम होली रहन गएको हो । यो पर्वले बसन्त ऋतुको आगमनको पनि उद्घोष गर्ने भएकोले होली रङ्गहरूको चाड हो ।

यो दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू छ्यापेर रङ्गिन बनाउँछन् । राती होलिका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

वृद्धवृद्धादेखि बालबालिकासम्म सबैले मनाउने यो होलीमा विशेषगरी युवाहरूबाट समय समयमा उश्रृंखल तथा अवान्छित तरिकाले मनाउने गर्दा विभिन्न खालका दुर्घटना हुने गरेको पाइन्छ । 

तीव्र गतिमा सवारी साधनको प्रयोग गर्ने, मादक पदार्थ सेवन गरी मोटरसाइकल कुदाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा दुई जनाभन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, हो हल्ला गर्ने, सवारी चालक अनुमति पत्र बिना सवारी साधन चलाउने तथा ट्राफिक नियम विपरीत सवारी चलाउने कारण पनि यदाकदा यसको गरिमा घटेको हो कि भन्ने भान हुन्छ । यसतर्फ सबैले ध्यान दिन आवश्यक छ ।
 
परम्परा मनाउनु पर्छ तर परम्पराको नाममा उश्रृंखल गतिविधि हुन दिनु हुँदैन । परम्परालाई सभ्य र मर्यादित बनाउन सबै सचेत हुनुपर्छ । 

वर्षको एकपटक खुशीयाली र हर्षको रुपमा मनाइने यो पर्व मनाउने क्रममा ध्यान पुर्याउन सकिएन भने जिन्दगीभर अपाङ्गता हुने वा ज्यानै जान सक्छ । यसतर्फ सबै सचेत हुन आवश्यक छ । 

परम्परालाई पनि जोगाऔँ खुशीयाली पनि मनाऔँ भन्ने सोचका साथ यो वर्षको होलीलाई सभ्य र मर्यादित भएर मनाऔँ र एक आपसमा खुशीयाली बाँडौँ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ