arrow

बदलिँदो नेपाली उपभोग

खाद्यान्नको आयात घटाएर मोबाइल, ल्यापटप किन्दैछन् नेपाली

सबैभन्दा बढी उपभोग हुने धान तथा चामलको आयातसमेत यो वर्ष घट्यो, मोबाइल फोन र ग्याजेटहरुको आयात बढ्यो

logo
शंकर अर्याल,
प्रकाशित २०८० चैत १२ सोमबार
food-mobile.jpg

काठमाडौँ । मान्छेको आवश्यकताको श्रृंखलामा खाद्यान्न, आवास र लत्ताकपडालाई आधारभूत आवश्यकता मानिन्छ । त्यो पूरा भएपछि मात्रै मान्छेले अरु विलासी वस्तुको उपभोग गर्छ भन्ने मान्यता राखिन्छ । तर पछिल्लो आयातको प्रवृत्तिले भने यो अवस्थालाई चुनौती दिएको छ । नेपाली उपभोक्ताले खाद्यान्नको आयात घटाएर मोबाइल फोन र ग्याजेटहरुको आयात बढाएका छन् । 

चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांक हो यो । यो अवधिमा नेपालमा १२ लाख ४९ हजार स्मार्टफोनहरु आयात भएका छन् । यो अघिल्लो वर्षको सोही समयको भन्दा करिब १४ प्रतिशत बढी हो ।

अघिल्लो वर्ष १० लाख ९४ हजार वटा मोबाइलको आयात भएको थियो । यही अवधिमा मोबाइलको चार्जर ३२ लाख ६७ हजार वटा आयात भएको छ । अघिल्लो वर्ष २० लाख वटा चार्जर आयात भएका थियो । त्यस्तै पावर बैंकको आयात करिब ७९ प्रतिशतले बढेर १ लाख २० हजार वटा पुगेको छ । 

यो वर्षको ८ महिनामा भएको मोबाइल आयातमध्ये भन्सार बिन्दुको औसत मूल्य १५ हजार  ५ सय रुपैयाँ छ । अघिल्लो वर्ष यस्तो औसत मूल्य १५ हजार १ सय रुपैयाँ थियो । यसले स्मार्टफोनको आयात बढेको मात्रै नभएर यस्तो फोनमा नेपाली ग्राहकले गर्ने औसत खर्चसमेत बढेको देखिन्छ । 

त्यस्तै यो अवधिमा ७७ हजार ७ सय वटा ल्यापटप तथा नोटबुकको आयात भएका छन् । अघिल्लो वर्ष ६१ हजार वटा ल्यापटपको आयात भएको थियो । यो वर्षको आयात अघिल्लो वर्षभन्दा २७ प्रतिशत बढी हो ।

त्यस्तै पावर बैंकको आयात ७८ प्रतिशत बढेर १ लाख २० हजार वटा पुगेको छ । अघिल्लो वर्षको फागुनसम्म ६७ हजार वटा आयात भएको थियो । अघिल्लो वर्ष ल्यापटपको भन्सार मूल्य औसत ६६ हजार ८ सय रुपैयाँ रहेकोमा यो वर्ष ६४ हजार ५ सय रुपैयाँमा झरेको छ । 

उता उपभोगजन्य कृषि सामग्रीमध्ये धेरै उपभोग हुने मुख्य वस्तुहरुको आयात यो अवधिमा घटेको छ । नेपालमा सबैभन्दा बढी उपभोग हुने धान तथा चामलको आयातसमेत यो वर्ष घटेको छ । अघिल्लो वर्ष फागुनसम्ममा ३ लाख ९४ हजार मेट्रिक टन आयात भएको धान यो वर्षको सोही अवधिमा घटेर २ लाख २८ हजार मेट्रिक टनमा झरेको छ । 

त्यस्तै चामलको आयात करिब ५४ प्रतिशतले घटेर ६२ हजार मेट्रिक टनमा झरेको छ । अघिल्लो वर्ष फागुनसम्म १ लाख ३४ हजार मेट्रिक टन आयात भएको थियो । यो बासमती चामल  अन्य चामलको कुल आयातको परिमाण हो । 

अघिल्लो वर्ष २ लाख ३९ हजार मेट्रिकटन रहेको आलुको आयात यो अवधिमा २ लाख मेट्रिकटनमा झरेको छ । यो करिब १६ प्रतिशतको गिरावट हो । मकैको आयातसमेत २० प्रतिशतले घटेर २ लाख मेट्रिक टनमा सीमित भएको छ । 

त्यस्तै सुकेको प्याजको आयात करिब ६९ प्रतिशतले घटेर करिब ११ सय ८५ मेट्रिक टनबाट घटेर ३ सय ६९ मेट्रिक टनमा झरेको छ । त्यस्तै सोयाबिन तेलको आयात २८ प्रतिशतले घटेर ३२ हजार मेट्रिक टनमा झरेको छ । 

अघिल्लो वर्ष यस्तो आयात ४ लाख ५२ हजार मेट्रिक टन रहेको थियो । मटमासको आयात समेत ५४ प्रतिशतले घटेर ५९ हजार मेट्रिक टनमा झरेको छ । उता टमाटरको आयात ३९ प्रतिशतले घटेर १८ हजार मेट्रिक टनमा झरेको छ । स्याउको आयात ४ प्रतिशतले घटेर ५४ हजार मेट्रिक टनमा सीमित भएको छ । 

यद्यपि यो अवधिमा गहुँको आयात बढेर करिब तेब्बर पुगेको छ । अघिल्लो वर्ष २३ हजार मेट्रिक टन रहेको गहुँको आयात यो वर्ष बढेर ६४ हजार मेट्रिक टन पुगेको हो ।

८ महिनाको अवधिमा लेज, कुरकुरे, चिजबलको आयात २७ प्रतिशतले बढेर एक हजार मेट्रिक टन पुग्दा ताजा केराको आयातसमेत बढेर २८ हजार मेट्रिक टन पुगेको छ ।

किन घट्दैछ खाद्यान्नको आयात ? 
कृषि विज्ञहरु अहिले खाद्यान्नको आयात घट्नुमा प्रमुख चार कारणलाई महत्वूर्ण मान्छन् । कृषि विज्ञ डा. महादेव पौडेलका अनुसार यो अवधिमा कृषिजन्य आयात घट्नुको पछाडि भारतले लगाएको निर्यात प्रतिबन्ध, युवा जनसंख्याको विदेशिने प्रवृत्ति, आर्थिक मन्दीको असर र नेपालीको बदलिँदो उपभोग प्रवृत्ति मुख्य कारण छन् । 

यो वर्ष भारतले चामल, प्याज र चिनीको आयातमा प्रतिबन्ध लगायो । निश्चित समय तोकेर कुनै वस्तुमा परिमाणात्मक बन्देज लगाइएको थियो भने कुनै वस्तुमा पूर्ण बन्देज लगाएको थियो । 

भारतले गत साउनमा विश्वभर नै गैर बासमती र सेतो चामलको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि विभिन्न देशका लागि त्यस्तो प्रतिबन्ध खुला गर्दै जाँदा कात्तिकदेखि मात्रै नेपालमा चामलको आयात चालु भएको थियो । 

त्यस्तै भारतले प्याज निर्यातमासमेत मंसिरदेखि पूर्ण रुपमा प्रतिबन्ध लगाउँदै आएको छ, यो प्रतिबन्ध अझै कायमै छ । चिनीको निर्यातमा भएको परिमाणत्मक बन्देज तथा आयातमा नेपाली पक्षको ढिलाइका कारणलेसमेत चिनीको आयात पनि यो वर्ष घटेको देखिन्छ । 

नेपालमा उत्पादन वृद्धि हुँदासमेत आयातमा केही कमी आएको विज्ञहरु बताउँछन् । अघिल्लो वर्ष धानको उत्पादन बढेका कारण पनि चालु आवमा धानको आयात घट्न सम्भव देखिएको छ ।

अघिल्लो वर्ष नेपालमा ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको अनुमान छ जुन अघिल्लो वर्षको भन्दा ६.९४ प्रतिशत बढी रहेको कृषि विभागको तथ्यांक छ । यो वर्षको यकीन तथ्यांक आएको छैन । यद्यपि यो वर्ष समेत धान उत्पादनमा सामान्य वृद्धि भएको विज्ञहरुको भनाइ छ । 

त्यस्तै धेरै उपभोग गर्ने युवाशक्ति विदेश जाने प्रवृत्तिका कारणले पनि नेपालको आन्तरिक उपभोग घट्दै गएको विज्ञहरुको तर्क छ । यद्यपि यो समस्या अहिलेको मात्रै नभएर विगतदेखि नै देखिँदै आएको हो । यो वर्ष यसरी विदेश जान श्रम स्वीकृति लिनेको तथ्यांक केही घटेको देखिन्छ । उच्च शिक्षाको लागि विदेश जानेको संख्या भने यो वर्ष पनि बढेको छ । 

यो वर्ष भने आर्थिक मन्दीको असरले आयातमा गिरावट आएको देखिन्छ । मन्दीले आन्तरिक बजार शिथिल हुँदै जाँदा यसले देशभित्र काम तथा व्यवसाय गर्नेले आयात घटाएका छन् । आर्थिक संकट कति गहिरिँदै जाने हो भन्ने अन्यौलताका कारणले पनि अहिले खुलेर खर्च गर्न उपभोक्ता डराउँदा आयात घट्दै गएको हो । 

व्यवसायीहरु भने कृषिजन्य पदार्थमा अहिले आयातमा देखिएको कमी वास्तविक नरहेको बताउँछन् । भारतबाट निर्यातमा प्रतिबन्ध वा परिमाणात्मक बन्देज हुँदा भन्सार विन्दुबाट हुने वैधानिक आयातमा कमि देखिए पनि अवैध आयात बढ्ने भएकोले यसलाई वास्तविक आयात मान्न सक्ने अवस्था नरहेको उनीहरुको तर्क छ । 

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल भारतको प्रतिबन्ध वा कर छल्ने प्रवृत्तिका कारण चोरी पैठारी हुने गरेको भन्दै भन्सारमा देखिएको तथ्यांकलाई वास्तविक मान्न नमिल्ने बताउँछन् । व्यवसायिक वातावरण बनाउन भन्सारलाई सहज बनाउने र अन्य चोरी पैठारीलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।
 



नयाँ