arrow

भण्डारी दोस्रो पटक उद्योग मन्त्री हुँदा मदिरा, सुपारी र क्रसर व्यवसायीलाई कारोबारको अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
damodhar-bhandari-05-09.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । दामोदर भण्डारी दोस्रो पटक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएर आएपछि मदिरा, सुपारी र क्रसर व्यवसायीहरुले कारोबारको अनुमति पाएका छन् । 

उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाले त्यसका लागि कार्ययोजना नै बनाएर मन्त्रालयमा पेश गरेपछि मन्त्रीको निर्देशनबाट अनुमति पाएका हुन् । उद्योगीहरुको समस्यालाई एकातिर राखेर उनीहरुले सेटिङको अनुमति दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

‘गत साउनमै यो निर्णय भएको हो, औद्योगिक तथा लगानी प्रर्वद्धन बोर्डको बैठकले अधिकांश विवादास्पद निर्णयहरु गरेको छ’, मन्त्रालय स्रोतले भन्यो ।

औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको २४२ औँ बैठकबाट बोर्डका सदस्य सचिव यज्ञराज कोइरालाले १७ वटा एजेण्डा बोर्डमा पेश गरेका छन् । 

बोर्डमा पेश गरेका एजेन्डाहरुमध्ये अधिकांश सुपारी, मदिरा, खानी, बालुवा प्रशोधन सम्बन्धी उद्योग रहेका छन् । 

पछिल्लो समय औद्योगिक तथा लगानी प्रवर्धन बोर्ड नीतिगत भ्रष्टाचारको केन्द्र बन्दै गएको अवस्थामा मन्त्री भण्डारीको निर्देशन बेगर यो एजेण्डा बोर्डमा आउन नसक्ने स्रोतको दाबी छ । 

दोस्रो पटक मन्त्री दोहोरिएका भण्डारीले महानिर्देशक कोइरालालाई सुपारी आयात र निर्यातकर्तालाई सहज हुनेगरी निर्णय गराउन लागिपरेका छन् ।

उद्योगहरुको उत्पादन क्षमता वृद्धि गर्नका लागि पनि बोर्डबाट स्वीकृति लिनुपर्ने व्यवस्थाको दुरुपयोग गर्दै नीतिगत भ्रष्टाचार हुने गरेको छ । 

बोर्डको साउन १६ गते बसेको बैठकले पनि केही मदिरा उद्योग र गुट्खा उद्योगको क्षमता वृद्धि गरेको छ ।

बैठकको १५, १६, र  १७ नम्बर एजेन्डामा गुड्खा उद्योगको क्षमता वृद्धि गर्ने निर्णय गरेको हो । जसमा मधु प्रोडक्टस् प्राइभेट फर्मको पूँजी तथा क्षमता वृद्धि गरेको छ ।  फ्रेग्रेन्सेस प्रा.लि. को पूँजी तथा क्षमता वृद्धि  गरेको छ । 

यस्तै श्री श्याम उद्योग प्रा.लि. को पूँजी तथा क्षमता वृद्धि स्वीकृति प्रदान गरेको छ । यी उद्योगहरुले क्षमता बढाएर वस्तुको उत्पादन भन्दा पनि सुपारी आयातको कोटा बढाउनका लाग मात्रै अनुमति लिएका हुन् ।
अहिले औद्योगिक प्रयोजनका लागि मात्रै सुपारीको आयात गर्न पाइन्छ । उद्योग मन्त्रालयले नै नीतिगत भ्रष्टाचार गर्न सुनियोजित सुपारी आयत सम्बन्धी कार्यविधि बनाएर राखेको छ । 

मन्त्रालयले गोप्य राखेको सो कार्यविधि अनुसार औद्योगिक प्रयोजनका लागि मात्रै सुपारी आयात गर्न पाइन्छ ।

सुपारीको बजार भने नेपाल नभएर भारत हो । भारतमा सुपारी निकै महँगो हुने भएकाले नेपालमा आयात गरी केही सुपारी नेपालमै उत्पादन भएको भनी भारत निर्यात गर्ने गरिन्छ भने केही सुपारी अवैध रुपमा तस्करी गर्ने गरिन्छ । 

प्रतिकिलोमै राम्रो मुनाफा हुने भएपछि व्यवसायीहरु सुपारी ल्याउन उत्साही हुने गरेका छन् । झापा, मोरङ, सुनसरी, बाँके, रुपन्देहीबाट सुपारी भारततर्फ निकासी गरिँदै आएको छ ।

बोर्डको २४२ औं बैठकबाट तीन वटा मदिरा उद्योगको पूँजी तथा क्षमता वृद्धि भएको छ । बोर्ड बैठकको १२, १३ र १४ नम्बर एजेन्डामा राखिएको मदिरा कम्पनीहरुको पूँजी तथा क्षमता वृद्धि गरेको हो । 

पूँजी वृद्धि हुने मदिरा उद्योगहरुमा देवचुली डिष्टिलरी प्रा. लि, धनुषा डिष्टिलरी प्रा.लि. र गोल्डेन ग्लोब लिकर्स प्रा.लि. रहेका छन् । यी प्रालिहरु सबैको पूँजी र क्षमता वृद्धि गरेको हो ।

मदिरा उद्योगलाई औद्योगिक व्यवसाय ऐनले अनुमति लिनपर्ने उद्योगको सूचीमा समावेश गरेको छ । प्रत्येक उद्योगले क्षमता वृद्धि गर्न बोर्डबाट अनिवार्य स्वीकृति लिनुपर्छ । तर यसरी अनुमति लिँदा उद्योगीहरुले उद्योग विभागका महानिर्देशक र उद्योग मन्त्रीलाई अनिवार्य खुशी बनाउनु पर्ने स्रोतको दाबी छ ।

मन्त्रालय स्रोतका अनुसार बोर्ड बैठकमा आउने यस्ता प्रस्तावहरु उद्योगको बढ्ने क्षमता र पूँजीको आधारमा कमिशन नबुझाएसम्म कुनै निर्णय हुँदैन । 

‘उद्योगको क्षमता वृद्धि गर्ने विषय नौलो होइन तर १० वटा उद्योगको क्षमता वृद्धि गर्न परेको निवेदनमा के आधारमा ३ वटा कम्पनी मात्रै छनोट हुन्छ, अहिलेको गुट्खा उद्योग र मदिरा उद्योगको क्षमता वृद्धिको अवस्था हेर्दा पनि सेटिङमा काम भएको स्पष्ट हुन्छ,’ स्रोतले भन्यो । 

यसअघि पनि कार्यविधि बनाएर सुपारीको निर्यात गर्दै आएका थिए ।

२०७९ जेठमा तेस्रो मुलुकबाट सुपारी आयात गरेर भारततर्फ तस्करी गर्नेहरुलाई निरुत्साहित गर्ने गरी सरकारले सुपारी आयातमा किलोकै थप ७५ रुपैयाँ कर लिन थालेको थियो । 

करलाई पुनरावलोकन गर्नुपर्नेमा सरकारले त्यतिमै राखेर झन् प्रश्रय दिएको छ । आर्थिक वर्ष २०७९–८० का लागि आएको बजेटबाटै सरकारले सुपारीसहित विभिन्न तस्करीको जोखिम रहेका वस्तुको अन्तःशुल्क दर बढाएको भए पनि नेपालमै उत्पादित भएको देखाएर तस्करी गर्दै आएका थिए । 

भारतमा तस्करी गर्नकै लागि हरेक वर्ष सुपारी नेपाल भित्राउने गरिएको छ । नेपालमा उत्पादन भएको सुपारी बिक्री नहुने अवस्था हुँदा पनि सुपारीको आयातमा ठूलो विदेशी मुद्रा बाहिरिने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ