arrow

गाँजा तस्करीमा संलग्न प्रहरीलाई ठालुकै संरक्षण

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८० चैत १५ बिहिबार
sai-sikindra-sah-asai-biren.jpg

वीरगञ्ज । नेपाल प्रहरीभित्र चोरलाई चौतारी र साधुलाई शुली चढाउने गरेको एउटा तथ्य सहितको घटना फेरि बाहिरिएको छ । घटनाविवरण अनुसार २०७९ साउन १५ गते राति ९:४५ बजे सिम्रौनगढ नगरपालिका वडा नं २ महुवाहीदेखि ढाट टोला जाने बाटोमा असई नरेश यादवको टोलीले ३५ केजी गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

अनुसन्धान गर्दै जाँदा गाँजा तस्करीमा संलग्न भारत बिहार मोतीहरी थाना विजबनिया अगर्वा पञ्चायत वडा नं १ बस्ने विकासकुमार यादव, राजमोहनकुमार यादव र अजयकुमार यादवलाई बारा प्रहरी पक्राउ गर्नमा सफल रह्यो । 

सो बखत पथलवा घाट प्रहरी चौकीका इन्चार्ज थिए असई वीरेन्द्र यादव । अनुसन्धानका क्रममा असई यादवकै मिलिभगतमा गाँजा तस्करी भएको प्रमाण प्रहरीले जुटायो । तस्करहरुसँग असई यादवले पटक–पटक कुराकानी गरेको यस क्रममा पत्ता लाग्यो। उनले प्रयोग गर्ने मोबाइलको कल रेकर्ड हाम्राकुरासँग सुरक्षित छ।

सो बखत बारामा प्रहरी उपरीक्षक थिए होबिन्द्र बोगटी। बोगटीले वीरेन्द्र यादव माथि कार्वाही गर्न आँट गरेनन्। कारण बुझ्दै जाँदा असई यादवलाई एआईजी मीरा चौधरीको संरक्षण रहेको थियो । असई यादवका परिवारले एआईजी मीरा चौधरीको जीतपुर परसवामा रहेको खेतबारी र पोखरीको हेरचाह वर्षौदेखि गर्दै आएका छन् । यसैको प्रतिफल उनलाई कारबाही केवल देखावटीमात्र भयो । त्यस प्रकरणमा उनी कारबाहीमा परे पनि उनलाई उन्मुक्ति दिएर जीतपुर ईलाका प्रहरी कार्यालयमा पठाइएको छ । 

यसैगरी नेपाल प्रहरीका प्रहरी महानिरीक्षाक (आईजीपी) बसन्तबहादुर कुँवरको भित्रिया रहेर काम गरेका अर्का एक सई सिकिन्द्र साह कानूलाई पनि चोख्याउने काम भएको छ । सई कानू बसन्त कुँवर चितवनमा प्रहरी उपरीक्षक हुँदा उनको सादा पोशाकमा खटिने घुमुवा थिए । कुँवर मधेस प्रदेशको डीआईजी हुँदा पनि सिकिन्द्रको रजगज चलेको थियो ।

गौर नगरपालिकाका मेयर शम्भु साह कानूको तस्करी धन्दा बाह्रैमास गौर भंसारको मुख्य नाकाबाट हुने गरेको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका खास निकट शम्भुको यस नाकामा तस्करीको एकल लाइन छ। 

गौर भंसारमा आफ्नो रजगजमा सघाएको भन्दै शम्भुको रोजाइमा सिकिन्द्र पर्दै आएका थिए । सिकिन्द्र गौर भंसारको सुरक्षा गार्डको प्रमुख भई लामो समयदेखि काम गर्दै आएका थिए । 

सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलीभगतमा काम भइरहेको जानकारी पाएपछि राजश्व अनुसन्धान विभागको टोली एक महिना अगाडि छापा मारेर करोडौँको मालसहित ट्रक पक्राउ गरेर लगेपछि अहिले सिकिन्द्रलाई विजयपुर लछमिनिया इलाका प्रहरी कार्यालयमा पठाइएको छ ।

मधेस प्रदेशमा नेपाल प्रहरीको शिर उँचो राख्ने प्रहरीलाई छानी छानी कारबाही गर्ने र आफ्नो स्वार्थको लागि खट्ने बदनाम प्रहरीलाई पुरस्कृत गर्ने काम भइरहेको भन्दै सुरक्षा निकायभित्रै असन्तुष्टि व्याप्त छ । इमानदार प्रहरीहरुले अपमान सहिरहने कि आवाज उठाउने भनेर खुल्न सकेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ