arrow

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै युवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
strawberry-google.jpg

देउखुरी । लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म भएका छन् । चरा र कीराले नखाओस् भनेर सेतो पातलो कपडाले छोपिएको छ ।

वाणगङ्गा नगरपालिका कपिलवस्तुमा पाँच वर्ष पहिलेदेखि फूलखेती गरिरहेका भास्कर पङ्गेनी र दशरथ साउदले दाङको घोराही उपमहानगरपालिका-१५ भरतपुरमा १७ कठ्ठा जमिन मासिक रु दुई हजार भाडा दिने शर्तमा विगत दुई वर्षदेखि सयपत्री खेती गरेका थिए । 

उनीहरुले सोही स्थानमा अहिले स्ट्रबेरी खेती गरेका छन् । दाङको हावापानी सुहाउँदो केही खेती गरौँ भन्ने साथीहरुसँग सल्लाह गरी स्ट्रबेरी खेती परीक्षणको लागि गरौँ कस्तो हुन्छ भनी खेती गरेको पङ्गेनीले बताए । पहिलो प्रयास सफल भएकोमा उनी धेरै खुसी छन् । 

‘१०८ डिभाइन एग्रो’ नामको फमबाट तिहारको समयमा सयपत्री फूलखेती गरेका उहाँहरुले सयपत्रीको याम सकिएपछि स्ट्रबेरी खेती गरेको फम सञ्चालक दशरथ साउदले बताए । 

पहिलो वर्ष खेती गरेका छौँ, इजिप्टबाट बिरुवा ल्याएर रोपेकका हौं राम्रो आम्दानी भयो । दुई वटा विदेशी जातका आठ हजार बिरुवा रहेको उनले बताए । एउटा बिरुवाबाट एक किलोसम्म फल दिएको उनले बताए । 

उत्पादन रु पाँच सयप्रति किलोका दरमा बिक्री भइरहेको छ । एक किलो किन्दा एक किलो निःशुल्क दिइरहेको उनले बताए । यो योजना यो हप्ताका लागिमात्र भएको जनाइएको छ । 

स्थानीयवासीलाई फममा आएर स्ट्रबेरीमा फोटो भिडियो बनाउने सुबिधा पनि रहेको र दैनिक ५० देखि ६० जना स्ट्रबेरी हेर्न, खान र फोटो खिच्न आउने गरेको साउदले बताए । 

मङ्सिरमा बिरुवा रोपेको ४० दिनदेखि फल्न सुरु गर्यो । अहिलेसम्म डेढ क्विन्टल बिक्री भएको साउदले जानकारी दिए । रु पाँच लाख आम्दानी भइसकेको छ ।

लमही, तुलसीपुरमा पाँच किलो दैनिक ग्रहाकले नियमित लैजाने गरेको उनले बताए । घोराही, बुटवलमा माग अनुसार पठाउने गरेका छौँ । दैनिक ५० किलोसम्म बिक्री हुने गरेको छ । 

ग्राहक फममै आउने र आउन नसकेकाको लागि डेलिभरी गरिदिने गरेको उनले बताए । मङ्सिरमा रोपेको बिरुवाले वैशाखसम्म फल दिने आशा गरेको उनले सुनाए ।

दाङको हावा पानीमा राम्रो उत्पादन हुने रहेछ । अलिकति मेहनत गरेर पसिना बगाए स्वदेशमै केही गर्न सकिने उनको अनुभव छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ