arrow

तराईका जिल्ला कमाण्ड गरिएका एसपीलाई ५० दिनमै विना कारण काज सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २४ शनिबार
police-head-Q.jpeg
तस्बिर : फाइल

काठमाडौँ। प्रहरी महानिरीक्षकको तजबिजीमा सरुवा हुने एसपीमा गृह मन्त्रालयले हस्तक्षेप गरेको छ। मन्त्रालय हस्तक्षेप गर्दा प्रहरी प्रधान कार्यालयले केही जिल्लाका एसपीलाई ५० दिनमै काज सरुवाको नाममा फिर्ता गरेको छ। जिल्ला कमाण्ड गर्न गएका अधिकृतलाई सामान्यतया १० महिना पुगेपछि सरुवा गर्ने नियम विपरीत प्रहरी प्रधान कार्यालयले ७ जिल्लाका एसपीलाई अवधि नै नपुगी काज फिर्ता गरेको हो। फागुन ३ गते सरुवा भएका एसपीहरूलाई प्रहरी प्रधान कार्यालय मात्र फिर्ता गर्न सक्ने अवस्था नभएकाले त्यहाँ गृह मन्त्रालयको र गृहमन्त्रीकै हस्तक्षेप रहेको स्रोतको दाबी छ।

जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) लाई अवधि नै ५० दिनमा कुनै कुनै यूनिटको भ्रमण समेत गर्न नभ्याएको अवस्थामा सरुवा गर्नुमा आइजिपी वसन्त कुँवरले कुनै प्रतिरक्षा गर्न सकेन वा उनकै तजबिजीमा सरुवा भएको हो भन्नेबारेमा केही नखुलाइए पनि गृहमन्त्रीकै हस्तक्षेप रहेको प्रस्ट देखिएको छ। तराई मदेसका जिल्लामा मात्रै गृहमन्त्रीले टार्गेट गरेको स्रोतको दाबी छ। सर्लाही, महोत्तरी, बाँके, धनुषा, बाराका प्रहरी  प्रमुखलाई अवधि नै नपुगी सरुवा गरिएको छ। प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइरालालाई पठाउँदा एसपी सञ्जयसिंह थापालाई  सुन तस्करी प्रकरणमा तानिएको थियो। यसै गरी मित्रबन्धु शर्मा धनुषा पुगेको ५०दिनमै फिर्ता भए।

यस्तै बाँकेको प्रहरी प्रमुखमा तुललबहादुर कार्कीलाई पठाइएको छ। सुवास बोहरा रहेको स्थानमा उनलाई पठाइएको हो। विभिन्न बहानामा बोहोराको सरुवा गरिएको छ। सर्लाहीमा पुगेका दयानिधि ज्ञवाली पनि ५० दिनमै फिर्ता हुने अर्का प्रहरी अधिकारी हुन्। यस्तै बारा प्रहरी प्रमुखमा एसपी महेन्द्र खड्कालाई पठाइएको छ भने रौतहट प्रहरी प्रमुखमा एसपी दिलीप घिमिरेलाई पठाइएको छ। यसै गरी सर्लाहीको प्रहरी प्रमुखमा एसपी रवीन्द्र सिंह, महोत्तरीको प्रहरी प्रमुखमा एसपी नहकुल पोखरेल पठाइएको छ। पोखरेल केही महिना अघि मात्रै सरुवा भएर काठमाडौँ आएका थिए।

धनुषाको प्रहरी प्रमुखमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यहाँ यसअघि विश्वराज खड्का रहेका थिए। उनको स्थानमा मित्रबन्धु शर्मालाई खटाइएको थियो। फागुन ३ गते सरुवा भएका एसपीले कार्यक्षेत्रमा के कमजोरी गरे भन्ने बारेमा कुनै कारण खुलाइएको छैन। प्रहरी महानिरीक्षक वसन्त कुँवरले गृहमन्त्रीको आदेश कार्यान्वयन गर्दा उनीहरूको सरुवा भएको मन्त्रालय स्रोतले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ