arrow

हिजो प्रश्न सोध्ने ठाउँबाट आज जवाफ दिने ठाउँमा आएको छु : मुख्यमन्त्री कँडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
yamlal-kandel-uml-karnali.jpg
तस्बिर-फाइल

कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकास र समृद्धिका लागि सबै जुट्नुपर्ने बताएका छन् ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको बसेको तेस्रो अधिवेशनको सातौँ बैठकमा उनले प्रभावकारी संयोजनद्वारा मात्र जनताका आशा पुरा गर्न सकिने उल्लेख गरे । 

मुख्यमन्त्री कँडेलले भने, “हिजो प्रश्न सोध्ने ठाउँबाट आज जवाफ दिने ठाउँमा आएको छु । जनअपेक्षा अनुसार विधेयक ल्याउनुपर्ने र केही निरुपण गर्नुपर्ने अवस्था छ । विगतको तरिकाललाई सकेसम्म बदल्ने र रकमान्तर नगर्ने गरी बजेट ल्याउने कुरामा हामी सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नै पर्दछ ।” 

यस पटकको नीति तथा कार्यक्रम र बजेट जनसरोकारसँग सम्बन्धित हुने मुख्यमन्त्री कँडेलको भनाइ थियो । 

व्यक्ति अनुकूलभन्दा संस्थागत विकासमा सहयोग पुग्ने बजेट ल्याउने कुरामा मद्दत गर्न आग्रह गर्दै उनले सन्तुलित विकासको अवधारणा अनुसार आवश्यकताका आधारमा बजेट वितरण र योजना छान्ने काममा सबै प्रदेशसभा सदस्यको सकरात्मक भूमिकाको खाँचो औँल्याए ।

बजेट तर्जुमा योजना निर्माण र वितरण गर्ने प्रक्रियालाई व्यवस्थित बनाएर लैजाने उनले बताए । 

“अब अलमल नगरी छिटोछरितो विकास योजना निर्माण गर्नुपर्दछ । कर्णालीमा विकासको सही संस्कृति स्थापित गर्दै लैजाने जिम्मेवारी काँधमा आएको छ । यसका लागि सबै सरोकारवालाको सहयोग समर्थन आवश्यक छ”, मुख्यमन्त्री कँडेलले भने । 

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले सरकारका सकरात्मक कार्यमा सहयोग गर्ने र गलत प्रवृतिकाविरुद्ध सरकारको खबरदारी गरिरहने उल्लेख गर्दै मुख्यमन्त्री कँडेललाई कार्यकाल सफलताको शुभकामना दिए । 

कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक रनसिंह परियार, नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य कल्याणी खड्का र राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री कँडेलाई बधाईसहित शुभकामना व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ