arrow

पर्खाइ नतिजाको

लगानी सम्मेलनमा उत्तरी दबदबा, कसरी हुँदैछ तयारी ?

विभिन्न देशका एक हजार ४ सय भन्दा धेरैलाई निमन्त्रणा, हालसम्म ५० देशका ७ सय ७६ जनाको कन्फर्मेसन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
investment-summit-lagani-sa.jpg

काठमाडौँ । लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ता दबदबा देखिने भएको छ । सरकारले यही बैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनमा उपस्थितिका हिसाबले चिनियाँ लगानीकर्ता सबैभन्दा धेरै उपस्थित हुने देखिएको लगानी बोर्डले जनाएको छ । 

नेपाली लगानीकर्ताकै हाराहारीमा चिनियाँ लगानीकर्ताको उपस्थिति रहने देखिएको हो । सम्मेलनमा सहभागी हुन विभिन्न देशका १ हजार ४ सय भन्दा धेरैलाई निमन्त्रणा पठाइएकोमा हालसम्म ५० देशका ७ सय ७६ जनाले कन्फर्मेसन दिएको लगानी बोर्डका प्रवक्ता प्रध्युम्न उपाध्यायले जानकारी दिए । त्यसमध्ये नेपाली लगानीकर्ताको संख्या २ सय ४१ जना हुँदा चिनियाँ लगानीकर्ताको संख्या २ सय १५ जना रहेको लगानी बोर्डले जनाएको छ । 

भारतीय लगानीकर्ताको उपस्थिति भने यो सम्मेलनमा तुलनात्मक रुपमा कम देखिएको छ । बोर्डका अनुसार सम्मेलनमा सहभागी हुने गरी हालसम्म १ सय १३ भारतीय लगानीकर्ताले मात्रै निश्चित गरेका छन् । 

त्यस्तै अमेरिकाबाट ३२ जना, नापानबाट २५ जना, बेलायतबाट १४ जना, बंगलादेशबाट १३ जना र यूएई र जर्मनीबाट १०-१० जना लगानीकर्ता सहभागी हुने बोर्डले जनाएको छ ।

अन्य मुलुकबाट सहभागी हुनेको संख्या भने हालसम्म एकल अंकमा मात्रै छ । त्यसमध्ये मलेसियाबाट ९ जना, दक्षिण अफ्रिका र अष्ट्रेलियाबाट ८–८ जना, पाकिस्तानबाट ७ जना, सिंगापुर र घानाबाट ५र५ जना, साउदी अरब, प्राmन्स र बहराइनबाट ४र४ जना सहभागी हुनेछन् । 

त्यस्तै हालसम्म कतार, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, अष्ट्रिया र कोलम्बियाबाट ३–३ जनाले उपस्थितिको निश्चित गरेका छन् । रुस, पिलिपिन्स, श्रीलंका, कुवेत, क्यानडा, बेल्जियमबाट २–२ जना र अन्य २२ वटा देशबाट १–१ जना लगानीकर्ताहरु सहभागी हुने निश्चित भएको बोर्डले जनाएको छ ।

चिनियाँको उपस्थिति लगातार बढ्दै 

बोर्डको आमन्त्रण स्वीकार गरेर पछिल्लो दिनमा आउने कन्फर्म गर्नेमा पछिल्लो समय चिनियाँ लगानीकर्ता बढी देखिएका छन् । पाँच दिन अघिसम्म ४ सय ६२ जनाको उपस्थिति निश्चित हुँदा चिनियाँ लगानीकर्ताको संख्या ६४ मात्रै थियो । त्यसपछि थप भएका ३ सय १५ जनामध्ये १ सय ५१ जना चिनियाँ लगानी छन् भने ८० जना नेपाली र ५६ जना भारतीय लगानीकर्ता छन् । 

सम्मेलनमा एक हजार भन्दा बढी सहभागी रहने अपेक्षा बोर्डले गरेको छ । त्यसमध्ये ६ सय जना विदेशी लगानीकर्ता आउनसक्ने अनुमान रहेको बोर्डले जनाएको छ । 

सत्ता समीकरण परिवर्तन भएसँगै सरकार चीनसँग नजिक हुँदा चिनियाँ लगानीकर्ताको उपस्थितिसमेत बाक्लिएको हो । यसअघि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ८ दिनसम्म चीन भ्रमण गरेका थिए । यो मुलुकको भन्दा पार्टीको काममा सक्रिय देखिएका नारायणकाजीको भ्रमणको प्रभाव सम्मेलनको सहभागीमा परेको विश्लेषण गरिएको छ । 

त्यसो त दोस्रो लगानी सम्मेलनमासमेत चिनियाँ लगानीकर्ताकै उपस्थिति बढी थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सरकार हुँदा गरिएको उक्त सम्मेलनमा चीनबाट २ सय ६५ जना सहभागी हुँदा भारतबाट १ सय २० जनामात्रै सहभागी भएका थिए । अमेरिकाबाट सहभागी हुनेको संख्या १० जना मात्रै रहेको थियो । यसपटक यो संख्या उल्लेख्य रुपमा बढेको छ । 

यद्यपि यस पटक पनि विश्वका चर्चित व्यवसायीहरु भने लगानी सम्मेलनमा उपस्थिति हुने देखिएको छैन । हालसम्म यस्तो कुनै अनुहारले पनि सम्मेलनमा उपस्थितिको लागि कन्फर्मेसन नदिएको बोर्डले जनाएको छ । 

विश्वका ठूला लगानीकर्ताहरुले सामान्यतया एक वर्षको लागि सेड्युल पहिले नै तयार गर्ने भएकोले लगानी सम्मेलनको मिति घोषणा तथा निम्ता पठाउन ढिलाइ हुँदा निम्ता दिन यसमा प्रगति नदेखिएको बोर्डको विश्लेषण छ ।  

कसरी हुँदैछ तयारी ? 

सम्मेलन अन्तर्गत अहिले पनि प्रचारप्रसारको काम भइरहेको छ । त्यस्तै अहिले पाहुनाहरुको अनलाइन रजिष्ट्रेसनको धमाधम रुपमा चलिरहेको बोर्डले जनाएको छ । उता सम्मेलनको आन्तरिक तयारी अन्तर्गत सेसनको निर्धारण तथा प्रस्तुतीकरणको विषयमा समेत एकैसाथ काम भइरहेको छ । 

उता पाहुनाहरुलाई स्वागत गर्ने क्रम पनि शुरु भएको छ । उपस्थित हुने पाहुनालाई विभिन्न स्तरका होटलहरुसँग सहकार्य गरेर आवासको व्यवस्थापन गरिएको छ । त्यस्तै सम्मेलनका लागि बाटोघाटो सरसफाइका लागि काठमाडौँ महानगरपालिकासँग बोर्डले समन्वय गरिहरको उपाध्यायको भनाइ छ । 

त्यस्तै लगानी सम्मेलनका प्रस्तुत गर्न प्राविधिक समितिले १ सय ४८ आयोजनालाई विभिन्न चरणमा विभाजन गरेर सूची तयार गरी कार्यान्वयन समितिमा पठाएको छ । कार्यान्वयन समितिले एकाध आयोजना थप गर्नसक्ने अवस्था बाहेक यो नै अन्तिम भएको बोर्डले जनाएको छ ।

सम्मेलनको तयारीका लागि सरकारले निर्देशक समिति, कार्यान्वयन समिति र प्राविधिक समिति बनाएको थियो । निर्देशक समितिमा अर्थमन्त्री, कार्यान्वयन समितिमा मुख्यसचिव र प्राविधिक समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्व रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ