- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् । सोमवार ललितपुरको गोदावरीमा नेकपा एमालेको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले पहिलाको जस्तो गरेर हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा आफूहरू नरहेको जिकिर गरे ।
उनले यसअघि कम्युनिष्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको बताए । उनले अहिले कम्युनिष्ट पार्टीहरूबिच सहकार्यको सुरुवात भएको भन्दै जनतालाई र देशलाई राम्रो सेवा दिने अवसर रहेको बताए । उनले जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिष्टहरुको बीचमा स्वतः नै एकताको आधारभूमि तयार हुने दाबी गरे । उनले संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढिकरणमा इमानदार भएर लाग्नु आजको आवश्यकता भएको बताए ।
प्रचण्डले भने, ‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ । हामी त्यो बेलामा अलि बढी हौसिएछ की, समय भन्दा अगाडि नै दौडिइएछ की भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले । त्यसकारण अहिले हामी सहकार्य शुरु गरेका छौँ, राम्रो सहकार्य गरौँ । यसबाट जनतालाई र देशलाई राम्रो सेवा दिऊँ । त्यसो हुँदै गयो भने राजनीतिक दलहरूको बीचमा, कम्युनिष्टहरुको बीचमा स्वतः नै आधार भूमि तयार हुन्छ, एकताको, समझदारीको । त्यो ढंगबाट जानु ठिक हुन्छ । हामी संविधान कार्यान्वयनको, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणको जुन बिन्दुमा छौँ, समाजवादको आधार तयार पार्ने कुरामा हामी सहमतिका साथ संविधानमा उल्लेख गरेका छौँ, त्यसमा इमानदार भएर लाग्ने आजको आवश्यकता हो ।’