arrow

व्यूटिपार्लर व्यावसायले दियो महिलालाई आम्दानी

logo
गोपाल पोखरेल,
प्रकाशित २०७३ मंसिर ११ शनिबार
beauty-parlour.jpeg
उदयपुर । सामान्य खर्चमै सिकिने सीप र थोरै लगानीले सोचेभन्दा बढी कमाइ गर्न सकिने भएपछि यहाँका बेरोजगार महिला व्यूटिपार्लर व्यावसायमा लागेका छन् । महिलाको आकर्षण बढेकै कारण सदरमुकाम गाईघाटमा मात्रै पाँच दर्जन बढी व्यूटिपार्लर खुलेका छन् । जिल्लाका दुई ठूला व्यापारीक बजार बेल्टार र कटारीमा मात्र होइन, रामपुर, जलजले, मुर्कुची, हडियालगायतका सामान्य बजारहरुमा समेत व्यूटिपार्लर खोलेर स्वरोजगार बन्ने महिलाहरुको संख्या बढ्दै गएको छ ।
 
 तीन बर्ष अघिसम्म जिल्लामै जम्मा दुईओटा व्यूटिपार्लर संचालनमा थिए । बढ्दो  शहरीकरणका कारण यो व्यावसाय फस्टाउँदै गएको हो । शहरीकरणले श्रृंगार गर्ने महिलाको संख्या बढ्दै जाँदा व्यूटिपार्लर व्यावसायले फस्टाउने मौका पाउनुका साथै बेरोजगार महिलालाई रोजगारी मिलेको हो । 
 
“दुई बर्ष अघिसम्म गाईघाटको मुख्यचोक र आसपासमा २-३ वटा मात्रै व्यूटिपार्लर खुलेका थिए ” रेश्मा व्यूटिपार्लरकी रेश्मा दाहालले भनिन्,“ अहिले धेरै भएपनि ग्राहकको खाँचो छैन” । शहरीकरणका कारण बजार क्षेत्रका अधिकाँस युवती र गृहिणी कमसेकम महिना दिनमा एकपटक व्यूटिपार्लर आउने गरेको उनले बताइन् । 
 
“तीन बर्ष अघिसम्म पार्लर व्यावसायले गुजारा चल्ने अवस्था थिएन” सिम्रन व्यटिपार्लर सेन्टरकी संचालिका मन्जु सासंकरले भनिन्, “तर अहिले अवस्था फरक छ, गुजारामात्रै होइन पार्लर व्यावसाय आम्दानीको राम्रो स्रोत बन्दै गएको छ” । महिलामा पार्लरको आर्कषण बढ्दै गएकोले व्यावसाय फस्टाएको उनले वताइन् । 
 
“सामान्य महिलादेखि उमेर ढल्कदै गएका महिलालाई पनि श्रृगारप्रति मोह बढ्दै गएको छ” मन्जुले भनिन्, “त्यसैलेपनि पछिल्लो समयमा पार्लर व्यावसाय राम्रो चलेको छ ” । मन्जुले करिव २ लाख रुपैयाँको लगानीमा गतसाल पार्लर खोलेकी हुन् । २ लाख रुपैयाँ लगानी गरेर पार्लर संचालन गर्दा मासिक १५ हजार रुपैयाँसम्म आम्दानी भएको मन्जुले वताइन् । अन्य व्यावसायको तुलनामा सिमित ग्राहकमै सचालन गर्नु परे पनि आम्दानी राम्रो हुने भएकोले व्यूटिपार्लर खुल्ने क्रम बढ्दै गएको छ ।  
 
विस्तारै बढ्दै गएको आधुनिक दुनियाँलाई पछ्याउनै पर्ने वाध्यताले महिला पार्लरप्रति आर्कर्षित हुँदै गएका छन् । “त्यसैले यो व्यावसाय फस्टाउँदै गएको हो” रेखा व्यूटिपार्लर तथा तालीम सेन्टरकी संचालिका रेखा हमालले भनिन्, “महिलाले आधुनिक दुनियाँलाई चिन्न नसक्दा पार्लर संचालनमा गार्है थियो” । “तर अहिले अवस्था बदलिएको छ” रेखाले थपिन्, “अहिले शहरका महिला जस्तै शहर उन्मुख बजार र ग्रामिण क्षेत्रका महिला समेत आफ्नो श्रृंगारप्रति सजग हुँदै गएका छन् ” ।
 
“महिलाहरु श्रृंगारप्रति सचेत हुँदै गएकाले  व्यूटिपार्लर व्यावसाय आम्दानीको स्रोत बन्दै गएको छ” हिमानी व्यूटिपार्लरकी संचालिका वेदा थापामगरले भनिन्, “व्यावसायमा खर्चेको रकमको सदुपयोग राम्रो भइरहेको छ” । अनुभव र अवधि जति लामो भयो त्यति नै व्यावसाय फस्टाउने उनले वताइन् । 
 
व्यावसाय फस्टाउनुमा व्यावसायीको मात्रै होइन, अहिलेको टेलिभिजन च्यानल र विभिन्न म्यागजिनको ठूलो सहयोग रहने व्यूटिसियन वताउँछन् । उनीहरुका अनुसार कामकाजीसँगै व्यावसायिक महिला र युवतीले आधुनिक फेसन अँगालेपछि पार्लर व्यावसाय फस्टाउँदै गएको हो ।  
 
सामान्य लेखपढ भएका र माओवादी सशस्त्र द्वन्द्वमा लागेका महिलाले समेत यो व्यावसायबाट राम्रो फाइदा लिइरहेको त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका महासचिव चुडामणि कार्कीले बताए । “पार्लर व्यावसायमा महिलाको आर्कषण बढ्दै गएको छ” उनले भने“ आकर्षण बढ्नुको कारण न्यून लगानीमा धेरै आम्दानी हुनु नै हो ” । 
 



लोकप्रिय समाचार
नयाँ