arrow

गठबन्धनमा हलचल

गठबन्धनको आयु सुदूरपश्चिम प्रदेश सरकारको भरमा, प्रचण्डलाई छटपटी  

ओली र माधवबीचको जुहारीमा समस्याको गाँठो फुकाउन प्रचण्ड प्रयासरत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
prachanda-oli-madhav-80.jpg

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले अहिलेको गठबन्धनको आयु निर्धारण गर्ने देखिएको छ । सुदूरपश्चिम प्रदेशमा नेकपा एसका संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई विश्वासको मत जुटाउन सके अहिलेको गठबन्धन कायम रहने नत्र त्यसबाट नेकपा एस बाहिर बस्ने सम्भावना बढेपछि यसको आयुबारे चर्चा चलेको हो । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएपछि यो रस्साकस्सी केही दिन चल्ने बताइन्छ । 

शनिबार अबेर राति सुदूरपश्चिम प्रदेशका एमाले संसदीय दलका नेता राजेन्द्र रावल सहितका नेताहरूसँगको भेटमा अध्यक्ष ओलीले विश्वासको मत लिनका लागि अझै समय बाँकी रहेकाले हतार नगर्न निर्देशन दिएका हुन् । 

पछिल्लो समय सत्ता गठबन्धनका दलहरू नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तिक्तता बढिरहेको पृष्ठभूमिमा सुदूरपश्चिमको राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाले सुदूपश्चिमका नेताहरू काठमाडौँ आएका थिए ।

अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा विश्वासको मत लिनका लागि अझै समय बाँकी रहेकाले मुख्यमन्त्रीलाई विश्वासको मत दिनका लागि हतार नगर्न भनेको संसदीय दलका नेता रावलले बताए । 

शनिबार मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत नदिने भनेपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको थियो ।

एमालेले सोडारीबाहेक अरूलाई मुख्यमन्त्री बनाउन भने पनि एकीकृत समाजवादीले केन्द्रीय सचिवालयबाटै निर्णय गरेर सुदूरपश्चिममा सोडारीलाई अघि सारेको थियो । 

त्यसबाट चिढिएको एमालेले विश्वासको मत दिने विषयमा आनाकानी गर्दै आएको छ । सोडारी एमालेका नयाँ निर्वाचित प्रदेश सभा सदस्यबाहेक १०, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदका समर्थनमा बैशाख ६ गते मुख्यमन्त्री बनेका थिए । 

एमालेले बझाङबाट निर्वाचित सांसदको सपथ नहुँदै विश्वासको मत दिन नसकिने जनाएको छ भने अर्कोतर्फ माधवकुमार नेपाल र ओलीबीच तिक्तता बढेका कारण पनि अन्योल उत्पन्न भएको हो ।

अहिले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समस्याको गाँठो फुकाउन प्रयासरत रहेको बताइएको छ । गठबन्धनबाट नेकपा एस फुत्किएको अवस्थामा प्रचण्ड सरकार नै धरमरमा पर्नेछ । 

दुई महिनाअघिमात्रै प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर काँध फेर्दै एमालेलाई जोडेका थिए । 

आफूहरु पेलिएको भन्दै माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलेसमेत गोप्य वार्ता गरिसकेको अवस्थामा अबका दिन प्रचण्डका लागि पनि सहज नभएको अनुमान गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ